लेटाङमा मेयरसहित ३६ जना जनप्रतिनिधिले दिए राजीनामा
विराटनगर । मोरङको लेटाङ नगरपालिकाका मेयरसहित ३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरि उठ्न उनीहरूले राजीनामा दिएका हुन् ।
मेयर शंकर राईले उपमेयर कृष्णकुमारी निरौला पोखरेलसहित ३६जना जनप्रतिनिधिको राजीनामा बुझेपछि अन्तिममा आफूले पनि राजीनामा दिएका हुन् ।
उपमेयर पोखरेलका अनुसार आज पदबाट राजीनामा दिनेमा एमाले पार्टीबाट निर्वाचित १५ जना रहेका छन् ।
लेटाङको कार्यपालिका ५० सदस्यीय रहेकोमा कार्यपालिकाका १४ जना सदस्यले मात्र राजीनामा दिएका छैनन् ।
निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेको छ ।
सत्तारुढ गठबन्धनकातर्फबाट र एमालेबाट पुन जनप्रतिनिधिका रुपामा उठ्ने तयारीका साथ उनीहरूले पदबाट राजीनामा दिएका हुन् ।