मदिरा सेवन कार्डसम्बन्धी व्यवस्था पार्टीको घोषणापत्रबाट हटाउन नेपालको निर्देशन (भिडिओ) – Nepal Press

मदिरा सेवन कार्डसम्बन्धी व्यवस्था पार्टीको घोषणापत्रबाट हटाउन नेपालको निर्देशन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको घोषणापत्रबाट मदिरा पिउनेले लाइसेन्स लिनुपर्ने सम्बन्धी प्रसंग सच्याउने बताएका छन् । आज एक कार्यक्रममा बोल्दै उनले यसबाट पार्टीको भोट प्रभावित बन्न सक्ने संकेत गरे ।

नेपालले भने, ‘भोट चाहिँदैन कि क्या हो साथीहरूलाई ? कुरा राम्रो हो, असल समाज बनाउन चाहेको हो । तर सबै काम समयमा गर्नुपर्छ । मध्यराति गीत गाएर हुँदैन ।’

नेकपा एसले आफ्नो घोषणापत्रमा आफूले जितेका पालिकामा मदिरा सेवन कार्डको व्यवस्था गर्ने उल्लेख गरेको छ । मदिरा सेवन गर्ने व्यक्तिहरूले पालिकाबाट यस्तो कार्ड लिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

नेपालले घोषणापत्रमा रहेको सो प्रावधानलाई मिलाएर प्रकाशित गर्न भनेको उल्लेख गरे ।

‘धेरै कुराहरू यसमा राम्रा छन् । कतिपय कुरा अझै थप्नुपर्ने हुन सक्छ । सकेसम्म धेरै पक्षलाई समेट्नुपर्छ ।’

कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हिटलरसँग तुलना गरे ।

नेपालले थपे, ‘देशमा ओली नामको हिटलरको नयाँ अवतार देखा परेको छ । मलाई त नामै लिन मन लाग्दैन, लिइहालेछु । के गर्नु, नेगेटिभ व्यक्तिको चर्चा हुन्छ नि । कृष्णको मात्रै चर्चा हुँदैन, कंशको पनि नाम लिइन्छ । रामको मात्रै नाम लिइँदैन रावणको पनि लिइन्छ । दुर्गाको मात्रै नाम लिइँदैन, भष्मासुरको पनि लिइन्छ ।’

ओली सत्तामा रहिरहेको भए अहिलेसम्म सबै भष्म भइसक्ने उनको दाबी थियो ।

‘त्यही भएर हामीले उनलाई सत्ताबाट भुईँमा झारेकै हो । पछारेकै हो । निकालेकै हो । उनको अहंकारलाई चुनौती दिएकै हो,’ नेपालले भने ।


प्रतिक्रिया

2 thoughts on “मदिरा सेवन कार्डसम्बन्धी व्यवस्था पार्टीको घोषणापत्रबाट हटाउन नेपालको निर्देशन (भिडिओ)

  1. कति गम्भीर भएर बनाईएकाे रहेछ घाेषणापत्र भन्ने देखियाे । यसैबाट थाहा हुन्छ एस भन्ने हावादारी पार्टी रहेछ भन्ने कुरा । यस्ता पार्टीलाई चुनाव मार्फत सदाकाे लागि हटाईदिउँ ।

  2. तपाई समग्रमा नकारात्मक सोचको उपज हो जो अरूलाई गाली नगरि रहन सक्दैन तपाईंलाई २०४७ देखि मान्दै आएको हो तर तपाई चिन्तन देखेर कसरी बसिए छ भन्ने लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर