एक लाख ४७ हजार बढी उम्मेदवारबाट कति उठ्यो धरौटी ? – Nepal Press

एक लाख ४७ हजार बढी उम्मेदवारबाट कति उठ्यो धरौटी ?

काठमाडौं । देश स्थानीय तह निर्वाचनमा होमिएको छ । यही बैशाख ३० गते निर्वाचन हुँदै छ । बैशाख ११ र १२ गते भएको उम्मेदवारी मनोनयनको तथ्यांक आउन थालेको छ । देशैभर ७५३ स्थानीय तह रहेका छन् ।

उम्मेदवारको मनोनयन दर्ता सकिए पनि देशैभरबाट निर्वाचन आयोगलाई पूर्ण विवरण प्राप्त भइसकेको छैन । अहिलेसम्म १ लाख ४७ हजार २७४ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले अघिल्लो स्थानीय निर्वाचनमा १ लाख ५० हजारको हाराहारीमा उम्मेदवारी परेको बताए ।
उनले भने, ‘यसअघि भएको स्थानीय तह निर्वाचनमा करिब १ लाख ५० हजारले उम्मेदवारी दिएका थिए । अहिले पनि त्यस्तै हुने अनुमान छ । विभिन्न कारणले सबै उम्मेदवारको सूची आयोगमा आइपुगेको छैन । कुनै ठाउँमा निर्वाचन आयोगले नै बाधा फुकाउन पर्ने हुन्छ । त्यस्तो ठाउँमा हामीले नै बाधा फुकाउने हो ।’

केही जिल्लामा मनोनयन भए पनि निर्वाचन आयोगको सफ्वेयरमा लोड हुन सकेको छैन । सबै तथ्यांक आउँदा करिब १ लाख ५० हजार हुने अनुमान आयोगको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६३ मा १५ सय रुपैयाँ धरौटी राखेर उम्मेदवारी दिनुपर्ने व्यवस्था छ । तर, महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा अर्थिक रुपले विपन्न व्यक्तिले ७५० रुपैयाँमात्रै धरौटी राखे पुग्छ ।

गाउँपालिकाको अध्यक्ष, मेयर र उपमेयरले उम्मेदवारी दिन १ हजार ५ सय धरौटी राखुपर्ने व्यवस्था छ । वडा अध्यक्षले १ हजार र सदस्यले ५ सय धरौटी राख्नुपर्छ । वडामा महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा अर्थिक रुपले विपन्न व्यक्तिले ५ सय र वडा सदस्यमा २५० रुपैयाँ धरौटी राखे पुग्ने व्यवस्था छ ।

आयोगमा प्राप्त विवरणअनुसार देशभर मेयरमा ३ हजार ४३० जनाको उम्मेदवारी दिएका छन् । जसअनुसार मेयर उम्मेदवारीबाट ५१ लाख ४५ हजार रुपैयाँ धरौटी रकम आएको आयोगले जनाएको छ । उपमेयरमा उम्मेदवारी दिने २ हजार ७९ जनाबाट ३१ लाख ४५ हजार ५ सय रुपैयाँ धरौटी जम्मा भएको छ ।

त्यस्तै ३ हजार ३६३ जनाले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएको तथ्यांक आयोगमा आइपुगेको छ । अध्यक्षको उम्मेदवारीवापत ५० लाख ४४ हजार ५ सय रुपैयाँ धरौटी रकम जम्मा भएको छ ।

त्यस्तै, गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिएका ३ हजार २८२ जनाबाट ३५ लाख ७३ हजार रुपैयाँ उठेको छ ।

वडा अध्यक्षमा ३४ हजार ३५७ जनाले उम्मेदवारी दिएका छन् । जसबाट ३ करोड ४३ लाख ५७ हजार रुपैयाँ धरौटी जम्मा भएको छ ।
महिला वडा सदस्यमा उम्मेदवारी दिएका २५ हजार ३२४ जनाबाट एक करोड २६ लाख ७२ हजार ५ सय रुपैयाँ जम्मा भएको आयोगले जनाएको छ ।

दलित महिला वडा सदस्यमा उम्मेदवारी दिएका २२ हजार ८९९ जनाबाट ५७ लाख २४ हजार ७५० रुपैयाँ उठेको छ । खुला सदस्यतर्फ उम्मेदवारी दिएका ५३ हजार ४०१ जनाले धरौटीवापत २ करोड ६७ लाख ५०० रुपैयाँ धरौटी बुझाएका छन् ।

पालिकामा उम्मेदवारी दिएकाहरुबाट २० करोड ८७ लाख ३३ हजार ७५० रुपैयाँ धरौटी रकम जम्मा भएको आयोगले जनाएको छ । आयोगको प्रारम्भिक तथ्यांकअनुसार १ लाख ४७ हजार २७४ जनाले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

स्थानीय तह निर्वाचनमा उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसके धरौटी जफत हुन्छ । १० प्रतिशतभन्दा बढी मत ल्याउने र निर्वाचित उम्मेदवारले धरौटी रकम फिर्ता पाउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर