गठबन्धनको अवस्था : छत बलियो, जग कमजोर – Nepal Press
स्थानीय चुनाव

गठबन्धनको अवस्था : छत बलियो, जग कमजोर

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । उम्मेदवारी दर्ताका लागि ३ दिन बाँकी रहँदा सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरको भागबण्डा त गरिसकेका छन् ।

यद्यपि देशका अधिकांश स्थानीय तहमा तालमेलबारे सहमति जुट्न नसक्दा केन्द्रमा गठबन्धन मजबुद देखिएपनि तल्लो तहमा कमजोर देखिएको छ । गठबन्धनका शीर्ष नेताहरु निर्वाचनको दिनसम्म आन्तरिक असन्तुष्टि समाधान भइसक्ने दाबी गर्छन् तर गठबन्धनभित्रै केही नेताहरूले गठबन्धनको ‘छत बलियो, जग कमजोर’ रहेको बताउँछन् ।

केन्द्रमा सुदृढ गठबन्धन

सत्तारुढ ५ दलमध्ये नेपाली कांग्रेसबाहेक कुनैपनि दलमा चुनावी तालमेलको विषयमा असन्तुष्टि रहेको छैन । कांग्रेसले पनि ढिलो गरी आफूलाई तालमेलको पक्षमा उभ्याइसकेको छ । सभापति शेरबहादुर देउवा नै गठबन्धनको पक्षमा दृढ रहेका कारण कांग्रेसभित्र चुनावी तालमेलको पक्षमा अधिकांश नेताहरू खुलेका थिए ।

अहिले गठबन्धनमा महानगर र उपमहानगरको भागबण्डा लागिसकेको छ । नगरपालिका र गाउँपालिकाको हकमा स्थानीय संयन्त्रले निर्णय गर्ने भनिएपनि विवाद देखिएका जिल्लाबारे केन्द्रबाटै निर्णय हुने सम्भावना देखिन्छ ।

गठबन्धनकै निर्णय अनुसार केही जिल्लामा मित्रवत प्रतिस्पर्धा गर्न गठबन्धनका दलहरू सहमत देखिएका छन् । मुलतः केन्द्रबाट गरिएको चुनावी तालमेल भने सुदृढ देखिन्छ । सबै पार्टीका शीर्ष नेताहरू तालमेलप्रति नीतिगतरूपमै सहमत भएका कारण वडा तहसम्मकै तालमेललाई सार्थक बनाउन गठबन्धनका नेताहरू लागिपरेका छन् । गठबन्धनमा समस्या हुन नदिन संयुक्त चुनावी सभा र संयुक्त प्रचारको अभियान पनि थालिँदैछ ।

गठबन्धनले वैशाख १८ देखि २२ गतेसम्म काठमाडौंसहित देशका ७ मुख्य सहरमा चुनावी संयुक्त चुनावीसभा गर्दैछ । यसबाट गठबन्धनको राजनीतिक आवश्यकता र जित अझ सुदृढ हुने नेताहरू बताउँछन् ।

‘गठबन्धन राजनीतिक आवश्यकता भएकाले यसलाई सफल बनाउनु सबै दलहरुको दायित्व हो । गठबन्धनका चुनौतीहरु साँघुरिदै गएका छन् । संयुक्त चुनावी सभापछि गठबन्धनको पक्षमा जनलहर आउनेछ’, गठबन्धनको संयोजकसमेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ छ ।

कांग्रेसले गठबन्धनको निर्णय हुबहु कार्यान्वयन गराउन पार्टीभित्र आन्तरिक सर्कुलर गरिसकेको छ । अन्य दलले पनि केन्द्रमा सहमति जुटेअनुसार अगाडि बढ्नेमा जोड दिएका छन् ।

‘अहिले केन्द्रमा देखिएजत्तिकै सहमति तल्लो तहसम्म हुने हो भने गठबन्धनले क्लीन स्वीप नै गर्छ’, जसपाका एक नेता भन्छन् ।

तल्लो तहमा कमजोर

चुनावी तालमेल र शक्ति बाडफाँटको विषयले गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र तीब्र असन्तुष्टी छ । माओवादी केन्द्रमा पनि केही नेताहरूले पार्टी नै छाड्नेसम्मको निर्णय लिएका छन् । यसले तालमेल केन्द्रमा जत्तिकै सुदृढ नरहने संकेत गर्छ ।

भरतपुर , पोखरा र वीरगञ्ज महानगरपालिकामा प्रमुख नपाएपछि सम्बन्धित नगरका कांग्रेस कार्यकर्ताहरु निराश देखिन्छ । कतिपयले सार्वजनिक सञ्जालमार्फत ‘विद्रोह’ को चेतावनीसमेत दिएका छन् । कांग्रेसबाहेकका दलमा पनि कुनै न कुनै प्रकारको असन्तुष्टि यथावत् रहेको देखिन्छ । केन्द्रबाट चुनावी तालमेलको निर्णय भइसकेका केही स्थानीय तहमा गठबन्धन दलहरूबीच आन्तरिक छलफल अझै सुरू हुनसकेको छैन ।

गठबन्धनकै एक नेताका अनुसार चुनावी तालमेलका लागि केन्द्रका नेताहरू उत्साहित देखिएपनि तल्लो तहसम्म माहोल बनिसकेको छैन । मुख्यतः कांग्रेसमा देखिएको आन्तरिक समस्याका कारण गठबन्धनमा समस्या पर्नसक्ने धेरैको बुझाइ छ ।

‘गठबन्धन केन्द्रबाट त बलियोगरी हुने देखियो । तर कांग्रेसभित्रको असन्तुष्टीले धेरै ठाउँमा उत्साहजनक माहोल बन्न दिएको छैन । कांग्रेसले छिट्टै सही वातावरण बनाउने अपेक्षा छ’, ती नेताले भने ।

कांग्रेस नेताहरू भने चुनावको अघिल्लो दिनसम्म असन्तुष्टि भइरहने तर मतदानको दिनसम्म गठबन्धनको अवस्था सुदृढ हुने दाबी गर्छन् ।


प्रतिक्रिया

One thought on “गठबन्धनको अवस्था : छत बलियो, जग कमजोर

  1. टाेले गुण्डाहरूकाे ग्याङ जस्तै याे गठबन्धन लुटेराहरूकाे झुण्ड हाे । यसकाे एकमात्र काम देश लुटेर एमालेलाई कमजाेर बनाउने हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर