आर्थिक संकटविराेधी प्रदर्शन हिसांत्मक बनेपछि श्रीलंकामा कर्फ्यु
काठमाडौं । बुधबार प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा एक जना प्रदर्शनकारीको मृत्यु भएपछि श्रीलंकामा बिहीबारदेखि कर्फ्यु लगाइएको छ ।
चरम आर्थिक संकटविरुद्ध श्रीलंकामा प्रदर्शन तीव्र भइरहेको छ । प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायमा श्रीलंकाको आलोचनासमेत हुँदै आएको छ ।
बुधबारकै घटनामा पनि प्रहरीले अत्यधिक बल प्रयोग गरेकै कारण एकजना प्रदर्शनकारीको मृत्यु भएको र २ दर्जन प्रदर्शनकारी घाइते भएको आरोप लागेको छ । श्रीलंकाली प्रहरीले बुधबारको घटनाकाे गम्भीर अनुसन्धान अगाडि बढाएकाे र दोषीलाई कारबाही गर्ने जानकारी गराएको छ ।
यसअघि श्रीलंकाली प्रहरीले प्रदर्शनकारीले डिजेलको ट्याकंरमा आगो लगाउन खोजेपछि फाइरिङ्ग सुरु गरेको र सोही क्रम एक जनाको मृत्यु भएको दाबी गरेको थियो ।
श्रीलंकाले हाल भोगिरहेको आर्थिक संकटलाई सन् १९४८ यताकै सबैभन्दा भयानक भएकाे रहेकाे बताउँदै आएको छ । बुधबार भएको घटनापछि कोलाेम्बोस्थित बेलायत , अमेरिका र क्यानडाका राजदूतहरुले चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता चलिरहेको वर्तमान अवस्थामा सबैले संयमता अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
श्रीलंकाका लागि अमेरिकी राजदूत जुली चुङले बुधबारको घटनाको पारदर्शी अनुसन्धान गरिनु पर्ने माग गरेकी छिन् । चरम आर्थिक संकटका कारण हाल श्रीलंकाले खाना, ग्यास, इन्धन, औषधिलगायत आधारभूत आवश्यकताका वस्तुहरुको समेत अभाव सामना गरिरहेको छ ।