विराटनगरकाे मेयरमा तीन जनाकाे उम्मेदवारी, रिक्साचालक वडाध्यक्षमा उठे – Nepal Press

विराटनगरकाे मेयरमा तीन जनाकाे उम्मेदवारी, रिक्साचालक वडाध्यक्षमा उठे

विराटनगर । आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयनको पहिलो दिन विराटनगर महानगरमा मेयरका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगरको मेयरका लागि उमेश यादव र सक्रिय गौतमको स्वतन्त्र उम्मेदवारी परेको छ । सिके राउतको नेतृत्वको जनमत पार्टीको तर्फबाट मेयरमा अरुणकुमार मण्डलले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले आइतबार उपमेयरमा कसैको मनोनयन नपरेको बताए ।

वडाध्यक्ष र सदस्यका लागि पहिलो दिन ५४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

स्वतन्त्र मेयरको उम्मेदवारी दिएका उमेश यादवले शनिवार मात्र जनता समाजवादी पार्टी परित्याग गरेका थिए ।

गौतम युवा अभियन्ताको रूपमा परिचित छन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीको तर्फबाट अरुणकुमार मण्डलले भने दूग्घ डेरी व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनी जनमत पार्टीको महानगर अध्यक्ष पनि हुन् ।

गत स्थानीय तह निर्वाचनमा विजयी भएका वडा नम्बर १० अध्यक्ष माधव वाग्लेले फेरि पनि उम्मेदवारी दिएका छन् ।

विराटनगर महानगरको वडा नं ६ को वडा अध्यक्षमा सिटी रिक्सा चालक ध्रुव विश्वकर्माले पनि मनोनयन दर्ता गरेका छन् ।

विराटनगरमा ८ वर्षदेखि सिटी सफारी चलाउँदै आएका ४८ वर्षीय विश्वकर्माले वन रक्षकका रूपमा लामो समय सरकारी सेवामा काम गरिसकेका छन् ।

पाँच दलीय गठबन्धनले प्रदेश नं १ को राजधानी समेत रहेको विराटनगर महानगरपालिकाको मेयर पद नेपाली कांग्रेसको भागमा परेको छ भने उपमेयर जनता समाजवादी पार्टीको भागमा परेको छ । कांग्रेसले मेयर र जसपाले उपमेयरको नाम टुङ्ग्याउन नसक्दा आइतबार गठबन्धनको तर्फबाट उम्मेदवारको मनोनयन दर्ता हुन सकेन ।

एमालेले पनि मेयर र उपमेयरको नाम टुङ्ग्याउन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर