प्रदेश १ : ७४ मा जितेका १०५ जनाले दोहोर्‍याएर पाए टिकट – Nepal Press

प्रदेश १ : ७४ मा जितेका १०५ जनाले दोहोर्‍याएर पाए टिकट

सबैभन्दा बढी भोजपुरमा १३ जना

विराटनगर । प्रदेश १ का कुल १३७ स्थानीय तहमध्ये मुख्य पदमा १०५ जनाले पुन: टिकट पाएका छन् । सबैभन्दा बढी भोजपुरमा १३ जना पुन: चुनावी मैदानमा छन् ।

यस प्रदेशमा एक महानगरपालिका, २ उपमहानगर, ४५ नगरपालिका ८९ वटा गाउँपालिका छन् । यीमध्ये झापामा मेयर उपमेयरमा पुन: टिकट पाउनेमा ८ जना छन् । इलाममा ९ जनाले पुनः प्रमुख तथा उपप्रमुखमा टिकट पाउँदा पाँचथरमा दुईजनाले दोहोर्‍याएर मनोनयन दर्ता गरेका छन् ।

ताप्लेजुङ ८ जनाले दोहोर्‍याउँदा, धनकुटामा ६ जनाले प्रमुख र उपप्रमुखमा दोहोर्‍याउने अवसर पाएका छन् । संखुवासभामा ४ जनाले पुन प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमा टिकटक पाउँदा सोलुखुम्बुमा ११ जना उत्रिएका छन् ।

यसै गरी ओखलढुंगामा ६ जना, खोटाङमा ११, सुनसरीमा ८, मोरङमा ६ र उदयपुरमा ५ जनाले दोहोर्‍याउँदै उम्मेदवारी दिएका छन् ।

धरान उपमहानगरकी उपमेयर रहेकी मञ्जुले यसपाली मेयरको टिकट पाएकी छन् । इटहरीमा भने मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतम रिङआउट भएका छन् । यहाँ यामकुमार सुब्बाको इन्ट्री भएको छ ।

एक मात्र महानगर विराटनगरको मेयर उपमेयरमा पनि बहालवालाले टिकट पाएनन् । कांग्रेसबाट जितेका भीम पराजुली र इन्दिरा कार्कीको ठाउँमा अहिले गठबन्धनबाट कांग्रेसकै नागेश कोइराला मेयर र जसपाका अमरेन्द्र यादवले उपमेयरको टिकट पाएका छन् ।

धेरैजसो ठाउँमा सत्तारुढ गठबन्धनको भागबण्डाका कारण पनि नदोहोरिएका बताइएको छ ।

प्रदेश १ मा ६ हजार ५९ पदको लागि २२ हजार ५ सय ४२ जनाले मनोनयन दर्ता गराएका छन् ।

आयोगको मंगलबार साँझसम्मको अद्यावधिक विवरण अनुसार महानगर, उपमहानगर र नगरपालिकाको प्रमुखमा ४ सय २५ र उपप्रमुखमा ३ सय १८ जनाले उम्मेदवारी दिएका छन् । यस्तै गाउँपालिका अध्यक्षमा ४ सय ९१ र उपाध्यक्षमा ३ सय १८ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

५ हजार १ सय ४० जनाले वडाध्यक्ष, ३ हजार ९ सय १५ महिला सदस्य, ३ हजार ५ सय १२ दलित महिला सदस्य र ८ हजार ४ सय ४८ जनाको खुल्ला सदस्यमा उम्मेदवारी परेको छ ।

यस प्रदेशमा ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता छन् । जसमध्ये १६ लाख ९९ हजार ८ सय पुरुष, १६ लाख ४७ हजार ५ सय ६१ जना महिला र २३ जना अन्य मतदाता रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर