हेटौंडा उपमहानगर : सत्ता गठबन्धनलाई जसपाको घात, एमालेलाई राप्रपा नेपालको साथ – Nepal Press

हेटौंडा उपमहानगर : सत्ता गठबन्धनलाई जसपाको घात, एमालेलाई राप्रपा नेपालको साथ

मकवानपुर । बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकामा यस पटक कसले बाजी मार्ला ? अहिले सबैले यही प्रश्न गर्न थालेका छन् । स्थानीय निर्वाचन नजिकिएसँगै यहाँ सत्ता गठबन्धन र अर्को प्रमुख प्रतिस्पर्धी एमालेले आआफेनो जीतको दावी गर्न थालेका छन् ।

सत्ता गठबन्धनमा हेटौंडा उपमहानगरपालिकाको मेयरको भाग नेकपा एकीकृत समाजवादीले पाएको छ । जसअनुसार उपमहानगरको मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले उम्मेदवारी दर्ता गराएकी छन् । उनी यसअघि उपमेयर निर्वाचित भएकी थिइन् । एमाले विभाजित हुँदा लामाले एकीकृत समाजवादी रोजेकी थिइन् ।

नेपाली कांग्रेसले मेयर नपाएको भन्दै पार्टी कार्यालयमा कार्यकर्ताले तालाबन्दीसमेत गरेका थिए । कार्यकर्ताको विरोधबीच कांग्रेसले उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ ।

हेटौंडा उपमहानगरको मेयरमा नेकपा एमालेबाट अनन्त पौडेलले उम्मेदवारी दिएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार हरिबहादुर महतले २३ हजार १२४ मत ल्याई मेयर जितेका थिए । महतले नेपाली कांग्रेसका आनन्दराम पराजुलीलाई ६१५ मतले हराएका थिए । माओवादीसँग गठबन्धन गरेको कांग्रेसका पराजुलीले २२ हजार ५०९ मत पाएका थिए ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर उम्मेदवार मधु अधिकारीले ६ हजार ८५७ मत र संघीय समाजवादी फोरमका शुभरत्न गोलेले १ हजार १०६ मत ल्याएका थिए ।

उपमेयरतर्फ एमालेकी मीनाकुमारी लामा २३ हजार ४३७ मतसहित विजयी भइन् । उनले कांग्रेस र माओवादीको गठबन्धन उम्मेदवार बलराम बललाई पराजित गरेकी थिइन् । बलले १७ हजार ११ मत पाएका थिए ।

उपमेयरमै राष्ट्रिय प्रजातन्त्र पार्टीकी इन्दिरा न्यौपानेले ७ हजार ७०२ मत र तत्कालिन नयाँ शक्तिकी पुनम भट्टराईले १ हजार १५३ मत ल्याएका थिए ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । तर, सत्ता गठबन्धनबाट जनता सामाजवादी बाहिरिएको छ । जसले गर्दा सत्ता गठबन्धनलाई एमालेको विरासत भत्काउन सहज देखापर्दैन ।

यता राप्रपा नेपालको साथ पाएकाले एमालेले सत्ता गठबन्धनलाई कडा टक्कर दिने अड्कल गरिएको छ । हेटौंडामा राप्रपा नेपालले आफ्नो पार्टी नेता, कार्यकर्ता र समर्थकहरुलाई एमालेको सूर्य चिन्हमा मतदान गर्न आह्वान गरिसकेको छ । हेटौंडा राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृह जिल्ला हो । त्यसैले हेटौंडामा राजेन्द्र लिङ्देनको राष्ट्रिय प्रजातन्त्र पार्टीभन्दा राप्रपा नेपाल बलियो रहेको अनुमान गरिएको छ । यस आधारमा एमालेले पार्टी विभाजित भएर एकीकृत समाजवादीतर्फ गएको मत राप्रपा नेपालबाट पूर्ति गर्ने सम्भावना बढेको छ ।

तर राप्रपाका प्रभावशाली नेता दीपक सिंहले मेयरमा उम्मेदवारी दिएकाले राप्रपा नेपालको धेरै भोटसमेत उनैलाई आउने राप्रपाका स्थानीय नेताहरु बताउँछन् । यसले हेटौंडामा एमालेभन्दा सत्ता गठबन्धनलाई फाइदा पुग्ने उनीहरुको भनाइ छ ।

सत्ता गठबन्धनमा कांग्रेसले मेयर नपाउनु र जसपा गठबन्धनबाट बाहिरिनुले एमालेका उम्मेदवार पौडेललाई सहज हुने बताउनेहरु पनि कम छैनन् । कांग्रेसभित्र असन्तुष्ट समूहले गठबन्धन उम्मेदवारलाई अस्वीकार गर्ने बताएका छन् । यी मतदाताहरुले आफ्ना उम्मेदवारहरुलाई मत दिने एमाले नेताहरुको विश्वास छ ।

पाँच वर्षको बीचमा धेरै परिवर्तन आइसकेकाले हेटौंडामा यस पटकको स्थानीय तह निर्वाचनमा कडा प्रतिस्पर्धा हुने स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर