विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ वर्षको उमेरमा निधन
काठमाडौं । विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ वर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिएकी काने ताकानाको मृत्यु भएको हो ।
उनी जन्मेको वर्ष राइट दाजुभाइले पहिलो पटक उडान परीक्षण गरेका थिए भने पहिलो महिला नोबेल पुरस्कार विजेताका रुपमा म्यारी क्युरीले नोबेल पुरस्कार प्राप्त गरेकी थिइन् । जापानको दक्षिण पश्चिमी फुकौका क्षेत्रमा उनी बस्दै आएकी थिइन् । उनको स्वास्थ्यमा खासै ठूलो समस्या नदेखिएको चिकित्सकहरुले बताउँदै आएका थिए । उनलाई नर्सिङ होममा राखेर स्वास्थ्य सेवा दिइँदै आइएको थियो ।
नर्सिङ होममा रहँदा उनले बोर्ड गेम्समा रमाउने गर्थिन भने हिसाबका प्रश्नोत्तर लेख्दै बस्ने गर्थिन् । त्यसैगरी सोडा र चकलेटहरु खाने गर्थिन् । उनी वयस्क अवस्थामा रहेका बेला चाउचाउ पसल, केक स्टोर्सलगायतका धेरै व्यापार व्यवसायहरु चलाने गरेकी थिइन् ।
उनले ठिक एक शताब्दी अगाडि सन् १९२२ मा १९ बर्षको उमेरमा हिडेओ तानाकासँग विवाह गरेकी थिइन् । उनका चार सन्तान छन् । खेलकुदमा निकै रुची राख्ने तानाकाले सन् २०२१ मा भएको टोकियो ओलम्पीक खेलकुद प्रतियोगिता प्रत्यक्ष हेर्न जाने रहर थियो । तर कोरोना भाइरसको महामारीका कारण उनलाई खेल मैदान लगिएको थिएन ।
विश्वकै सबैभन्दा जेष्ठ नागरिकको रुपमा उनको नाम सन् २०१९ मा गिनिज बुकमा लेखिएको थियो । त्यति बेला उनले यो नै आफ्नो जीवनको सबैभन्दा बढी खुशीको क्षण भएको बताएकी थिइन् ।