पर्यटनलाई समृद्धिको सारथि बनाएको एक सहर – Nepal Press

पर्यटनलाई समृद्धिको सारथि बनाएको एक सहर

हाइलाइटस्

१) टेलिचलचित्र फुल हाउसमा बाहिरबाट खिचिएको केबल केही सेकेण्डको दृश्यकै भरमा पेन्टेड लेडिज नामक सात घर हेर्न मानिसको ताँती लाग्ने गर्छ । भिक्टोरियन शैलीमा निर्माण गरिएका पंक्तिबद्ध यी घरहरुलाई सात दिदीबहिनी पनि भन्ने गरिन्छ । र, यी नै घर अगाडि उभिएर तस्विर लिन विश्वका थुपैै्र कुनाबाट मानिस यहाँ आउने गर्छन् ।

२) विश्वको सबैभन्दा घुमाउरो वा भनौं नागबेली भनिएको सडक, लम्बार्ड सडकमा । करिब ६ सय फिट लामो नागबेली परेको सडकमा मानिस उभिएर तस्विर कैद गर्न युरोपदेखि अस्ट्रेलिया, अफ्रिकादेखि एसिया हरेक महादेशका मानिस आउने गर्छन् ।

३) थुप्रैलाई नेपाल केवल सगरमाथाको देश हो, केवल अग्ला चुचुरा हुन् र बलियाका निम्तिमात्रै हो भन्ने लाग्छ । कतिलाई त नेपाल कहाँ छ र कस्तो छ, योसम्म पनि थाहा छैन । नेपालमा लुकेका र भएका सम्भावना सबै उमेर समूहका पर्यटकका निम्ति हुन् भन्ने पूर्वाधार न हामीले निर्माण गर्न चासो दिएका छौं न त त्यसको प्रवर्द्धनमा नै जोड दिएका छौं ।

कौडीमा तक मिल्कन्छ भिल्लका देशमा मणि…..कवि शिरोमणि लेखनाथ पौड्यालले यो कविता रचना गर्दा सायद नेपालको यस्तो दिनको कल्पना गरेका थिएनन् होला । जहाँ हामी सुनको भण्डाररुपी प्रकृतिको थुप्रोमा बस्दासमेत चाल नपाएर मगन्ते जीवन बिताइरहेका छौं ।

विश्व इतिहासमा पुरानो अनि गर्विलो इतिहास बोकेको नेपाल र त्यहाँका बासिन्दा हामी नेपाली अहिले सुन ओछ्याएर भोको पेट सुत्न बाध्य छौं । लेखकले सुनको कुरा गर्दा थुप्रैलाई लाग्न सक्छ, खानी उत्खनन् नगरेर हामी गरिब भएका हौं । होइन, यसको पूर्ण आसय त्यति गाह्रो पनि होइन । हामी त भएका कलासम्पदा, भएका प्राकृतिक सुन्दरताको प्रवर्द्धन, संरक्षण अनि त्यसको सदुपयोग गर्न नसकेर गरिब अझ भनौं हरिप भएका हौं ।

सामान्य रुपमा आज म एउटा सानो सहरको उदाहरण दिँदैछु, जसले ७ वटा घर, ६ सय फिटको नागबेली बाटो, पुलको दृश्य यस्तै बेचेर वर्सेनि करोडौं पर्यटक भित्र्याउने गरेको छ । यो भन्दै गर्दा सान फ्रान्सिस्कोमा अन्य पर्यटकीय क्षेत्र छैनन् भन्न भने खोजिएको होइन । सुन्दर समुन्द्री तट, डाँडाकाँडा, विश्व प्रख्यात गोल्डेन गेट पुल जस्ता अन्य स्थान पनि यस सहरका मुख्य पर्यटकीय सहरहरु हुन् ।

हो, विकसित देशको सोचाइ ,गराइ अनि बुझाइ नै अलग । त्यहाँका नेता अनि कर्मचारीतन्त्र पारदर्शी अनि दूरदर्शी, देश सम्पन्न र सुखी । कुरा गरौं संयुक्त राज्य अमेरिकाको एक राज्य क्यालिफोर्नियाको प्रख्यात सहर सान फ्रान्सिस्कोको । हुन त सान फ्रान्सिस्को विश्व अर्थतन्त्रमा यदि अमेरिकाबाट छुट्टिएर आफ्नै देश बनाउने हो भने पाँचौं धनी देश बन्नेछ । विश्व प्रविधिमा एकछत्र राज गरेका हरेक कम्पनीको मुख्यालय यही छ । तर पनि योभन्दा फरक विषयमा केबल घुम्नमात्र आउने पर्यटकहरु भने यहाँ रहेका दर्जनभन्दा कम संख्यामा रहेका अचम्म तर सुन्दा पनि सामान्य लाग्ने विषयले आकर्षित भएर आउने गर्छन् ।

करिब १२१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस सहर तीन भागमा पानीले घेरिएको छ । जसले गर्दा १२ महिना नै मौसम चिसो र आनन्दित रहने गर्छ । भेडेटारमा लुटपुटिने हुस्सु जस्तो त कहिले ककनीमा पर्ने पानीको सिमसिम शितजस्तो । काठमाडौं जस्तै भूकम्पको जोखिम भए पनि वैज्ञानिक तवरले निर्माण गरिएका दन्तपंक्ति जस्ता लहरबद्ध घरहरु अनि स–साना घुमाउरा बाटो उकाली र ओरालीहरु ।

करिब ९ लाख मानिसको बसोबास रहेको यो सहरमा १२ महिनै पर्यटकको आवागमन हुन्छ । कोरोनाको प्रकोप अगाडिको तथ्यांक हेर्ने हो भने सन् २०१८ मा करिब ३ करोड मानिसले यस सानो सहरको भ्रमण गरेका थिए । यो सहर काठमाडौं जिल्लाभन्दा ४ गुणा सानो हो ।

मुख्य सहरबाट करिब २० किलोमिटरको दूरीमा रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट मानिसहरु यहाँ भित्रिने गर्छन् । रेललगायत अन्य विकल्पबाट पनि पर्यटकहरु भित्रने गर्छन् । नेपालको असन जस्तै २ वटा गाडी पनि मुस्किलले छिर्ने स–साना बाटोमा यहाँ जमिनबाट गुड्ने केबलकार चढ्न मान्छे घन्टौं लाइनमा बस्छन् । त्यही बाटोमै अन्य सवारीसाधनहरु निर्बाध गुड्ने गर्छन् ।

केवलकारको फोटो …

केबलकारको लाइनमा २ देखि ३ घन्टा बसेर पर्यटकहरु अन्त्यमा स–सानो गल्लीबाट यस सहरको ऐतिहासिक र कलात्मक घरका तस्विरहरु कैद गर्न लालायित भएको देख्न सकिन्छ । कल्पना गर्नुहोस् त नेपालको काठमाडौंका विश्व सम्पदा सूचीमा रहेकादेखि अन्य वास्तुकला, शिल्पकलाले भरिपूर्ण हाम्रा गल्लीहरुमा पर्यटक यसैगरी घुमाउन सक्दा छेवैमा रहेको लाखमरी पसलमा पर्यटक ज्यापु भेषमा सजिएका स्थानीयसँग हाँस्दै गर्दाको दृश्य । फगत यो कल्पना हो । तर कल्पना किन गरिएको भन्दा हाम्रा कलात्मक शैलीहरुको छुट्टै इतिहास छ । हाम्रा ती हस्तनिर्मित सिर्जनाहरुको आफ्नै महत्व छ । तर, हामी चुकेका छौं ।

केबलकार जमिनमा गुड्नेभन्दा कतिलाई अचम्म पनि लागेको होला । तस्विरमा देखिएको सानो रेललाई यहाँ केबलकार भनिन्छ । रेलकै लिगजस्तो भए तापनि मुनि रहने केवल अर्थात फलामको डोरी घुमेर यो साधन गुड्ने गर्दछ । यी केबलकारको सुरुवात आजभन्दा १४९ वर्ष अगाडि भएको हो । १४९ वर्ष पुराना यी सम्पदा अझ पनि लाखौं पर्यटकको पहिलो कारण हो यस सहर घुम्न आउने ।

अब लागौं अर्को स्थानतिर, केबलकारबाट ओर्लिने पर्यटक कोही कता लाग्छन् त कोही कता । तर अचम्म त थुपै्र पर्यटक केबल कुनै टेलिश्रृंखला र चलचित्रमा कैद भएका भवनको तस्विर लिन लाग्छन् । त्यसमध्ये केही हुन् फुल हाउस र पेन्टेड लेडिज, सन् १९८० र १९९० को दशकमा प्रस्तुत गरिएको टेलिचलचित्र फुल हाउसमा बाहिरबाट खिचिएको केबल केही सेकेण्डको दृश्यकै भरमा पेन्टेड लेडिज नामक सात घर हेर्न मानिसको ताँती लाग्ने गर्छ । भिक्टोरियन शैलीमा निर्माण गरिएका पंक्तिबद्ध यी घरहरुलाई सात दिदीबहिनी पनि भन्ने गरिन्छ । र, यी नै घर अगाडि उभिएर तस्विर लिन विश्वका थुपैै्र कुनाबाट मानिस यहाँ आउने गर्छन् ।

यो टेलिचलचित्र हेर्दै नहेरेका युवाहरु पनि यसको अगाडि उभिएर तस्विर लिन भनेरै यहाँ पुग्छन् । त्यसमध्ये एक हुन्, इटालीबाट आएका पर्यटक, पेरिल । आफ्नो साथीसँग आएका पेरिल यस भवनको तस्विर लिन कौतुहल रहेको बताउँछन् । यस सहर आउनुअगाडि धेरैले चर्चा गरेको भएकाले टेलिचलचित्र नहेरे पनि घरको कलात्मक र आकर्षक निर्माण शैलीले आफूलाई तानेको उनी बताउँछन् । यी घरहरु सरकारी होइनन्, निजी घरहरु हुन् र बाहिरबाट केवल तस्विर लिन र भिडिओ कैद गर्न पाइन्छ । भित्र पस्न भने मनाही छ । तर यसै घरहरुले पनि लाखौं पर्यटक विश्वका विभिन्न कुनाबाट तान्ने गरेको छ ।

सहरका यस्तै अचम्मलाग्दा कारणले पर्यटक तानिन्छन् अनि कोही लाग्छन् विश्वको सबैभन्दा घुमाउरो वा भनौं नागबेली भनिएको सडक, लम्बार्ड सडकमा । करिब ६ सय फिट लामो नागबेली परेको सडकमा मानिस उभिएर तस्विर कैद गर्न युरोपदेखि अस्ट्रेलिया, अफ्रिकादेखि एसिया हरेक महादेशका मानिस आउने गर्छन् । छेउछेउमा रहेका फूलका बगैंचा र बीचमा रहेको बाटो यहाँबाट गाडी गुडाउने र उभिएर तस्विर लिने मानव निर्मित ६ सय फिट लामो सडकले यस सहरको अर्थतन्त्रमा पुर्याएको योगदान हामी कल्पना पनि गर्न सक्दैनौं ।

यस्ता सामान्य कुरा भन्दै गर्दा सोच्नुहोस् त हाम्रो नेपालको त्यो अग्ला हिमश्रृंखला र चुचुराहरु, ती मनमोहक छाँगा, झरना र ताल–तलैयाहरु । ती बन्यजन्तु, चराचुरुंगी ती धार्मिक अनि सांस्कृतिक धरोहरहरु । अचम्मको तथ्य म भनिहाल्छु, यहाँको नामकरण, उदाहरणका लागि नेपालको चुरे पहाड होस् वा चन्द्रागिरि, हामी हिमाल भन्दैनम् । तर, यहाँ केवल २ हजार फिट अग्ला डाँडाको नामको अगाडि माउन्ट अर्थात् हिमाल भनिन्छ जस्तै माउन्ट ट्यामलपाइस, माउन्ट डियाब्लो आदि आदि । तर, यी नाममात्रकै हिमाल भए पनि हजारौं पर्यटक विभिन्न देशबाट झोला टुम्लेट बोकर हाइकिङ गर्न आउँछन् । महंगा साइकल लिएर पाखा पखेरा झर्छन् ।

हिँड्न सक्नेका लागि एक पूर्वाधार छ भने गाडी रोज्नेका लागि अर्को । आफ्नो क्षमता, उमेरअनुसारको सुविधा । यस्ता पर्यटकबाट मात्रै यस सहरले करिब १ लाखभन्दा बढीलाई रोजगारी दिएको छ भने करिब ११ खर्ब रुपैयाँ बराबरको आर्थिक योगदान । अब यी सबै सोच्दा हामी नेपाली के सुनमाथि सिरानी हालेर भोकै सुतेको होइन रहेछ त ? दूरदर्शी सोच भएका नेता छान्न नसक्दा हामी पिछडिएका होइनौं त ? माथि दिइएको सामान्य उदाहरण हो एउटा सानो सहरको, जसले पर्यटनबाट मनग्य आम्दानी गरिरहेको छ । केवल एक सहर घुम्न आउने पर्यटकले हाम्रो जस्तो सुन्दरता र इतिहासले धनी देशको नाम पनि सुनेका छैनन् ।

यहाँ आउने अर्जेन्टिनाका पेद्रो हुन् वा बेलायतका जोन, चीनका सि हुन् वा भारतका राहुल । थुप्रैलाई नेपाल केवल सगरमाथाको देश हो, केवल अग्ला चुचुरा हुन् र बलियाका निम्तिमात्रै हो भन्ने लाग्छ । कतिलाई त नेपाल कहाँ छ र कस्तो छ, योसम्म पनि थाहा छैन । नेपालमा लुकेका र भएका सम्भावना सबै उमेर समूहका पर्यटकका निम्ति हुन् भन्ने पूर्वाधार न हामीले निर्माण गर्न चासो दिएका छौं न त त्यसको प्रवर्द्धनमा नै जोड दिएका छौं ।

पर्यटकका नाममा चर्को शुल्क त असुलेका छौं, विमानस्थल अध्यागमनमा दुःख त दिएका छौं तर न केवल एउटा राम्रो शौचालय बनाउन सकेका छौं न त हरेक उमेर समूहका पर्यटकमैत्री पूर्वाधार बनाएर अथिति देवोः भवः नै भन्न सकेका छौं । केवल चुनावी नारा र व्यक्तिवादी सोचमै मस्त अनि मग्न । अनि भएन त कवि शिरोमणिको कविताको अंश जस्तो ।

(हाल संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा रहेका लेखक पूर्वटेलिभिजन पत्रकार हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *