मतदानको दिनसम्ममा हाम्रो पक्षमा लहर आउँछ: समीक्षा बास्कोटा
काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ मेयर बन्ने दौडमा सामेल छिन् विवेकशील साझा पार्टीकी नेतृ समीक्षा बास्कोटा । हाइप्रोफाइल उम्मेदवारहरुको ओझेलमा परे पनि उनी आफ्नै तरिकाले मतदाता रिझाउन लागिपरेकी छिन् ।
३३ वर्षिया समीक्षा कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपकप्रसाद बास्कोटाकी छोरी हुन् । कानूनकी विद्यार्थी उनले अमेरिकाको सेन्ट अफ जोन्स युनिभर्सिटीबाट एलएलएमसम्मको अध्ययन गरेकी छन् । बास्कोटा ग्रुप अफ इन्डष्ट्रिजको उनी प्रमुख कार्यकारी अधिकृत हुन् ।
बुवा कांग्रेस भए पनि समीक्षाले राजनीति गर्न वैकल्पिक शक्ति रोजिन् । उनी स्थापनाकालबाटै साझा पार्टीमा आवद्ध थिइन् । २०७४ सालको प्रदेशसभा चुनावमा उनी काठमाडौंको निर्वाचन क्षेत्र १ (क) बाट उम्मेदवार बनेकी थिइन् । त्यसबेला उनी ४ हजार ३ सय ४३ मत ल्याएर तेस्रो भइन् ।
विवेकशील साझाको वाग्मती प्रदेशकी पूर्वसंयोजक समीक्षा हाल पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य छिन् । पार्टीभित्र सुशिक्षित र सक्षम नेतृको रुपमा उनको चर्चा हुन्छ । व्यक्तिगत पृष्ठभूमिका आधारमा पनि मतदाताले सहजै उपेक्षा गर्नसक्ने उम्मेदवार उनी होइनन् । काठमाडौंमा महानगरलाई हाँक्ने दूरदृष्टीसहितका एजेण्डाहरु उनले प्रस्तुत गरेकी छन् ।
अघिल्लो स्थानीय चुनावमा विवेकशील पार्टीकी उम्मेदवार रञ्जु दर्शनाको उधुम चर्चा थियो । यसपालि समीक्षाको पक्षमा त्यस्तो माहोल छैन । यद्यपि, मतदानको दिनसम्म पुग्दा आफ्नो पक्षमा लहर आउनेमा उनी आशावादी छिन् ।
बास्कोटासँग स्थानीय चुनावकै सन्दर्भमा गरिएको संक्षिप्त कुराकानीः
काठमाडौं महानगरको मेयर बन्ने दौडमा सामेल हुनुभएको छ । तपाईंको लक्ष्य जित हो कि सम्मानजनक मत ?
रेसमा निस्केपछि खेलको नियमअनुसार जितकै लक्ष्य राखिन्छ । मेरो लक्ष्य पनि जित हो । नतिजा जस्तो आए पनि त्यसलाई सहजरुपमा स्वीकार्ने आफ्नो ठाउँमा हुन्छ । तर, रेसमा हुँदासम्म जितकै लक्ष्य राखेर हिँड्नेछौं ।
अरु बेला जति गाली गरेपनि चुनावमा मतदाताले ठूला र स्थापित दलकै चुनावचिह्नमा मत खसाउने परिपाटी छ । यसलाई चिर्न सक्छु भन्ने आधार के–के छन् तपाईंसँग ?
हाम्रो लागि एउटा सुखद पक्ष भनेको गएको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारको रुपमा लड्नुपरेको थियो । तर, अहिले संघर्ष गरेर चुनाव चिह्न प्राप्त गरेका छौं । हामी पनि एउटा राजनीतिक दलकै हैसियतमा पाँच वर्षदेखि निरन्तर काम गरिरहेको हुँदा जनतामाझ स्थापित शक्ति नै हौं ।
हाम्रो मुख्य आधार भनेको पार्टीका एजेण्डाहरू हुन् । भ्रष्टाचार नियन्त्रण तथा सुशासनमा हामीले जोड दिएका छौं । विद्युतीय यातायातलार्ई प्रवद्र्धन गर्न विभिन्न प्रस्ताव अघि सारेका छौं । सामुदायिक विद्यालयहरूमा सुधारका निम्ति हामीसँग स्पष्ट कार्ययोजनाहरु छन् ।
हामीले सहरलाई पैदलयात्रीदेखि अपांगतामैत्री बनाउने, तथा वृद्ध–बालबालिका सबैका लागि सहज यातायातका व्यवस्था गर्ने कुरा गरेका छौं । नेवाः कला संस्कृतिको पुनर्जागरणको विषय समेटेका छौं । सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने कुरालाई प्राथमिकतामा राखेका छौं । समग्रमा हाम्रो एजेण्डाले नै मतदाताहरुलाई आकर्षित गर्न सकिन्छ जस्तो लाग्छ ।
तपाईंहरुको मुख्य फोकस चाहिँ के हो त ?
हाम्रो फोकस भनेको ६–७ वटा छन् । सुशासन र भ्रष्टाचार नियन्त्रणलाई पहिलो नम्बरमा राखेका छौं । त्यसपछि सुलभ तथा व्यवस्थित सार्वजनिक यातायात र विद्युतीय सवारी हाम्रो प्राथमिकतामा पर्छ । त्यस्तै, सफा र व्यवस्थित काठमाडौं बनाउने, खोला तथा नदिनालाको संरक्षण गर्ने, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध गराउने कुराहरु आउँछन् ।
विवेकशील साझा पार्टी यतिबेला छिन्नभिन्न अवस्थामा छ । एउटा समूह विवादका कारण बाहिरियो भने फेरि अर्को असन्तुष्ट समूह जन्मेको छ । यस्तो विवादग्रस्त अवस्थामा चुनावमा जाँदा सुखद नतिजाको आशा कसरी राख्न सक्नुहुन्छ ?
राजनीतिक दलमा वैचारिक विमति सामान्य हो । हाम्रो मूल एजेण्डा भनेको सुसंस्कृति राजनीति र पुराना दलको सिण्डिकेट तोड्ने नै हो । यसमा हामीबीच कुनै विवाद छैन । केही वैचारिक विमति अवश्य छन् र तीनले केही असर पुर्याउला, तर ठूलो असर गर्छ भन्ने लाग्दैन ।
वैचारिक विमति नभएका त कुन पार्टी छन् र ? यसलाई राजनीतिक दल हुर्किने र अगाडि अगाडि बढ्ने प्रोसेसका रुपमा नै हेर्नुपर्छ जस्तो लाग्छ ।
चुनावमा मतदाताहरुसम्म पुग्न के–कस्ता विधि प्रक्रियाहरु अवलम्बन गरिरहनुभएको छ ?
मुख्यत, प्रत्यक्ष भेटघाट र अन्तरक्रियामा सामेल भइरहेका छौं । सकेसम्म जनताको घरदैलोमा नै पुगेर उहाँहरुको भावना बुझ्ने प्रयास भइरहेको छ । साथै, डिजिटल प्लेटफर्मलाई पनि बढीभन्दा बढी प्रयोग गरिरहेका छौं । जुम मिटिङहरु अर्गनाइज भइरहेका छन् । हामी सबै माध्यमबाट मतदातासम्म पुग्न प्रयासरत छौं ।
पछिल्लो समय चुनावमा उम्मेदवारले गर्ने खर्चको विषय निकै बहसमा छ । स्थानीय तहको चुनावमा समेत एउटा उम्मेदवारले करोडौं खर्च गर्ने गरेको सुनिन्छ । तपाईंले चाहिँ कति खर्च गर्ने योजना बनाउनुभएको छ ?
निर्वाचन आचार संहिताअनुसार स्थानीय तहको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवार दिनेले बढीमा ७ लाख ५० हजार खर्च गर्न पाउँछन् । हाम्रो खर्च पनि यहीं हाराहारीमा हुन्छ । आचारसंहिताले दिएको सीमाभन्दा बाहिर जाँदैनौं, बरु कम हुन सक्छ । हामीले निर्वाचन खर्च कम गर्नुपर्छ भनेर अभियान नै चलाइरहेका छौं ।
तपाईंको निर्वाचन खर्चको स्रोत चाहिँ के हो ?
हाम्रो स्रोत भनेको पार्टीका आन्तरिक सदस्य, शुभेच्छुक, घर–परिवार तथा साथीभाइले सहृदयतापूर्वक गर्ने सहयोग नै हो । उहाँले हजार, दुई हजार, पाँच सय, सय जति दिनुहुन्छ, त्यसलाई जम्मा गरेर मितव्ययीता र पारदर्शीताका साथ खर्च गर्ने अभ्यास गर्दै आएका छौं ।
खर्च भनेको आफंैले नियन्त्रण गर्ने हो । मुख्य हाम्रो खर्च प्रतिज्ञापत्रमा भएको छ । त्यो धेरैसंख्यामा छाप्नुपर्ने हुन्छ । अनि, बिहानदेखि बेलुकासम्म खटिइरहेका हुन्छौं । खाजा, खानामा केही खर्च हुन्छ । यसमा हामीले सकेसम्म मितव्ययीता नै अपनाइरहेका छौं । हामी मासुभात खाँदैनौं । सामान्य दालभात खाने हो । खाजा पनि सामान्य हुन्छ । सवारीसाधन सबैले आ–आफ्नै प्रयोग गर्छौं, त्यसमा खर्च हुँदैन ।
हामीसँग २०७४ सालमा चुनाव लडेको अनुभव पनि छ । त्यसबेला पनि मितव्ययी तवरले नै खर्च गरेका थियौं । हामीले कार्यकर्तालाई पेट्रोल बाँड्नु पर्दैन, मोटरसाइकल र्याली निकाल्दैनौं, भोट किन्नु छैन । त्यसैले गर्दा हाम्रो खर्च अरुको तुलनामा न्यून हुन्छ ।
२०७४ सालको स्थानीय चुनावमा रञ्जु दर्शना र किशोर थापाले सम्मानजनक भोट ल्याउनुभयो । चुनावअघि उहाँहरुको पक्षमा राम्रै लहर पनि देखिएको थियो । यसपालि तपाईंको उम्मेदवारीले किन त्यस्तो लहर ल्याउन सकेन ?
अलिअल लहर आइरहेकै छ । त्यो बेला प्राप्त गरेको मतको जगमा टेकेर नै हामीले पार्टी निर्माण गरेका हौं । हामीले गर्ने घरदैलो, अन्तरक्रियाहरुमा मतदाताले हौसला दिइराख्नुभएको छ । पहिले पनि हामीले सहयोग गरेका हौं, तर नतिजा निकाल्न सकिएन, यसपाली पनि सहयोग गर्छौं भन्नुभएको छ । मतदानको दिनसम्म हाम्रो पक्षमा परिणाममूखी लहर आउँछ भन्नेमा आशावादी छु । नागरिकसँगको भेटघाट र अन्तरक्रियाले यो आशा दिएको हो ।
तर, अघिल्लो चुनावमा जुन तप्काले रञ्जु दर्शना र किशोर थापालाई भोट दिएको थियो, त्यो तप्काको झुकाव यो चुनावमा बालेन शाहतिर ढल्केको चर्चा सुनिन्छ नि ? उनको उम्मेदवारीलाई कसरी लिनुभएको छ ?
जनताको मत सँधै स्थिर त हुँदैन । विगतमा हामीलाई आएको केही मत अन्त जाला । अरुलाई परेको केही मत हामीलाई आउला । मुख्य कुरा हामी राजनीतिक दलले खडा गरेको सिण्डिकेटलाई तोड्न र काम गरेर देखाउन आएका हौं । रेसमा हिँडेपछि जितउन्मूख नै हुनुपर्छ ।
हामी सेमिनार वर्कसपदेखि लिएर ठूलाठूला मञ्चमा एकदमै आदर्शवादी कुरा गर्छौं । महिला सशक्तिकरणका कुरा गर्छौं । अब बोलीलाई व्यवहारमा बदल्ने बेला आएको छ । विवेकशीलले दुईजना महिलालाई प्रमुख पदमा अगाडि सार्नु पनि महिला सशक्तिकरणकै एउटा रुप हो । अब परीक्षण मतदाताको पनि हुन्छ ।
अहिलेसम्म म उत्साहित छु । मलगायत १६ जनाले उम्मेदवारी दिइसक्नुभएको छ । केही व्यक्तिको मात्रै चर्चामा आउने हो । त्यसमा म पनि छु ।
तर, माहोल हेर्दा तपाईंले पाउन सक्ने युवामत त बालेनले खोस्नसक्ने देखियो नि ?
मैले आश गरेको भनेको युवा मात्र होइन, महिला र स्वींग भोट पनि हो । कांग्रेस र कम्युनिष्टलाई विगतदेखि भोट हाल्दै आएकाहरु अहिले चरम असन्तुष्ट छन् । उनीहरुले मत परिवर्तन गर्ने सम्भावना पनि छ । उहाँहरुबाट पनि मलाई आशा छ ।
विभिन्न उम्मेदवारले एकअर्काको भोट काट्नु स्वभाविक हो । सामाजिक सञ्जालको माहोलले मात्र हुँदैन । त्यो माहोल मतमा रुपान्तरण हुनु महत्वपूर्ण हुन्छ । ०७४ सालमा नै देखिएको हो नि, काठमाडौं क्षेत्र १ मा रवीन्द्र मिश्रको चर्चा सबैभन्दा बढी थियो । उहाँले सामाजिक सञ्जालमा एउटा पोष्ट गरेको भरमा हल भरिन्थ्यो । तर, त्यो समर्थन नतिजा निकाल्ने गरी रुपान्तरण भएन । माहोल बन्नु एउटा कुरा हो । कति मतमा कन्भर्ट हुन्छ भन्ने वैशाख ३० भन्दा अगाडि भन्न सकिन्न ।
हामी पोजिटिभ हुनुपर्छ । म पोजिटिभिटीले गाइड भइरहेको छु । महानगरवासीले आफ्नो मत परवर्तन गर्नुहुन्छ भन्ने लाग्छ । विवेकशील साझालाई मौका दिनुहुुन्छ भन्नेमा आशावादी छु ।