भैरहवाको सिद्धार्थनगरमा एमालेबाट मेयरमा बस्याल र उपमेयरमा उमा, जोगाउलान् त एमालेको विरासत ? – Nepal Press

भैरहवाको सिद्धार्थनगरमा एमालेबाट मेयरमा बस्याल र उपमेयरमा उमा, जोगाउलान् त एमालेको विरासत ?

रुपन्देही । रुपन्देहीको सदरमुकाम भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा मेयर तथा उपमेयर नेकपा एमालेले जितेको थियो । मेयरमा हरिप्रसाद अधिकारी तथा उपमेयरमा उमा काफ्लेले जितेको यो नगरपालिकामा एमाले, राप्रपा, कांग्रेस, जसपा, माओवादीबीच निकै कडा प्रतिस्पर्धा छ ।

उपमेयर काफ्ले नेकपा एसमा लागेकी छन् । एमालेकै रहेका मेयर अधिकारी पुनः मेयरमा दोहोरिएनन् । पार्टीले पाका र पुराना अनुभवी नेता डाक्टर रामप्रसाद बस्याललाई मेयर उम्मेवादर बनाएको छ । ०५४ सालमा स्थानीय निर्वाचनमा उपमेयर बनेका अधिकारीले सोमबार पार्टीबाट उम्मेदवार मनोनयन दर्ता गराउने समयमा देखाएको सक्रियताले नयाँ नेतृत्वलाई उनको पूर्ण साथ रहेको प्रस्ट देखिन्छ ।

एमालेबाट सिद्धार्थनगर नगरपालिकाको मेयरमा डा. रामप्रसाद बस्याल र उपमेयरमा उमा अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । एमाले नेता तथा संघीय सांसद घनश्याम भुसाल, नगर प्रमुख हरिप्रसाद अधिकारी, एमाले नेताहरु राजेन्द्रप्रसाद पन्थी, हितराज पन्थी, अनुप बराल, चोपलाल आचार्य, जीवलाल अर्याल, प्रेम सेन्चुरी, चक्रबहादुर थापासहित उनीहरुले मनोनयन दर्ता गराएका थिए ।

डाक्टर बस्यालको राजनीतिक इतिहास

२०३८ सालमा पार्टी सदस्यता लिएका बस्याल समाज सेवामा अग्रणी छन् । रुपन्देहीमा अनुभवी र पाका राजनीतिकर्मीको रुपमा परिचित बस्याल २००५ सालमा पाल्पाको बराङ्गदीमा जन्मिएका हुन् । पाल्पा तानसेनमा ६ कक्षासम्म अध्ययन गरेका उनी ७ कक्षादेखि भारतको हरिद्वार र देहरादुनमा बसेर आईएस्सीसम्मको अध्ययन गरेका छन् ।

विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय बस्याल आईएस्सीपछि नेपाली छात्र संघ पञ्चपुरीको अध्यक्ष भएका थिए । आईएस्सी पास गरेपछि बस्याल नेपाली राजदूतावासमा तत्कालीन राजदूत भीमबहादुर पाँडेको नजिक पुगे । भीमबहादुरको प्रेरणामा बस्यालले कानपुर मेडिकल कलेजमा निःशुल्क चिकित्साशास्त्रको अध्ययन गरे ।

चिकित्सक भएपछि नेपालमा बसेर केही गर्नुपर्छ भन्ने सोचका साथ बस्याल २०४२ सालमा पाल्पा पुगेर जनपक्षीय उम्मेदवार बने । त्यसपछि बस्याल भैरहवामा मेडिकल खोलेर बसे । बस्यालले २०४५ सालमा लुम्बिनी अञ्चलमै पहिलो औषधि उद्योग सिद्धार्थ फर्मास्युटिकल्स सञ्चालनमा ल्याए । उद्योग व्यवसायी सँगसँगै स्वास्थ्य सेवामा लागेका बस्याल २०३८ सालदेखि नेकपा मालेमा सक्रिय भएका थिए ।

बस्याल पार्टीका शीर्ष नेता विष्णु पौडेल, मोदनाथ प्रश्रित, स्व. जीवराज आश्रित, वामदेव गौतम, टंक कार्की, अष्टलक्ष्मी शाक्य, राधा ज्ञवाली, घनश्याम भुसाललगायत नेताहरुलाई सेल्टर दिने, भूमिगतकालमा पञ्चायती शासकहरुबाट लुकाउने, विभिन्न पार्टीका प्रशिक्षण चलाउन सहयोग गर्ने, औषधोपचारका काममा खटिन्थे । एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वअर्थमन्त्री स्व. भरतमोहन अधिकारीलाई समेत भूमिगत कालमा एक हप्तासम्म आफ्नो घरमा लुकाएर राखेको उनले सुनाए ।

एमालेको सिद्धार्थनगर नगर कमिटी सहसचिव भइसकेका बस्यालले अन्य समय पार्टीको शुभचिन्तक र असल कार्यकर्ताको रुपमा काम गरिरहे । उनले माओवादी जनयुद्धको समयमा पुष्पकमल दाहालसँग भेट गराउन एमाले शीर्ष नेतालाई गोरखपुर पु¥याउने र पार्टीका नेता तथा कार्यकर्ताहरुको निःशुल्क उपचार गर्ने कार्य गरेका छन् ।

०६२/०६३ को जनआन्दोलनमा सक्रिय बस्याल पार्टीका हरेक आन्दोलनमा अग्रभागमा रहने गरेको उनका समर्थकहरु बताउँछन् । पार्टीमा आउने संकट र समस्याको बेला सतिसाल झैं सिद्धान्त र निष्ठाको पक्षमा उभिने र पार्टीभित्र सन्तुलन मिलाउनसक्ने नेताको पहिचान उनले बनाएका छन् । आफ्नो क्षेत्रका धेरै सामाजिक संघसंस्था र सबै दलका कार्यकर्ताहरुको साझा उम्मेदवारका रुपमा आफूलाई भैरहवाबासीले लिएको उनको दावी छ ।

उमाकाे बढ्दाे उचाइ

एमालेबाट सिद्धार्थनगर नगरपालिकाको उपमेयरमा उम्मेदवारी पाएकी उमा अधिकारी युवा समूहको प्रतिनिधित्व गर्छिन् । रुपन्देही जिल्ला कमिटी सदस्य अधिकारी लामो समय विद्यार्थी राजनीतिमा सक्रिय थिइन् ।

भैरहवा बहुमुखी क्याम्पसमा विद्यार्थी जीवन बिताएकी अधिकारीको तत्कालीन अनेरास्ववियुका नेता पार्थिवेन्द्र उपाध्ययसँग बिहे भएको थियो । बिहेपछि उनी एमालेमा जोडिइन् । उपाध्याय वि.संं २०५१ सालमा निर्वाचित भैरहवाका लोकप्रिय नेता स्व. धनपति उपाध्यायका कान्छा छोरा हुन् । अधिकारीको सासूआमा पुष्पाञ्जली उपाध्याय एमालेमा शालिन, सभ्य र सरल नेतृको रुपमा परिचित छन् । जीवनभर पार्टी जीवनमा काम गरेकी पुष्पाञ्जली अनुभवी पुरानो महिला नेतृ हुन् । सासूससुराको अधुरा कामको जिम्मेवारी पूरा गर्नेगरी आफू निर्वाचनमा होमिएको उमा बताउँछिन् ।

एक छोरीकी आमा अधिकारीले स्नातकोत्तर तहसम्मको अध्ययन गरेकी छन् । २०५७ सालमा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सदस्यता लिएकी उमा २०६० सालमा अखिलको रुपन्देही जिल्ला कमिटी सदस्य र भैरहवा बहुमुखी क्याम्पसको स्ववियु कोषाध्यक्ष भएकी थिइन् । उमा सोही समयमा अखिलको अञ्चल कमिटी सदस्य हुँदै महिला विभाग प्रमुखसमेत भइन् ।

२०६२/६३ को जनआन्दोलनमा सक्रिय उमा २०६३ सालमा भएको अनेरास्ववियुको केन्द्रीय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन् । उमा भैरहवामा युवा र विद्यार्थीमाझ एकदमै लोकप्रिय रहेकी छन् । उमा एमालेमा २ कार्यकाल क्षेत्रीय कमिटी सदस्य र २ कार्यकाल जिल्ला कमिटी सदस्य भइसकेकी छन् ।

उमाको खेलकुद क्षेत्रमा पनि उल्लेखनीय योगदान रहेको छ । उनले रुपन्देही जिल्ला खेलकुद विकास समितिको सदस्य र लुम्बिनी खेलकुद परिषद्को कार्यकारी सदस्य भएरसमेत काम गरिसकेकी छन् । हाल रुपन्देही क्रिकेट संघको कार्यसमिति सदस्य छिन् । पाँच वर्ष अगाडिको निर्वाचनमा पनि उपमेयरको आकांक्षी रहेकी अधिकारीले अहिले पालो पाएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर