गाउँपालिका उपाध्यक्षमा लड्न पत्रकार रुम्दालीले दिए महासंघ केन्द्रीय सदस्यबाट राजीनामा – Nepal Press

गाउँपालिका उपाध्यक्षमा लड्न पत्रकार रुम्दालीले दिए महासंघ केन्द्रीय सदस्यबाट राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र रुम्दालीले पदबाट राजीनामा गरेको घोषणा गरेका छन् । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिने भन्दै रुम्दालीले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका हुन् ।

मानेभन्ज्याङ गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङमा पत्रकार सम्मेलन आयोजना गर्दै रुम्दालीले आफ्नो पेशा, व्यक्तिगत आचारण, प्रतिष्ठाले पनि कानून, विधिपद्धतिको परिपालना गर्नु नै उच्च नैतिकता भएको ठान्दै पदबाट राजीनामा दिएको बताए ।

‘संघीय राज्य प्रणालीलाई थप शसक्त र दरविलो बनाउन स्थानीय सरकारलाई शक्तिशाली बनाउनुको विकल्प छैन । जसका लागि नीति निर्माणसँगै नेतृत्व पनि सोही अनुसार चयन गर्न सकेनौं भने योजना, कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन हुन सक्दैन । त्यो हामीले भोगेको र बुझिसकेको विषय हो’, उनले भने ।

नेपाल पत्रकार महासंघ ओखलढुंगाको तीन कार्यकाल अध्यक्ष बनेका रुम्दालीले यसअघि पनि सोही गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनेपनि जित निकाल्न सकेको थिएन । यसपटक भने नेकपा एमालेसँगको तालमेलमा आफ्नो जित सुनिश्चित रहेको बताउँदै केन्द्रीय सदस्य रुम्दालीले जनता समाजवादी पार्टीबाट उपाध्यक्षमा उम्मेदवार बन्न लागेको जानकारी दिए ।

सोही गाउँपालिकामा रुम्दालीका सहोदर दाजु ज्ञानेन्द्र रुम्दाली पनि नेपाली कांग्रेसको सहयोगमा गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्रबाट चुनावी प्रतिस्पर्धामा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर