मनोनयन दर्तामा विभेद गरेको जनमत पार्टीको आरोप – Nepal Press

मनोनयन दर्तामा विभेद गरेको जनमत पार्टीको आरोप

जनकपुरधाम । मनोनयन दर्तामा निर्वाचन अधिकृतहरूले विभेद गरेको जनमत पार्टीले आरोप लगाएको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विज्ञप्ति जारी गरेर यस्तो आरोप लगाएका हुन् ।

जनमत पार्टीका उम्मेदवारहरूलाई विभिन्न किसिमका अनावश्यक दुःख र झमेला दिने गरेको, कहिले हस्ताक्षर नमिलेको त कहिले फोटोकपी नमिलेको जस्तो अनेकाैँ अनावश्यक बखेडा खडा गरी उम्मेदवारी दर्ता गर्न नदिएको आरोप उनले लगाएका छन् ।

विभिन्न अनुचित बहानामा उम्मेदवारी दर्ता गर्न नदिने र सत्ताधारी पार्टीलाई नै जिताउन सहयोग गर्ने खालका गतिविधिमा संलग्न भएको ठोस प्रमाणहरू पाएको डा. राउतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उम्मेदवारहरू विहान १० बजेदेखि नै निर्वाचन अधिकृतको कार्यालयमा पुग्दा समेत ५ बजेसम्ममा पनि पालो नदिएको र भोलिको लागि टारेको जनमत पार्टीको आरोप छ ।

यस्तै सत्ताधारी पार्टीहरूको गठबन्धनलाई अनुकूल हुने गरी मतपत्रको छपाइमा समेत चिन्हहरूको समेत हेरफेर गरेको र सत्ताधारी पार्टीहरूको गठबन्धनलाई अनुकूल हुने गरी निर्वाचन अधिकृतहरूको नियुक्ति गरिएकोमा सो पार्टीले आपत्ति जनाएको छ ।

निर्वाचन अधिकृतहरूद्वारा जनमत पार्टीविरुद्ध गरिएको विभेद अविलम्ब नसच्चिए स्थानीय निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालयहरूमा तालाबन्दी गर्न र आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर