भारतले बिजुली नदिएपछि उद्योगमा औपचारिक लोडसेडिङ, कुलमान भन्छन्- केही दिनमै समाधान हुन्छ – Nepal Press

भारतले बिजुली नदिएपछि उद्योगमा औपचारिक लोडसेडिङ, कुलमान भन्छन्- केही दिनमै समाधान हुन्छ

काठमाडौं । भारतबाट माग बमोजिम आपूर्ति नभएपछि नेपाल विद्युत् प्राधिकरणले फेरि उद्योगहरूमा बिजुली कटौती गर्न थालेको छ । बुधवारदेखि प्राधिकरणले पूर्व जानकारी दिएरै बिजुली काट्ने भएको हो ।

रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय स्तरमै विद्युतको संकट पैदा भएपछि भारतले एक महिनादेखि भारतले नेपाललाई मागबमोजिम बिजुली दिएको छैन ।

पछिल्लो दुई दिन प्राधिकरणले बाध्य भएर रातको समयमा उद्योगको बिजुली कटौती गर्न थालेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

‘एक दुई दिनदेखि अलिकति समस्या आएको,’ उनले भने, ‘हामीले ५ सय मेगावाटका लागि बिड गर्दा ७० देखि १०० मेगावाट मात्रै पाएका छौँ । भारतकै थुप्रै राज्यहरूमा विद्युत् अभावले १४–१५ घण्टा लोडसेडिङ हुन थालेको छ ।’

नेपाललाई अहिले ३ सय मेगावाट बिजुली अपुग रहेको उनले बताए । अहिलेको समस्या बढीमा एक महिना मात्रै रहने उनको भनाइ छ ।

‘हाम्रो डिमान्ड बढ्यो र अलिकति जेनेरेसन पनि घट्यो,’ उनले भने, ‘एक महिनापछि हाम्रो आफ्नै आपूर्ति पर्याप्त हुन्छ, भारतबाट खरिद गरिरहनु पर्दैन ।’

घिसिङका अनुसार पछिल्ला दिनमा विहारबाट दिउसो साढे दुई सय मेगावाट जति बिजुली नेपाललाई बेचिरहेको थियो । हिजोबाट विहारले पनि बेच्न छोडेपछि प्राधिकरण समस्यामा परेको हो ।

‘हामी कसरी हुन्छ मिलाउँदै छौँ, चाँडै नै समाधान हुन्छ,’ उनले भने, ‘एक महिनासम्मका लागि सबै खाले उपायहरू लगाउनेछौँ ।’

विहारले भोलिसम्म फेरि रिभ्यू गर्ने बताएको घिसिङले जानकारी दिए । विहारले नदिएको खण्डमा प्राधिकरणलाई आपूर्ति व्यवस्थापनमा कठिनाइ हुने उनको भनाइ छ ।

प्राधिकरणले अहिले उद्योगहरूलाई दिउँसो आलोपालो बिजुली दिन थालेको छ । राति कति यति नै घण्टा काटिने भन्ने छैन ।

हरेक दिन भारतबाट खरिद हुने परिमाण निश्चित भएसँगै प्राधिकरणले सूचना निकालेर कति घण्टा बिजुली काटिन्छ भनेर उद्योगहरूलाई पूर्वा जानकारी गराउने भएको छ ।

नेपालले अहिले १२ आइसीमा भारतबाट बिजुली किनिरहेको छ । यो प्रचलित भाउभन्दा दोब्बर हो । १२ आइसीमा बिजुली किनेर बेच्दा प्राधिकरणलाई दैनिक करोडौँ नोक्सानी भइरहेको छ । खरिद मूल्यभन्दा विक्री मूल्य दोब्बर रहेको घिसिङले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर