धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अठोट : ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ – Nepal Press

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अठोट : ‘हाम्रो धनगढी हामी बनाउँछौँ’

कैलाली । धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले धनगढीलाई मुलुककै व्यवस्थित सहर बनाउने बताएका छन् ।

आज धनगढीमा पत्रकारहरूसँगको भेटघाटमा उनले आफ्ना योजना प्रस्तुत गरेका हुन् ।

उनले ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियान सुरु गर्ने बताएका छन् ।

‘धनगढीलाई मुलुककै विकसित, सुन्दर र नमुना सहर बनाउने अभियान अनुसार हामी अघि बढ्ने छौँ’ उनले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै भने, ‘धनगढीलाई पाँच वर्ष मै हामी मुलुककै व्यवस्थित सहर बनाउने छौँ ।’

धनगढी उपमहानगरपालिका तथा वडाहरूलाई भ्रष्ट्राचार मुक्त बनाउने, बेरुजुलाई शून्यमा झार्ने, अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणमा जोड दिने उनले बताए ।

विद्यालयको भौतिक पूर्वाधार स्तरोन्नति गर्ने, प्राविधिक शिक्षालाई महत्त्व दिने, जटिल रोगका बिरामीहरूलाई विशेष सहयोग गर्ने, सबै वडाहरूमा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, एक वडा एक उत्पादन कार्यक्रम बनाउने ,कृषि प्राविधिक सेवालाई प्राथमिकता दिने उनले जानकारी गराएका हुन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धनगढीको नगर प्रमुखमा हमालले यस अघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

हमाल यस अघि पनि धनगढी उपमहानगरपालिकाको प्रमुखमा लडेका थिए । कांग्रेसका नृप वडसँग उनी झिनो मतले पराजित भएका थिए ।

यस पटक पनि विभिन्न वडाहरूमा स्वतन्त्र वडाध्यक्षका उम्मेदवारहरू सहित निर्वाचनमा होमिने तयारी भइरहेको उनले बताए ।

आफू निर्वाचित भएपछि नगरप्रमुख भयबापत पाउने कुनै पनि सेवा सुविधा नलिने उनले बताइसकेका छन् ।

‘मैले सरकारले दिने तल भत्ता गाडी सुविधा केही पनि लिन्न’ उनले भने, ‘ मेयर भएपछि कामको सिलसिलामा अन्य ठाउँमा जाने टिकट पनि मेरो आफ्नै हुन्छ ।’

नगरको कोषमा रहेको रकम आफूले प्रयोग नगर्ने उनले प्रतिबद्धता दोहोराए ।

वडा नम्बर १७ का स्वतन्त्र वडाध्यक्षका उम्मेदवार एम लामिछाने, ४ का शिद्धराज पनेरु ५का पदम राज भट्ट र १५ का कमल बहादुर ठाँटले पनि आफ्नो वडामा गर्ने कामहरूको प्रतिबद्धता गरेको थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर