बुटवल उपमहानगर : गठबन्धनको टेकोमा खेलराजले भत्काउलान् एमालेको किल्ला ? – Nepal Press

बुटवल उपमहानगर : गठबन्धनको टेकोमा खेलराजले भत्काउलान् एमालेको किल्ला ?

रुपन्देही । नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणको गृहनगरमा पार्टीभित्र खाँणविरोधी मोर्चाको नेतृत्व गरेर निरन्तर पार्टी मोर्चामा खटिएर बलियो नेताको पहिचान बनाएका व्यक्ति हुन् खेलराज पाण्डे । खाण समूहले नचाहँदानचाहँदै पनि अहिले संस्थापनइतर समूहलाई बुटवलमा बलियो बनाएका छन् पाण्डेले ।

नेपाली कांग्रेसको बुटवल नगर सभापतिमा तेस्रो कार्यकाल सम्हालेका नेता पाण्डे एमालेले लालकिल्ला भनिरहेको बुटवलको विरासत भत्काउन सत्तारुढ पाँच दलको टेकोमा दोस्रो प्रयास थालेका छन् ।

अघिल्लो निर्वाचनमा एमालेका जिल्ला अध्यक्ष शिवराज सुवेदीसँग प्रतिस्पर्धा गरेर राम्रो मत ल्याएपछि उनको चर्चा अझै चुलिएको छ । सुवेदी २३ हजार २४९ मत ल्याएर बुटवलको नगर प्रमुखमा निर्वाचित हुँदा पाण्डेले २० हजार ८५१ मत ल्याएका थिए । त्यतिबेलासम्म नेपाली कांग्रेसको दोस्रो पटक बुटवल नगर सभापतिको भूमिका निभाइरहेका पाण्डेले नगर प्रमुखमा पराजित भए पनि निर्वाचित भएकाहरूलाई फूल मालासहित बधाई दिएर राजनीतिक संस्कार प्रदर्शन गरेका थिए ।

सामान्य जीवनशैली अपनाउने, हरेक पार्टी निकट व्यक्तिको सुखदुःखमा साथ दिने र राजनीतिबाहेक अन्य पेशा नबनाएका सादगी नेताको पहिचान बनाएका पाण्डेले पार्टीभित्र र बाहिर धेरैको मन जित्ने प्रयास जारी राखेका छन् । अघिल्लो पटक बलियो रहेको नेकपा माओवादी, जनमुक्ति र एमालेभित्रै असन्तुष्ट रहेकाहरुको राम्रै मत बटुल्न सफल पाण्डेमा अहिले सहयोगी दल थप भएपछि हौसला बढेको देखिन्छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनको साझा उम्मेदवार पाण्डेले अघिल्लो पटक उपमेयरमा माओवादीका जगत पोखरेललाई पाएका थिए । यसपटक नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङ उपमेयर उम्मेदवारमा छन् ।

पाण्डेले यस पटक उनको जन्मस्थल स्याङजा कालीगण्डकीबाट बुटवलमा स्थापित एमालेका बाबुराम भट्टराईसँग प्रतिस्पर्धा गर्दैछन् ।
बुबा लीलावल्लभ पाण्डेसहित २०३८ सालदेखि बुटवलमा झरेका पाण्डेको पहिचान स्थानीयसँग घुलमिल सबैभन्दा बलियो पक्ष हो ।

स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेको अवस्थामा पनि पाण्डेले कांग्रेसबाट बुटवल उपमहानगरपालिकाको राजनीतिक संयन्त्रमा रहेर धेरै समय बिताएका छन् । सामान्य जीवनशैली, प्रस्ट तर प्रतिपक्षीहरुका बारेमा खरो प्रतिक्रिया दिने उनको स्वभाव छ ।

२०३८ सालमा बुटवलबाट पार्टी राजनीति सुरू गरेका पाण्डेले स्याङ्जामा रहँदा विद्यार्थी राजनीतिमा आवद्ध थिए । २०२६ साल फागुन ५ गते स्याङ्जाको साविक आलमदेवी २ हाल कालीगण्डकी २ मा जन्मिएका हुन् पाण्डे । हाल बुटवल उपमहानगरपालिका– ८ सुख्खानगरमा बस्दै आएका पाण्डेका जन्मिएका पाण्डेका बुवा लीलाबल्लभ र आमा तारादेवी हुन् ।

उनले आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका थिए । २०४० सालमा पाल्पाको जेभिटी स्कुलको नेविसंघ समितिमा आबद्ध भएका उनी २०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा विज्ञान संकायको इकाई सदस्य बने । पाण्डे २०४४ सालमा काठमाडौंको अमृत साइन्स क्याम्पसमा नेविसंघको सचिव, २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव भए ।

विद्यार्थी राजनीतिपछि तरूण दलमा आबद्ध पाण्डे २०५९ सालमा नेपाल तरूण दल रूपन्देहीको अध्यक्ष भएका थिए । २०६० सालमा नेपाल तरूण दल केन्द्रीय सदस्य र २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति बने ।

२०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट पाण्डे निरन्तर कांग्रेस बुटवल नगर सभापतिको जिम्मेवारीमा छन् । स्नातक तहसम्म अध्ययन गरेका पाण्डेका श्रीमती सीता भट्टराई र छोरा अभिषेक छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर