नाग्दोङ नदीमा तैरिरहेका प्रवासी सपनाहरू
बुसान, थेगुजस्ता दक्षिण कोरियाका मुख्य सहरलाई छुँदै बगेको नाग्दोङ, नदीमात्रै होइन उत्तर र दक्षिण कोरियाको सिमाना कुल्चेर शताब्दीऔंदेखि बगिरहेको सांस्कृतिक मिथक पनि हो । आजका दिनमा प्रवासी श्रमिकहरूको पसिनाको साक्षी पनि यही नदी हो । प्रवासी श्रमिकको सपनाको साक्षी पनि यही नाग्दोङ हो ।
नाग्दोङको काखमा बसेका थुप्रै सहरहरूमा आफ्ना श्रम, पौरख र पसिना बगाउने श्रमिकका आँसु, रोदन, क्रन्दन, खुसी, उत्साह, विवशताहरू यही नदीको स्थिर देखिने पानीजस्तै सनैसनै बगिरहेको छ ।
परबाट बग्दैबग्दै आइरहेको नाग्दोङ नदीले हामान र नाम्जीलाई अलग बनाएको छ । त्यही आसपास हरेकजसो शनिबार साँझ रेस्टुरेन्ट, पब्लिक पार्क, २४ घन्टे पसल/क्याफेमा प्रवासी श्रमिकहरू भेट हुन्छन् ।
सधैँ झैं शनिबारे साइतमा नेपालीहरूको एउटा टोली सीयु (२४ घन्टे पसल) बाहिरको टेबलमा जम्काभेट भएको छ । केही समय भयो, यो ठाउँ उनीहरूको नियमित भेटघाट जंक्सन बनेको ।
क्यास बियर(मेग्जु)को क्यान बोतलहरूले भरिएको कालो प्लाष्टिक लिएर आयो पर्वत । राउण्ड टेबललाई घेरो लगाएका साथीहरूको अगाडि एकएक क्यान राखिदियो । अन्त्यमा आफ्नो भागको क्यान छुस्स पार्दै ऊ पनि बस्यो ।
चौडा सडकमा ओहरदोहोर गर्ने चिल्ला कार, ठूला ट्रक, विदेशी कामदारहरू चढ्ने नं प्लेटविनाको स्कुटी, बाइकहरू, ट्याक्सी र कम मात्रामा गुड्ने सार्वजनिक यातायातले सधैँ व्यस्त चौबाटो (सागरी)को एकछेउमा छ सीयु । दाहिनेतिर सिरक डसना पसल छ । देब्रेतिर कम्पनीमा काम गर्दा श्रमिकले लगाउने पोसाक, जुत्ताहरूको पसल छ । सडकपारि एउटा बिल्डिङ छ । उक्त बिल्डिङको पहिलो तलाको फरकफरक कोठाहरूमा दुई छुट्टाछुट्टै बैंक र तेस्रो तलामा फिटनेस हलको बोर्ड झुण्डिएको छ । ठ्याक्कै त्यहीँ बसस्टप छ ।
सयौं कम्पनीहरूको आडमा रहेको यो २४ घण्टे पसलका ग्राहकहरू धेरैजसो विदेशीहरू नै हुन्छन् । कोरियनहरू हप्ताको पाँच दिन काम गरेर आफ्नै अपार्टमेन्टमा फर्किने भएकाले खासै भेटिँदैनन् ।
नेपाली र ईपीएस प्रणाली लागू भएका अन्य १४ मुलुकका कामदार यो क्षेत्रका कम्पनीहरूमा कार्यरत छन् ।
‘जेनतेन कोरिया आउन पाउने भएपछि सपनाको आकाश र खुसीको उन्माद छुट्टै थियो । पढाइ छोडियो । यहाँ आएपछि पहिलो कम्पनी खास राम्रो नभए पनि त्यसपछिका कम्पनीहरू भाग्य भनौं या त आफ्नै परिश्रम, आजसम्म कमाई राम्रै छ । ४ वर्ष कमाएको सबै घरमै पठाइयो । हिसाबकिताब खोज्ने कुरा पनि भएन आफ्नै बाआमासँग । कोरोना भिषा नथपी घर जाउँ लागेर बाँकी रहेको १० महिनाको कमाई चैं आफै राखम्ला भनेर घरमा कुरा गरेको त अझै ऋण छ भन्छ यार !’
टेबलदेखि अलि पर (स्मोकिङ जोनमा) गएर समीप र ‘हाक्तुरे’ उर्फ मिलनबाहेक सबैजना गफिँदै अफ्रिका रूला चुरोट(थाम्बे)का खिल्लीहरू च्याप्छन् । उनीहरू बियरको चुस्की र चुरोटको धूवाँ उडाउनमात्रै यहाँ आइपुग्दैनन् । छुटेका सम्झनाहरूलाई बियरको चुस्कीमा भुलाउन आइपुग्छन् । आइपुग्छन् दबिएका रहरहरूलाई धुवाँसँगै शून्यतामा अलप बनाउन ।
शनिबारको दिन ८ घण्टामात्रै ड्युटी हुन्छ । कम्पनीको क्यान्टिन (सिक्ताङ)मा बेलुका(छन्यग्)को खाना पाक्दैन । आइतबार छुट्टी हुन्छ । त्यसैले कामबाट आउनासाथ फ्रेस भएर हुत्तिँदै सीयु पुग्छन् । हप्ताभरको कामको थकान र भोकले अर्को क्यान नफोर्दै कसै–कसैलाई त लागिसकेको हुन्छ । अल्लारेहरू हुन्, घरी मजाक त घरी गम्भीर सवाल प्रसंगवस निकालिरहन्छन् ।
‘कोरोनाले पनि गर्नुगर्यो यार’, उदय अलि गम्भीर मुद्रामा प्रस्तुत हुँदै बोल्यो ।
‘जे भए पनि एक वर्ष बढी कमाउन पाएका छौं मूला । हामीलाई त फाइदै छ नि’, समीपले थप्यो ।
अन्य जम्काभेटमा भन्दा आज अलि गम्भीरतापूर्वक प्रस्तुत भइरहेका छन् उदय अर्थात कान्छा । ऊ साथीहरूमध्ये सबैभन्दा कम उमेरको छ । त्यसैले सबैले प्रेमले कान्छा उपनाम दिएका छन् । ‘कान्छा’ सधैँ झैं बुटवले लवजमा बोल्छ, ‘प्लस टु पढ्दापढ्दै १७ वर्षमै कोरियन भाषा पढ्ने भूत चढेर पढियो, पास गरियो । घर जेनतेन थामिरहेका बाको दुःख देखेर रूप्याँ आफै कमाउने भूत चढ्यो । खोल्टीमा सुक्को नाई !’
कान्छाको यो बोली निकैपटक दोहोरिएकाले अरूले खासै चासो दिँदैनन् । ऊ भने फेरि मेक्जु एक स्वाट्ट तानेर मुख बिगार्दै थप्न थाल्छ, ‘जेनतेन कोरिया आउन पाउने भएपछि सपनाको आकाश र खुसीको उन्माद छुट्टै थियो । पढाइ छोडियो । यहाँ आएपछि पहिलो कम्पनी खास राम्रो नभए पनि त्यसपछिका कम्पनीहरू भाग्य भनौं या त आफ्नै परिश्रम, आजसम्म कमाई राम्रै छ । ४ वर्ष कमाएको सबै घरमै पठाइयो । हिसाबकिताब खोज्ने कुरा पनि भएन आफ्नै बाआमासँग । कोरोना भिषा नथपी घर जाउँ लागेर बाँकी रहेको १० महिनाको कमाई चैं आफै राखम्ला भनेर घरमा कुरा गरेको त अझै ऋण छ भन्छ यार !’
अलिकति रून्चे तर, अलि कडा सुनियो कान्छाको आवाज । अरू बोली दोहोरिए पनि कान्छाले यसपटक मनको पुरानो कुनामा गुम्सिएको नयाँ कुरा बोले । कान्छाको दुःखेसोले अरूको कानलाई पनि अलि चनाखो बनाइदियो ।
कान्छाले थप्दै गयो, ‘जग्गा त ऋणमा पो किनेको अरे ! खासमा यो थप भिषामा बस्न मन थिएन । बरू गएर अलि पछि फेरि आउने सोच थियो । हुन्छ नि यार ! एक वर्ष थप बसेर कमाइएला रे ! तर, त्यतिञ्जेलको अवधिमा कोही आफन्त गुम्यो भने या आफैलाई केही भइहाल्यो भने त्यसको क्षतिपूर्ति पैसाले व्याहोर्छ ?’
क्यानको अन्तिम घुट्की मुखमा लियो । अनि रित्तो बोतलसँगै अर्कोतिर फर्कियो ।
रमाइलो गर्न भेला भएका सबै निःशब्द बने । एकछिन सन्नाटा छायो ।
उदयले कोरियन एयरलाइन्सको जहाज चढ्नुअघि क्षेत्रीकै छोरा भए पनि जुँगाको रेखी बसेको थिएन । कम्पनीमा कान्छो(माङ्ने) भएकैले उमेर बढी भएका नेपालीहरूबाटै अप्रत्यक्ष पेलानमा परेका थिए ।
कोरियामा उमेरले खुब महत्व राख्छ । आफूभन्दा ६ महिना, वर्ष दिनदेखि माथिका व्यक्तिलाई सम्मान गर्नुपर्ने संस्कार छ । तर, पद र उमेर दुवैमा साना भएका कामदारहरू भए भने शारीरिक तथा मानसिक रूपमा यातना दिनेहरू पनि कम हुँदैनन् ।
‘बूढा काम सकियो ? यो महिना खर्च पठाउनु भएको खै ?’, पर्वतको फोनको स्क्रिनमा मेसेज डिस्प्ले भएपछि ऊ झस्क्यो ।
‘ल्या झ्याक्ने ! नेट त अन नै रहेछ, हि हि !’, हतारमा हुर्रिएर सीयु आउने हुँदा मोबाइलतिर ध्यानै दिएनछ उसले ।
‘अस्ति भनेको हैन ? न छुट्टी मिलाएर घर आउनु हुन्छ, न रहर आवश्यकताहरू भनेको बेला पूरा गरिदिनु हुन्छ ।’
पर्वत श्रीमतीको मेसेज सिन गर्छ । र फतफताउँछ, ‘आफू कोरोनाले थलिएर काममा लागेको हप्तादिन भएको छैन । कसरी काम गरिरहेको छ, कहिल्यै बुझ्न चाहन्नन् परिवार पनि ।’
उसले कोरोना संक्रमित भएको खबर परिवारलाई बताएको थिएन । क्षितिजको घाम भएका बाआमा र जीवनसाथीलाई पीर होला भनेर सुनाएको थिएन ।
‘समस्या सबैको हुन्छ हौ ! मलाई हेरेर बाँच्नु नि सम्धी’, एउटा क्यानलाई रित्तो बनाउनसाथ साथीहरूको गफ सुनेर बसेको नयन बोल्यो’, आफू भिषा अवधि नसकिँदै विनाभिषा बस्नुपरेको व्यथा यो (नाम्जी)नाग्दोङ नदीले बगाएर लान सक्दैन । यो नदी कता बगिरहेको छ भनेर हामीले खुट्याउन नसके पनि आखिर बग्न त बगिरहेकै छ ।’
भनिन्छ नि, बिग्रेको घडीको काँटाले पनि दिनमा दुईपटक सही समय देखाउँछ । तर, हामी त नबिग्रेको घडीलाई हेरेर चल्नुपर्छ, जो प्रत्येक पल आफ्नै गतिमा चलिरहन्छ । हामी पनि घडीसँगै चल्नुपर्ने बनाइदिन्छ । सोमबारबाट शनिबार साँझसम्म कम्पनीको खटनमा चल्छौं । शनिबारको ड्युटीपछि आइतबार रातिसम्म आफ्नै खटनमा रमाउँछौं ।
हत्तपत्त नबोल्ने स्वभावका नयन उर्फ पत्तुर अचानक बोल्यो । अलि पर कुनामा गएर चुरोट सल्कायो । नाक र मुख दुवैतिरबाट धूवाँ उडायो । सायद, भन्न सकिने जति साथीहरूका अघि भन्यो, भन्न नसकिने उकुसमुकुसलाई धूवाँको धमिलो अँध्यारोमा उडायो ।
सन् २०१५ मा ईपीएस उत्तीर्ण गरेका नयन गाउँमै जन्मिए, हुर्किए । मावि तहको पढाइ मावलीमा बसेर पूरा गरे । एसएलसीपछि उच्च शिक्षा अध्ययन गर्न, बाआमाको रहर (लाहुरमा भर्ती हुन) पूरा गर्न सहर झरेका थिए । ब्याचलर पढ्दापढ्दै विदेशको चक्करमा कलेजको पढाइ छाड्यो । र, ईपीएस पास गरे ।
पास भएर लामो प्रतीक्षापश्चात् कोरियाको उत्तरी भेग ‘याङ्जु’बाट एक कम्पनीको साहुले श्रम सम्झौतापत्र पठायो नयनलाई । रोष्टर म्याद सकिन लाग्दामात्रै साढे ६ घण्टा आकाशमा उडेर कोरिया टेकेका थिए, सन् २०१७ मा । आधुनिक र विकसित एयरपोर्टमा जसरी हुस्सु मडारिइरहेको थियो, त्यसरी नै नयन भने आफैभित्र कौतुहल, न्यास्रोपनसँगै खुसी, उमंगले मडारिइरहेका थिए ।
नयनको नयनमा सपना थियो । त्यो सपना नयनमै थन्किएको थियो । कोरिया आएको वर्ष दिन पनि भएको थिएन । घरको ऋणको हिसाब लामो थियो । तर, उनले साथीभाइको वचन काट्न सकेनन् । र, अवैधानिक भएर त्रासदीपूर्ण दिनहरू गुजारे । अहिले पनि गुजारिरहेकै छन् ।
त्यसबेलाको भावनात्मक निर्णयले थकथकाउँछ नयन अचेल पनि । नयनको नयन पोखिन खोज्छन् । तर, पुरूष हुनुको अहंले उसको नयनलाई भिज्न दिँदैन, पोखिन दिँदैन । साथमा साथीभाइको ढाडसले पनि आँसुलाई नयनमै छेकिदिन्छ । र पनि आफूलाई काबुमा राखिरहेकै छन् । टापु र समुद्रको साम्राज्य छेदुजो पुग्नु, खुलमखुला सहर घुम्नु नयनका लागि फगत कल्पना हो । र पनि ऊभित्र सपनाको ज्वारभाटा आइरहेकै छ ।
अरूबेला खासै पिउँदैन हाक्तुरे ऊर्फ मिलन । साथीभाइसँग बस्दा एक क्यान पिउँछ । धेरै नपिए पनि साथीभाइसँगै धेरैजसो समय बिताउँछ । निकनेमले चर्चित ऊ साथीहरूको तुलनामा यस क्षेत्रमा आएको धेरै भएको छैन । बोल्ने शैली, मिलनसार व्यवहार र हाँसोमजाक गरिरहने आदतले जहाँ पुगे पनि साथीहरूसित घुलमिल भइहाल्छ ।
कोरिया आएको ५ वर्ष पूरा भइसकेको छ मिलनको । ताप्लेजुङबाट पुख्र्यौली विरासतस्वरूप टिपेर ल्याएको लवजमा लिम्बूवान झल्कन्छ । हरेक बोलीलाई ‘नि’ले टुंग्याउने उसको आदतले सुरूमा साथीहरू अचम्म मानेर खूब हाँस्थे ।
भनिन्छ नि, बिग्रेको घडीको काँटाले पनि दिनमा दुईपटक सही समय देखाउँछ । तर, हामी त नबिग्रेको घडीलाई हेरेर चल्नुपर्छ, जो प्रत्येक पल आफ्नै गतिमा चलिरहन्छ । हामी पनि घडीसँगै चल्नुपर्ने बनाइदिन्छ । सोमबारबाट शनिबार साँझसम्म कम्पनीको खटनमा चल्छौं । शनिबारको ड्युटीपछि आइतबार रातिसम्म आफ्नै खटनमा रमाउँछौं ।
रमाउँछौं पनि के भन्नु, शनिबारको हर्षोल्लासलाई आइतबार बेलुकादेखि नै भोलिबाट ड्युटी छ भन्ने सोचाइले खल्लो बनाइदिन्छ । कसैको त हप्तैभरि काम हुन्छ । काम भएपछि माम र दाम पनि हुने भयो । कतिलाई त आइतबारसमेत काम गरेर पैसा कमाउन मन लाग्छ । कतिपयलाई भने हप्ताको एकदिन त आराम गर्नुपर्छ भन्ने पनि हुन्छ ।
हत्तपत्त फेसबुकमा केही पोष्ट नगर्ने, अरूको पोष्ट हेर्ने । तर, लाइकसमेत नगर्ने समीपको आदत छ । उसकी आमाले केही महिनाअघि मात्रै कोभिडका कारण संसार त्यागिन् । समीप अन्तिम संस्कारमा नेपाल जान पाएन । त्यो भयावह दुःख र मनको उकुसमुकुसले गर्दा सीयु र साथीहरूसँग रमाउन थालेको छ । बियरको मात्रा बढेको छ उसको । साथीहरूको सहानुभूति छ । तर, आमाको स्मृति उसको आँखामा सधैँसधैँ फरफर नाचिरहन्छ ।
उसले कल्पना पनि गरेको थिएन, आमालाई यति चाँडै गुमाउँछु ।
‘हुने भनेकै नसोचेको रहेछ साथी हो ! तिमीहरू पैसामा मात्रै मरिहत्ते नगर्नु । परिवारलाई भेट्न कञ्जुस नगर्नु । दर्जन छोराछोरी पाएर, अनेक दुःखकष्ट गरेर आमाले हामीलाई हुर्काउनु भयो । गाउँबाट सदरमुकाम, सदरमुकामबाट सहरमा घर बनाउने, छोराछोरीहरूको कमाई सही ठाउँमा लगानी गरी दिनुहुने आमा हुनुहुन्थ्यो । हामीलाई लामो बाटो हिँड्न सिकाउनु भएर छोटो बाटो जानुभयो । अफसोस यही कुरामा छ ! अन्तिम पटक भेट्न सकिनँ’, बोल्दाबोल्दै समीपको गला अवरूद्ध भइसकेको हुन्छ ।
आमा बिरामी भएको खबर पाउनासाथ ऊ जान नचाहेको पनि होइन । तर कोरोनाकै कारण जान पाएन । अब त देश पुग्नासाथ उसले अब आमालाई आमाकै घर (चेहिम), चारकोसे जङ्गलमा भेट्नेछ ।
‘अर्को अप्ता छुट्टीमा किम्हे(ख्यङ्साङनाम्दो प्रान्तको प्रख्यात सहर जहाँ नेपालीहरूको बाक्लो उपस्थिति छ) जानुपर्छ है ! नयाँ बैंक खाता खोल्नु छ’, एकजनाले साथीलाई आग्रह गर्दै थिई ।
‘एउटा सानो काम पर्यो भने किम्हे नै जानुपर्छ । सउल एरिया नै ठीक लाग्छ मलाई त । यो ठाउँ कति विकट जस्तो लाग्ने घरीघरी’, अकीले सहरतिर जस्तो सुविधा नभएकोमा आफू बसेको एरियाप्रति असन्तुष्टि प्रकट गरिन् । केटीहरू नेपाली भाषामा बोल्दै सीयुतिरै आइरहेको देखेर उनीहरू एकछिन शान्त हुन्छन् ।
परिबुङ र चेतना कोरिया आएपछिका (जमेका दोस्ती) साथीहरू हुन् । उनीहरूको कोरिया प्रवेशको भिषामात्रै फरक थिएन । ठेगाना, रूचि, परिवेशसमेत फरक थिए । तर, यहाँ आएपश्चात् अपरिचितहरूलाई परिस्थितिले परिचित गराइदियो । कति चिरपरिचित आफ्नासँगको सम्बन्ध पनि यतै आएर टुंगिएका छन् कतिका ।
परिबुङ उच्च शिक्षा हासिल गर्न विद्यार्थी भिषामा आएकी थिइन् । केही महिना युनिभर्सिटी गएपछि चर्को फि र घरको आर्थिक स्थितिले झोक्राएर पार्टटाइम जबमा लाग्न बाध्य भइन् । काम र पढाइको तालमेलमात्रै नमिलेको भए ठिक्कै थियो । एकपछि अर्को समस्याहरू थपिँदै गएपछि उच्च शिक्षा अध्ययनपश्चातका सपना सपनामै सीमित भइदियो । युनिभर्सिटीबाट भागेर चेतना भएको कम्पनीमा काम गर्न आइपुगिन् ।
चेतना भने ईपीएस प्रणालीअन्तर्गत आएकी थिइन् । ७ वर्षअघि कोरिया आएकी चेतनाको लागि सातौं कम्पनीमा भेट भएको थियो परिबुङसँग ।
ईपीएस प्रणालीअन्तर्गत तीन पटकभन्दा बढी पटक कम्पनी बदल्ने नियम छैन । तर, परिस्थितिले अवैधानिक बनेपछि चार पटक थप कम्पनीमात्रै बदलिन, आफै बदलिन बाध्य भई । आफूलाई कायर सावित गर्न नचाहँदा चेतनाको चेतले धेरैपटक सोच्नुपर्यो । कठिनाइ र चुनौतीहरूको सामना गरिन् । त्यै पनि हिम्मत हारेकी छैन ।
कोरिया आएका सुरूवाती दिनहरूमा परिवेश, उमंग, साथीहरू सबै नयाँ थिए । कम्पनीको काम सजिलो थिएन । कमाइ पनि सम्झौतामा भनिएअनुसारको थिएन । तर पनि काम गर्नु थियो । आफूले भोगिरहेको दुःखबारे कसैलाई सुनाउन चाहन्थी । तर, परदेशमा कसले सुनिदिने ? परिवारमा सुनाएर पिर दिन मन थिएन । आमाबुवासँग मोबाइल नभएकाले छिमेकीलाई फोन गर्नुपर्ने अवस्था थियो ।
एकोहोरिने, राति निन्द्रा नलाग्ने, एकान्तमा मात्रै बस्न मन लाग्ने । जसोतसो निदाइहाले पनि निन्द्रामा झस्किरहने लक्षणहरू देखापर्न थालेपछि कामबाट बिदा मागेर हस्पिटल गइन् । डिप्रेसनको पहिलो स्टेजमा भएको डाक्टरको भाषा बल्लतल्ल ठम्याउन सकिन् । त्यसपछि औषधि र साथीहरूको ढाडससँगै युट्युबमा मोटिभेसनल सामग्रीहरू हेरेर सेल्फ कण्ट्रोल गरिरही । आफ्नो सपना र स–साना भाइबहिनी सम्झेर आत्मबल दह्रो बनाइरही ।
समय विस्तारै बित्दै गयो । नेपालीहरूसँग घुलमिल हुँदै गयो । कोरिया आएको वर्षदिनपछि एकजना केटाले पठाएको फ्रेण्ड रिक्वेस्टले उसको जीवनमा नयाँ मोड लियो । फ्रेण्ड रिक्वेस्ट एसेप्ट गरेपछि केही महिना सामान्य कुराहरू भए । अनि विस्तारै सम्बन्ध अगाडि बढ्यो । च्याटबाट कल, कलबाट भेटघाटसम्म पुगे उनीहरू । यो क्रम निरन्तर चल्यो ।
आइतबारको दिन कहिले कुनै पार्क त कहिले कुनै कफी सपमा भेटेर दुवैले भविष्यको योजना बुन्थे । मीठो कल्पना साटासाट गर्थे । चेतनालाई जीवनप्रति थप मोह जाग्न थालेको थियो । तर, सम्बन्ध धेरै टिक्न सकेन । कार्यावधि सकिन लाग्दा चेतनालाई पनि सँगै देश फर्कौं भनेका थिए उसको मान्छेले । तर, उसको भिषा बाँकी नै थियो ।
बाँकी भिषा अवधिभरि काम गरेर आफ्ना लागि बन्दोबस्त गर्ने सोच रहेको बताइन् । त्यस अघिसम्मका कमाई परिवारलाई र ऋण तिर्दै सकियो । केही समयपछि नेपालमा भेट्ने वाचासहित उनीहरू छुट्टिए । कहिलेकाहीँ सम्पर्क भने भइरहन्थ्यो । परदेश र घरदेशको समय नमिलेर सुरूसुरूमा उनीहरू चाहेर पनि बोल्न पाएनन् । पछि विस्तारै चेतनाको ब्वाइफ्रेण्डको मन बदलिन थाल्यो । उसको अफेयर एकजना सम्पन्न परिवारको केटीसँग चल्न थालेछ । कहाँको दुःखमा हुर्किएर आफ्नै श्रमले परिवार सिंचाइरहेको चेतनाको जीवन ।
अन्ततः विवाह बन्धनमा बाँधिएको प्रमाणस्वरूप फोटोहरू फेसबुकको वालभरि छरपस्टियो । यो सब देखेर चेतना पुनः नराम्ररी बिथोलिइन् । आफैलाई धिक्कारिन् । कस्तो मान्छेलाई विश्वास गरँे ? कस्तो मान्छेसँग भविष्यको सपना बुनेँ ? उसको मनमा अनेक कुरा ओहोरदोहोर गरिरह्यो ।
यसपछि चेतनाको सोच बदलियो । भिषा सकिएपछि पनि घर जाने संकल्प त्यागेर आफ्नो भाग्यसँगै कोरियामै लगेज गुडाइरहिन् ।
निम्न मध्यम परिवारको जेठी छोरी थिइन् चेतना । एसएलसीपछि कलेज पढ्ने इच्छा भए पनि स–साना भाइबहिनीहरू र पारिवारिक अवस्थाप्रति चिन्तित भइरहिन् । अधुरो रहेको पढेर पूरा गर्ने सपना भाइबहिनीमा देखिन् । र, विदेशिने सोचिन् । चेतनाको बाबाले चाहेको भए ऋण गरेरै भए पनि उनलाई पढाउन नसक्ने भन्ने थिएन । तर, माझ किरातमा जन्मे हुर्के पनि पितृसत्ताले गालेको समाज थियो । चेतनाको ठाउँमा उसको भाइ थियो भने बाबाले अवश्य पढाउने थिए । यो विभेद चेतनाको मस्तिष्कले महसुस गर्न सक्ने भए पनि बाबाआमासित प्रतिवाद गर्न सक्ने आँट हुर्किसकेको थिएन । छोरीमान्छे विदेश जाने कुरा पनि उतिबेला खासै मनासिव थिएन । तर, सहरमा आफन्तकहाँ बसेर केही काम गर्ने बताएर परिवारकै अनुमतिमा पहिलोपटक गाउँ छोडिन् ।
त्यो समय उमेरले भर्खरै १५ औं बसन्तमा हिँडिरहेकी थिइन् । नफस्टाएकी सानी केटी थिइन् । सहरमा पनि आफन्तकहाँ बसेर काम गर्न त्यति सहज थिएन नै । तर, सहरमै उसले शब्दले त छुराले भन्दा बढी बिझाउँदोरहेछ भन्ने बुझिन् । अन्ततः कोरियन भाषा पढ्न थालिन् । कोरियामा हजारौंको संख्यामा चेतनाहरू भेटिन्छन्, नयनहरू भेटिन्छन्, कान्छाहरू भेटिन्छन् ।
शिशिर ऋतुबाहेकका प्रायजसोः आइतबारका दिन चेतना, नयन, कान्छाहरू काम गर्ने, बस्ने ठाउँबाट लगभग ३÷४ किलोमिटरको दूरीमा बगिरहेको नाग्दोङ नदीको किनारा छेउछाउका बाटो, पार्क र नदीमाथिको पुलमा टहलिन पुग्छन् । पुगेकामध्ये कोही गोधुली साँझमा गितार च्यापिरहेका हुन्छन् भने कोही जबरजस्ती मुस्कुराएर सेल्फी खिचिरहेका हुन्छन् । कोही पुलबाट तलतिर एकोहोरो हेरिरहेका हुन्छन् । लाग्छ, नसुसाएर विनाछलाङ एकतमास बगिरहेको नदीमा आफ्ना सपनाहरू पनि तैरिरहेझैं हेरिरहेका छन् उनीहरू । लाग्छ, कोरियाको यो औद्योगिक सहरको कथा बोकेर युगौंदेखि बगिरहेको नाग्दोङ नदीले असंख्य प्रवासी मजदुरहरूको सपना पनि बगाइरहेको छ चुपचाप–चुपचाप, निरन्तर–निरन्तर ।