माेरङका सबै स्थानीय तहमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना: निर्वाचनमा हवाई गस्तीकाे तयारी – Nepal Press

माेरङका सबै स्थानीय तहमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना: निर्वाचनमा हवाई गस्तीकाे तयारी

विराटनगर । स्थानीय तह निर्वाचनका लागि मोरङको विराटनगरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। विराटनगरमा रहेको रेडक्रसको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

मुख्य निर्वाचन अधिकृतसमेत रहेका जिल्ला न्यायाधीश भरत लम्सालले कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कामकाज अगाडि बढाइएको बताए।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चुनावलाई निष्पक्ष बनाउन आफूहरूले सक्दो प्रयास गर्ने बताए । निर्वाचन आचारसंहिता लागू भइसकेकाले दलहरूलाई आचारसंहिताको पूर्ण पालना गरिदिन मुख्य निर्वाचन अधिकृत लम्सालले आग्रह गरे ।

‘आचारसंहिता राजनैतिक दलहरूबाटै उल्लंघन हुन्छ। आचारसंहिता उल्लंघन रोक्न हामी सबै पक्षले पहल गराैं’, उनले भने, ‘यदि दलहरूले आचारसंहिता उल्लंघन गर्ने क्रम रोक्ने प्रयास नगरे प्रचलित कानुनअनुसार अघि बढ्नुपर्ने हुन्छ ।’

लम्सालले मोरङ जिल्लाका १७ वटै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालयहरू स्थापना भएकाे जानकारी दिए । उनका अनुसार एक कार्यालयमा आठ जनशक्ति परिचालन हुनेछन् ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले स्थानीय तह निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै विराटनगरलाई केन्द्रमा राखेर हवाई गस्तीका लागि हेलिकप्टरसमेत परिचालन गर्ने तयारी भएकाे बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर