स्थानीय चुनावको परिणाम जे आएपनि ओली र प्रचण्ड मिल्न सक्छन् : नेता रिजाल – Nepal Press

स्थानीय चुनावको परिणाम जे आएपनि ओली र प्रचण्ड मिल्न सक्छन् : नेता रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले स्थानीय तहको निर्वाचनमा जे परिणाम आएपनि कम्युनिष्ट घटकहरू एकै ठाउँमा उभिने खतरा नटरेको बताएका छन् ।

नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता रिजालले गठबन्धन सैद्धान्तिक रूपमा गलत रहेको बताए । स्थानीय निर्वाचनमा गठबन्धनले जिते ओलीले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्नसक्ने र गठबन्धनले हारे प्रचण्डले ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्नसक्ने रिजालको भनाइ छ ।

‘यो सत्ता गठबन्धन प्रतिवद्ध भएर गयो भने हामी धेरैभन्दा धेरै ठाउँमा चुनाव जित्छौं । त्यतिबेला ओलीजीले प्रचण्डजीलाई प्रधानमन्त्री प्रस्ताव गर्न सक्नुहुन्छ । प्रचण्डजी त्यतिबेला के गर्नुहुन्छ ? यदि गठबन्धन सफल भएन भने कांग्रेसलाई गद्धार भन्दै प्रचण्डजी ओलीलाई प्रधानमन्त्री बनाउन कस्सिनुहुन्छ । त्यसैले कुनै न कुनै कम्युनिष्टलाई शिरमा राख्नेकुरामा कांग्रेसले विचार गर्नुपर्छ’, रिजालले भने ।

पार्टीभित्र जतिपनि असहमति भएपनि निर्वाचनमा पार्टीलाई जिताउनुपर्ने दायित्व रहेको भन्दै नेता रिजालले कम्युनिष्टहरूसँगको सहकार्य र प्रतिस्पर्धाबारे कांग्रेसको धारणा प्रष्ट हुनुपर्ने बताए ।

‘कहिले एउटा कहिले अर्को कम्युनिष्टलाई च्यापेर कांग्रेस कहिलेसम्म हिँडिरहने हो ?’, रिजालले प्रश्न गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर