एमालेले चुनाव जितिसक्यो, गठबन्धन बालुवा र तासको घरः उपाध्यक्ष पौडेल (भिडिओ) – Nepal Press

एमालेले चुनाव जितिसक्यो, गठबन्धन बालुवा र तासको घरः उपाध्यक्ष पौडेल (भिडिओ)

'टिकट पाइएन भनेर असन्तुष्ट हुने छुट एमाले कार्यकर्तालाई छैन'

बुटवल । एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको संज्ञा दिएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले बालुवा र तासको घरजस्तै चुनावमा गठबन्धन पनि भताभुंग हुने टिप्पणी गरे ।

‘एमालेका निम्ति गठबन्धन केही होइन, केपी ओली र एमालेप्रतिको बढ्दो आकर्षणले एमालेले चुनाव जितिसकेको छ,’ पौडेलले भने ।

उनले एमाले नेतृत्वमा रहँदा संघ, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा काम र आगामी योजना बनाएर चुनावमा मत माग्न जान पनि कार्यकर्तालाई निर्देशन दिए । उनले टिकट वितरणलाई लिएर असन्तुष्टि व्यक्त गर्ने छुट एमालेका कुनै कार्यकर्तालाई नभएको बताए ।

‘कोही व्यक्ति असन्तुष्टिको नाममा चुनावमा खटिँदैन, पार्टीलाई हराउन लाग्छ भने त्यो उसको निम्ति ठूलो भूल हुनेछ, पार्टीका अगाडि व्यक्ति केही होइन,’ उनले भने । उपाध्यक्ष पौडेलले चुनावमा टिकट पाउनका लागि मात्रै राजनीति नभएको बताए ।

‘टिकट पाउनका लागि मात्रै राजनीति गर्नेहरू एमाले हुनै सक्दैनन्,’ उनले भने ।

एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज लीला गिरीले सरकारमा रहँदा गरेको राम्रा कामका कारण जनतामा एमालेप्रतिको आकर्षण बढेको बताए ।

अर्का पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज दधिराम न्यौपानेले मार्क्सवाद र साम्यवादको झोला बोकेर रुखमा भोट हाल्दै समाजवादमा पुग्छौं भन्नेहरूको सपना तुहिन लागेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर