उम्मेदवारी दर्ताअघि व्यञ्जनकारले लिए शताब्दी पुरुष र ज्येष्ठ कम्युनिष्टबाट आशीर्वाद – Nepal Press

उम्मेदवारी दर्ताअघि व्यञ्जनकारले लिए शताब्दी पुरुष र ज्येष्ठ कम्युनिष्टबाट आशीर्वाद

ललितपुर । नेकपा एमालेबाट ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयर मञ्जली शाक्य (आस्था) ले उम्मेदवारी मनोनयनअघि महानगरका ज्येष्ठ व्यक्तित्वहरूको आशीर्वाद लिएका छन् ।

शताब्दी पुरुष सत्यमोहन जोशी र वामपन्थी नेताद्वय सिद्धिलाल सिंह र स्नेहलता श्रेष्ठको निवासमा पुगेर आशीर्वाद लिएका हुन् । व्यञ्जनकार आशीर्वाद लिन बिहान ९ बजे सत्यमोहन जोशीको निवासमा पुगेका थिए । अस्वस्थताको कारण किस्ट अस्पताल भर्नापछि आइतबार डिस्चार्ज भएका जोशीले एमालेका मेयरका उम्मेदवार व्यञ्जनकार र उपमेयरका उम्मेद्दार शाक्यलाई आशीर्वादसहित शुभकामना दिए ।

लगत्तै शंखमुलस्थित सिद्धिलाल सिंहको निवासमा पुगेका दुवै उम्मेदवारलाई आशीर्वाद दिँदै सिंहले भने, ‘ललितपुर महानगरपालिकाको समग्र विकास गर्न तपाईंजस्ता उम्मेदवारको आवश्यक छ । यो निर्वाचनमा दुवैजनाको विजयी हुने विश्वाससहित आशीर्वाद दिन्छु ।’

८६ वर्षे नेता सिंहलाई भेटेपछि उनीहरू पाटनढोकास्थित स्नेहालता श्रेष्ठको निवासमा पुगेका थिए । ८४ वर्षिया श्रेष्ठले आफ्नो जीवनमा ललितपुर महानगरमा एमालेको उम्मेदवार विजय भएको हेर्न चाहेको बताइन् ।

भेटपछि प्रतिक्रिया दिँदै मेयरका उम्मेदवार व्यञ्जनकार र उपमेयरका उम्मेदवार शाक्यले इतिहासपुरुष जोशी र दुई वामपन्थी नेताको आशीर्वादबाट आफूहरूको विजययात्रा शुरु भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर