पल्पसा क्याफे : भव्य सेटमा मध्यम वर्गीय उवाचहरु
स्थानीय चुनावको रनाहमा छन् राजनीतिक पार्टी, नेता, कार्यकर्ताहरू । चर्का अनि अत्यास लाग्दा घोषणापत्र, एक अर्काप्रतिको छेडखानी, नेता कार्यकर्ताको तानातान र तथानाम हर्कतले सामाजिक सञ्जालदेखि पत्रिकाका पन्नाहरू भरिएका छन् । अनलाइनका साइटदेखि छापाखानाका पर्चा–कागजहरू रंगीन बनेका छन् । जनताको साँघुरो आँगनदेखि सडकको चौडा प्राङ्गणसम्म कोणसभामा परिणत भइसकेको छ ।
चुनावले तातेको यी दृश्यहरू बिचमा काठमाडौंमा अर्को दृश्य पनि उत्तिकै गुलजार देखिन्छ । बानेश्वरको थापागाउँस्थित मण्डला थिएटरमा नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’ मञ्चन भइरहेको छ । टेकुस्थित कौसी थिएटरमा नयनराज पाण्डेको उपन्यासमा आधारित नाटक ‘उलार’ मञ्चन भइरहेको छ । सिनामंगलस्थित पुरानो घरमा ‘खत’ मञ्चन भइरहेको छ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा ‘एस्फिक्सिया’ मञ्चन भइरहेको छ ।
कोभिडले थलिएको रङ्गमञ्चलाई कलापारखीहरुले पुनः ब्युँताइदिएका छन् । केही समयअघि कीर्तिपुरस्थित थिएटर मलमा केदार श्रेष्ठ र अन्जान प्रदीपले बहुचर्चित उपन्यास ‘शिरीषको फूल’माथि नाटक मञ्चन गरे । यसपछि यो टोली देश दौडाहामा निस्किएको छ । अहिले काठमाडौंको दुई स्टेजमा दुई ब्लकबस्टर उपन्यास ‘उलार’ र ‘पल्पसा क्याफे’माथि बनेका नाटक मञ्चन भइरहेका छन् ।
बहुचर्चित उपन्यासहरूको फेर समातेर उठ्न खोजेको छ रङ्गमञ्च । डेढ दशक, दुई दशक, पाँच दशक पुराना कथाहरू टिपेर जुरमुराएको छ रङ्गमञ्च । खैर, नयाँ कथा र विषयवस्तुको खडेरी परेरै रंगकर्मीले पुराना बहुचर्चित पुस्तकको पयर समातेका हुन सक्छन् ।
यस्ता चर्चित पुस्तकका पाठक भइहाल्छन्, चर्चित पुस्तक भएपछि दर्शकको ध्यान पनि आकृष्ट भइजान्छ । रंगकर्मीको गुनासो पनि सुनिन्छ, ‘नयाँ कथा लेख्ने लेखक नै छैनन् ।’ यसै उसै जे भनिए पनि पुरानै पुस्तकको सहाराले रङ्गमञ्चमा रंगकर्मीको अटेन्डेन्स भइरहेकै छ । उनीहरू अहिलेसम्म गयल भइसकेका छैनन् ।
मण्डलामा मञ्चन भइरहेको वाग्लेकृत उपन्यास ‘पल्पसा क्याफे’ पछिल्ला दशकमा पाठकको औधी माया पाएको नेपाली उपन्यास हुँदै हो । सुन्दर शब्द शिल्पीमा कुँदिएको उपन्यासलाई पाठकले डेढ दशकपछि पनि मन पराइरहेका छन् । यही उपन्यासलाई सुरज सुवेदीले नाट्य रूपान्तरण गरिदिए । विमल सुवेदीले निर्देशन गरे । निर्देशक सुवेदी, सृष्टि श्रेष्ठ, संगीता थापा, दिपेश राई, बच्चु हिमांशु लगायत कलाकारले अभिनय गरे ।
भव्य सेटमा निर्माण भएको नाटक जनयुद्धको भेल छेउछाउ बगेर सकिएको छ । जनयुद्धको भेलमा कोको समाहित भए, कोको किनारमा रहे, क–कसले उक्त परिवर्तनकारी भेललाई परैबाट हेरे अनि कोको त्यही भेलमा बगेर गए, अहिले डेढ दशकपछि पनि समीक्षा भइरहेकै छ ।
कवि श्रवण मुकारुङको कविता ‘ल्याम्पपोस्टमुनि आगो तापिरहेछन् नानीहरू’बाट सुरु भएको नाटक बन्दुकको नालमा आँखालाई राखेर हिँडेका क्रान्तिकारी योद्धाहरूसम्म पुग्छ । रातो धागोले जेलिएकी हजुरआमा अन्तमा सेतो धागोमा उनिन्छिन् । रातै पल्पसाको रङ बिस्तारै गायब पारिँदै जान्छ । छापामार झैँ देखिने पेन्टर दृश्यको कुची रङको बट्टामा होइन, जनयुद्धमा उजाडिएको मानवीयतामा चोबलिन्छ । स्कुल हिँड्नुपर्ने नानीको हातमा बन्दुक थमाइन्छ । अनि क्रान्तिमा होमिइन बाध्य बनाइन्छ ।
गोवामा रुमानी र विलासी गफ छाँट्ने पात्रहरूको आँखाबाट देखिने जनयुद्ध कस्तो होला ? शताब्दीदेखि उत्पीडनमा परेकाहरू भूइँमान्छेहरुलाई ती रुमानी आँखाहरूले कस्ता देख्लान् ? युद्धमा होमिएका आम जनताका अघिल्तिर अमेरिकाबाट फिरेकी डकुमेन्ट्री मेकर पल्पसा र सहरको चित्र बनाइबस्ने दृश्यको प्रेमकथा कस्तो देखिएला ? भव्य सेटमा तयार पारिएको नाटकले यिनै सवालहरूले उत्तर दिन्छ ।
उत्कृष्ट विम्बहरूको प्रयोगले नाटकलाई कलात्मक बनाएको छ । लाइटहरूले दर्शकलाई पात्रको नजिक पुर्याइरहन्छ । ब्याकग्राउण्ड स्कोरमा हलिउडी फिल दिने ध्वनिले हलिउड तिरै लगिरहन्छ, रुकुम रोल्पातिर लाँदैन । पेन्टर गाउँतिर जान्छ, तर गाउँ पुगेको फिल हुँदैन । दृश्यले गाउँमा सानी बालिकालाई भेटेको दृश्यमा पनि सहरकै कुनै गल्लीको क्याफेमा बसेर पश्चिमेली संगीतमा चुरोटको धुवाँ उडाइरहेजस्तै लाग्छ ।
एक सानी बालिकालाई माओवादीले जबरजस्ती उठाएर लगेको छ । हो, सेना समायोजनको समयमा पनि बाल सैनिकको विषय उठेको थियो । तर, यसरी कम उमेरमै सेना, प्रहरीमा भर्ती गराइएकाहरू पनि कम थिएनन् त्यस वेला । तर, राज्यले गरेका हर्कतलाई नाटकले पारदर्शी पछ्यौराले छोपिदिएको छ ।
सानी बालिकालाई पिताबाट खोसेर माओवादीले लगेको दृश्यले माओवादी जनयुद्ध गलत सिवाय केही थिएन भन्छ । तर्क गरेर जनतालाई जागृत गराउने सिद्धार्थलाई सालिक बनाइएको छ । के माओवादी जनयुद्ध यति विद्रुप थियो त ? नाटकले सवाल गर्ने ठाउँहरू प्रशस्त दिएको छ ।
जनयुद्धमा बेपत्ता पारिएका, छोराछोरी गुमाएकाहरूमाथि दृश्यको अनावश्यक भावुकता छ । दृश्य भावुक हुँदै गर्दा जनयुद्धले उठाएको मुद्दा, स्वतःस्फूर्त युद्धमा होमिएकाहरूको जोश, उमंग र परिवर्तनप्रतिको दृढतालाई नजरअन्दाज गरेको छ ।
दृश्यले मध्यम वर्गीय वर्गको प्रतिनिधित्व गज्जबले गरेका छन् । साथमा अनपढ हजुरआमाकी पढेलेखेकी अमेरिकीबासी नातिनीले पनि मध्यम वर्गीय आचरण र स्वभावलाई न्यायपूर्ण तवरले पकडिएकी छन् ।
नाटकको अन्तिमसम्म आइपुग्दा दृश्य हिप्पीजस्तै लाग्छन् । तर, कहाँ ती हिप्पीहरू, कहाँका यी दृश्य ! जनयुद्धको उत्कर्षको वेला हिप्पीजस्तो हुने, रुमानी जीवन बाँच्ने सुविधा युगौँदेखि अन्यायमा पारिएकाहरूलाई थिएन । उनीहरूसँग परिवर्तनको पक्षमा वा सामन्तवादको पक्षमा बन्दुक बोक्नुपर्ने बाहेक विकल्प नै थिएन ।
मोनालिसा कि ‘टाइटानिक’को केट विन्सलेट बन्ने ? अनि रुमानी प्रेम कसले गर्ने ? रुमानी संवादहरू कसले छाँट्ने ? युगौँदेखि राज्यद्वारा अन्यायमा पारिएका वर्गलाई यो सुविधा थिएन । यो सुविधा मध्यम वर्गलाई थियो, उच्च वर्गलाई थियो । परिवर्तन नचाहनेहरूलाई थियो ।
जनयुद्धको समीक्षा अझैँ सकिएका छैनन् । भोलिका दिनमा पनि हुँदै जानेछन् । जनयुद्धको नेतृत्व गरेकाहरू कसरी भ्रष्टीकरण हुँदै गए, प्रश्नोत्तर बाँकी नै छन् । जनयुद्धमा विद्रोही पक्ष र राज्य पक्षबाट भएका अमानवीय हत्कण्डाहरुको समीक्षा जरुरी नै छ । तर, जनयुद्धकै जगमा दोस्रो जनआन्दोलन भएको तथ्य र सत्यलाई नकार्न मिल्दैन । दोस्रो जनआन्दोलनले स्थापित गरेको मुद्दाहरूलाई नजरअन्दाज गर्न मिल्दैन ।
समग्रमा नाटकको सुन्दर सेटिङमा कलाकारको अभिनयले लोभ्याउँछ । करिब दुई घण्टा दर्शकलाई अड्याएर राखिदिन्छ । जनयुद्धको छेउछेउ भएर अगाडि बढेको नाटकले त्यस वेलाको मध्यम वर्गको चित्रलाई राम्रोसँग न्याय गरेको छ, जनयुद्धलाई होइन ।