सरस्वती चौधरी- मधेसका महानगर र उपमहानगरमा एकमात्र महिला मेयर उम्मेदवार (भिडिओ) – Nepal Press

सरस्वती चौधरी- मधेसका महानगर र उपमहानगरमा एकमात्र महिला मेयर उम्मेदवार (भिडिओ)

‘विपक्षीले पहिले नै हार मानेर गठबन्धन गरे, उपमेयर हुँदाको काम मेरो जितको आधार’

सिमरा । ५ वर्षअघि शिक्षकको जागिर छाडेर जितपुर सिमरा उपमहानगरपालिकाको उम्मेदवार बन्दा सरस्वती चौधरीसँग राजनीति र प्रशासनिक कुनै अनुभव थिएन ।

थारु समुदायकी युवा महिला सरस्वतीलाई एमालेले जातीय र भेगीय सन्तुलन मिलाउन शिक्षकबाट राजीनामा गराएर उपमेयरको उम्मेदवार बनाएको थियो । मेयरका उम्मेदवार डा. कृष्ण पौडेल जति चर्चामा थिए उनको चर्चा चाहिँ चुनाव जितेपछि मात्र भयो ।

पाँच वर्षपछि सरस्वतीको भूमिकामात्र फेरिएको छैन, जिम्मेवारी पनि अझ माथि पुगेको छ । मधेस प्रदेशका तीनवटा उपमहानगरपालिका र एउटा महानगरपालिकामध्ये मेयरको उम्मेदवार बन्ने एकमात्र महिला बनेकी छन् सरस्वती चौधरी । मधेसमा महिलालाई नेतृत्वमा स्वीकार गर्न सकस भइरहेका बेला सरस्वतीको उम्मेदवारी आम मधेसी महिलाका लागि अवसर बनेको छ ।

पाँच वर्षको बीचमा सरस्वतीले कामबाट जनताको मन जितिन् कि जित्न सकिनन् भन्ने त चुनावी परिणामपछि मात्रै थाहा हुन्छ । तर, उनको बारेमा जितपुर सिमराका जनताले अहिलेसम्म नकारात्मक टिप्पणी गरेका छैनन्, बरु उपमेयरको रुपमा उनले आफ्नो नेतृत्व क्षमतासँगै जिम्मेवारी पनि परिपक्व बनाएको भनिरहेका छन् ।

उपमेयर जित्दै गर्दा सामान्य शिक्षिकाको भूमिकामा रहेकी सरस्वती अहिले मुलुककै सबैभन्दा ठूलो दल नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यको हैसियतमा पुगेकी छन् । न्यायिक समितिको प्रमुख समेत भएर उपमेयरको भूमिकामा उनले विशेषगरी मधेसका महिलालाई न्याय दिलाउन भूमिका निर्वाह गरिन् । आधाभन्दा बढी महिला मतदाताबीच उनको यो भूमिका अहिले चर्चामा छ ।

अघिल्लोपटक उनी नयाँ थिइन् तर चुनाव त्रिपक्षीय थियो । यसपटक उनी अनुभवी भइन् चुनावपनि चुनौतिपूर्ण छ । पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेदवार बनेका माओवादीका राजन पौडेल यसअघि तेस्रो भएका थिए । यसपटक चौधरी र पौडेलबीच मुख्य प्रतिस्पर्धा छ ।

उपमेयरमा एमालेबाट साबिकको पिपरा गाविसमा दुईपटक अध्यक्ष निर्वाचित भएका लोकप्रिय नेता भोला अधिकारी छन् भने गठबन्धनबाट कांग्रेसको विद्यार्थी नेतृ मेघा शाही उम्मेदवार छिन् । मेयर र उपमेयरमा गठबन्धन गरेका दलहरु वडा तहमा भने एक्ला एक्लै लड्दैछन् । कांग्रेसमा मेयर माओवादीलाई दिइएकोमा असन्तुष्टि छ ।

अघिल्लो कार्यकाल सरस्वतीका लागि चुनौतीपूर्ण रह्यो । मेयरको कमजोर निर्णय क्षमता र कार्यपालिकामा बहुमत विपक्षीको हुँदा पनि उनले मेयरको भन्दा राम्रो नेतृत्वदायी भूमिका निर्वाह गरिन् । करीव १५ वर्षको शिक्षण पेशा र ५ वर्षको उपमेयरको भूमिकाले उनलाई परिपक्व नेताका रुपमा जनतामा स्थापित गर्न भने सफल भएको छ ।

कोरोना संक्रमणको पहिलो लहरका बेला कोही बाहिर निस्कन नसक्दा उपमेयर चौधरी आफैं फ्रन्टलाइनमा उत्रे उद्धार, राहत तथा घरघरमा स्वास्थ्य सामग्री पुर्याउन जान्थिन् । उनको त्यो भूमिका पनि अहिले उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्दै गर्दा मतदाताले स्मरण गरेका छन् । थारु र मधेसी समुदायको सघन बसोबास रहेको ठाउँमा त्यो समुदायबाट सरस्वतीमात्र उम्मेदवार बनेको फाइदा पनि एमालेले लिन खोजेका छ ।

के भन्छिन् सरस्वती ?

२०७४ सालमा म उपमेयर निर्वाचित हुँदा अनुभव थिएन । पहिलो उपमहानगरपालिका र पहिलो जनप्रतिनिधिका रुपमा जे जति काम गर्न सकियो त्यसको अनुभवले आज मलाई कन्फिडेन्स बढाएको छ । आज म आफैं निर्णय गर्न सक्ने भएकी छु ।

सुशासनसहितको उमहानगर नगरपालिका बनाउँछु । जितपुर सिमराको विकासको जग बसाएका छौं,अब म आफैं यसको नेतृत्व गरेर हराभरा र राम्रो नगर बनाउँछु । पुर्वाधार विकासको सन्दर्भमा मैले धेरै कुरा सिकेँ,अब विज्ञहरूसहितको टिम बनाएर काम गर्ने हो ।

यहाँ मधेसका महिलाहरू अधिकारविहीन छन् । मेरो उम्मेदवारी महिलाको सबलीकरण र सशक्तिकरणको लागि पनि हो । अरु कुनै पार्टीले मधेसमा महिलालाई प्रमुख पदको उम्मेदवार नै बनाउँदैनन् । नेकपा एमालेले महिलालाई नेतृत्वमा ल्याउँन चाहेको छ ।

सुशासन र पारदर्शिताको सन्दर्भमा महिलाको नेतृत्व आवश्यक छ । मेरोबारेमा नगरबासीलाई थाहा छ । मैले चुनौतिलाई अवसरमा बदल्न सक्छु भन्ने विश्वास छ । उपमेयर कस्तो काम गर्ने मान्छे भन्ने थाहा छ । महिला भएर पनि पुरुष बराबर काम गर्न सक्छ भन्ने स्थापित गर्नुछ ।

अहिले हाम्रो पार्टीविरुद्ध पाँच वटा दलको गठबन्धनबाट उम्मेदवार बन्नुभएको छ । गठबन्धन उहाँहरुका आफ्नो नीति र सिद्धान्तविपरित हामीलाई हराउनमा बनेको होला तर एमाले एक्लै लड्न तयार छ र सक्षम छ । निर्वाचनमा हारजित आफ्नो ठाउँमा छ तर पहिले नै हार मानेर गठबन्धन गर्नु भनेको पराजय स्वीकार गरिसकेको हो ।

हिजो दुई नम्बर सिटमा बसेर जे जति काम गरेँ अब एक नम्बर सिटमा बसेर पूरा गर्न मलाई जनताले जिताउनेछन् भन्ने विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर