पिएस गुरुङको आशीर्वाद र निर्देशन लिएर थाले कृष्ण थापाले पोखराको चुनावी अभियान – Nepal Press

पिएस गुरुङको आशीर्वाद र निर्देशन लिएर थाले कृष्ण थापाले पोखराको चुनावी अभियान

पोखरा । नेकपा एमालेको गण्डकी प्रदेशभित्रको गुटबन्दीमा पृथ्वीसुब्बा गुरुङले नरुचाएको भनिएका पोखरा महानगरपालिकाका मेयर उम्मेदवार कृष्ण थापाले गुरुङकै आशीर्वाद लिएर चुनावी अभियान सुरू गरेका छन् ।

पिएस गुरुङ र खगराज अधिकारीको गुटबन्दीमा थापालाई अधिकारीनिकट मानिन्छ । मेयरको लागि सिफारिस भए पनि गुरुङले नै थापालाई रोक्न खोजेको आरोप लागेकै बेला दीपक पौडेलले टिकट पाएका थिए ।

अन्तिममा पौडेल विवादमा परेपछि बलियो उम्मेदवारका रुपमा थापालाई अघि सारियो । उम्मेदवार परिवर्तनपछिको असन्तुष्टिलाई सम्बोधन गर्न नेताहरू लागिरहेका बेला थापा र उपमेयर उम्मेदवार मन्जुदेवी गुरुङले मंगलबार उपमहासचिव गुरुङसँग आशीर्वाद लिएका हुन् ।
थापा आफैंले उपमहासचिवको निर्देशन र आशिर्वाद लिएको भनेर फोटो सार्वजनिक गरेका छन् ।

दुवै उम्मेदवारले उपमहासचिव गुरुङलाई मंगलबार उनकै निवास पोखरा १३ मा गई भेटेका थिए । त्यसक्रममा उपमहासचिव गुरुङले सबैलाई समेटेर अघि बढ्न, पुराना जनप्रतिनिधिका सुझाव सल्लाह लिएर अघि बढ्न दुवै उम्मेदवारलाई सल्लाह दिएका थिए ।

केही दिनमै वृहत् भेला राख्ने र त्यसमा प्रमुख अतिथिका रुपमा सम्बोधन गरिदिन मेयर उम्मेदवार थापाले उपमहासचिव गुरुङलाई अनुरोध समेत गरेका छन् । थापाले आफूहरूले चुनाव जित्ने आधारमध्ये एउटा प्रमुख आधार केपी ओली नेतृत्वको सरकारको लोकप्रिय कार्यक्रम, पहिलाका जनप्रतिनिधिले गरेका काम, प्रदेश सरकारको मुख्यमन्त्री भएर पृथ्वीसुब्बा गुरुङले गरेका कामहरू भएको सार्वजनिक प्रतिक्रिया सोमबारै दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर