काठमाडौंले पहिलो महिला मेयर पाउँदैछ : सिंह (भिडिओ) – Nepal Press

काठमाडौंले पहिलो महिला मेयर पाउँदैछ : सिंह (भिडिओ)

काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार कांग्रेस नेतृ सिर्जना सिंहले काठमाडौं महानगरले पहिलो महिला नेतृत्व पाउन लागेको बताएकी छिन् ।

उम्मेदवारी दर्तालगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै सिंहले देशकै राजधानी सहरमा पहिलो महिला मेयर निर्वाचित हुन लागेको विषयले सबैमा उत्साह बढेको बताइन् । ‘जित निश्चित नै छ । काठमाडौं महानगरले पहिलो महिला मेयर पाउँदैछ’, सिंहले भनिन् ।

आफू मेयर भएपछि काठमाडौंलाई व्यवस्थित सहर बनाउने भन्दै सिंहले ट्राफिक समस्यादेखि खानेपानी र सरसफाइको समस्या समाधानमा विशेष ध्यान दिने बताइन् । त्यस्तै कामकाजी महिला बालबच्चाहरूको हेरचाहका लागि महानगरका विभिन्न स्थानमा सामुदायिक शिशु स्याहार केन्द्र स्थापना गर्ने उद्घोष पनि सिंहले गरिन् ।

‘काम गरेर घर चलाउनुपर्ने महिलाका बच्चाहरू हेर्दिने डे केयर सेण्टरहरु बनाउँछु । अहिले बच्चाको स्याहार गर्न नै हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ, त्यो हटाउँछु’, सिंहले भनिन् ।

उनले आफू गणेशमान र मंगलादेवीको बुहारी तथा प्रकाशमान सिंहको श्रीमती भएको तथ्य नलुकेको भन्दै आफ्नो राजनीतिक योगदान पनि कम नरहेको बताइन् ।

‘प्रकाशमानजीलाई नचिन्दै प्रजातन्त्रका लागि आन्दोलन गरेर हनुमान ढोकामा जेल जीवन बिताएको मान्छे हुँ । म राजनीतिमै थिए मात्र राजनीतिक पदमा थिइनँ । अब पदमा पुगेर जनताको सेवा गर्दै छु’, सिंहले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर