उपमेयर खड्गीको आत्मसमीक्षाः मेयरबाट असहयोग भयो, तर पनि सफल भएँ – Nepal Press
नेपाल टक

उपमेयर खड्गीको आत्मसमीक्षाः मेयरबाट असहयोग भयो, तर पनि सफल भएँ

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी आसन्न स्थानीय चुनावमा मेयरकी आकांक्षी थिइन् । तर, पार्टीले उनलाई टिकट दिएन ।

कांग्रेसले नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई मेयरको उम्मेदवार बनाएको छ । यसमा उपमेयर खड्गीको कुनै गुनासो छैन । आफूले टिकट नपाए पनि महिलाले नै पाएकोमा खुसी छन् उनी । अब संसदको चुनावमा काठमाडौंबाट लड्ने उनको योजना छ ।

उपमेयरका रुपमा पाँच वर्ष बिताएकी खड्गी आफूलाई जिम्मेवारीमा सफल भएको ठान्छिन् । तर, मेयर विद्यासुन्दर शाक्यको ‘असहयोग’ ले काम गर्न धेरै अप्ठेरो भएको उनले गुनासो गरिन् । नेपाल प्रेससँग कुराकानी गर्दै खड्गीले उपमेयरको रुपमा आफू सफल भए पनि मेयरको भूमिकामा विद्यासुन्दर असफल भएको टिप्पणी गरिन् ।

‘मसँग सरसल्लाह गरेर काम गरेको भए उहाँ पनि सफल बन्न सक्नुहुन्थ्यो, उहाँले अवसर खेर फाल्नुभयो’, खड्गीले भनिन् ।
स्थानीय तहको चुनाव सकिएलगत्तै आफू संघीय संसदको चुनावको तयारीमा लाग्ने उनले बताइन् । आफूले काठमाडौंबाट संसदको टिकट पाउने प्रत्याभूति पार्टी नेतृत्वले गराएको खड्गीले जानकारी दिइन् ।

प्रस्तुत छ, उपमेयर हरिप्रभा खड्गीसँग गरिएको कुराकानी नेपाल टकमा –

– उपमेयरको कुर्सीमा पाँच वर्ष बिताउनु भयो । अहिले फर्केर हेर्दा आफू कति सफल भएँ भन्ने लाग्छ ?

समग्रमा मेरो पाँच वर्षको कार्यकाल राम्रो भयो । धेरै अनुभव बटुल्न पाएँ । राजनीति मेवा होइन सेवा हो भन्ने भावनाबाट अगाडि बढेको हुँ म । जनताको मतलाई कदर गर्दै काम गरेको छु ।

उपमेयरको रुपमा म काठमाडौंका धेरै सम्पदालाई बचाउन सफल भएँ । सम्पदामाथि प्रहार भइरहेको थियो । नगरबासीलाई धन्यवाद दिन चाहन्छु, यदि मलाई नजिताउनुभएको भए सम्पदा सबै मासिने थिए, नासिने थिए ।

– कुन सम्पदामा कसले प्रहार गर्यो र तपाईंले कसरी जोगाउनुभयो ?

पहिलो कुरा त मैले रानीपोखरीमा स्ट्यान्ड लिएँ । रानीपोखरी बन्थ्यो । तर, कंक्रिटको बन्नेवाला थियो । कमलपोखरी विद्यासुन्दर शाक्यले कंक्रिटैकंक्रिटले बनाउनुभयो । पहिलेको मेटरियलले बनाएको छैन । रानीपोखरी पुर्खाले जसरी बनाएका थिए, त्यही मेटरियलबाट बनाउनुपर्छ भन्ने मेरो अडानका कारणले शिखर शैलीमा बनाउन सफल भयौं । पहिलेको गुम्बज शैलीमा थियो ।

अस्ति भर्खर वसन्तपुरमा आठवटा झण्डाको नाममा कंक्रिटको संरचना बनाउन लागिएको थियो । त्यो विश्व सम्पदाभित्र पर्ने ठाउँ हो । पुरातत्वले चिठी पठाउँदा पनि बेवास्ता गरिएको थियो । म स्ट्यान्डबाई बसेर त्यसलाई काट्न लगाएँ ।

अर्को कुरा, पशुपतिको पछाडिपट्टि मृगस्थलीमा म पशुपति विकास कोषसँग लडेँ । त्यहाँ बाटो खुला गरिराखेको थियो, जुन जनताको लागि होइन, कंक्रिट र बालुवा ओसार्नका लागि । त्यसले विकृति–विसंगति भयो । डम्पिङ साइट हुँदै गयो । विश्व सम्पदा सूचीभित्र यसरी मनपरी गर्नुहुन्न भनेर अडान लिएँ । युनेस्कोले मेयर साबलाई पटकपटक भेट्न खोज्दा पनि भेट दिनुभएन । अनि उहाँहरुले मलाई भेटेर यो कुरा ख्याल गर्नुभएन भने विश्व सम्पदा सूचीबाट हटाउन सक्छौं भनेर थ्रेट नै दिनुभयो ।

विश्वस्वरुपामा पनि कंक्रिटले हात्तीपाइले राखिसक्या थियो कोषले । त्यो पहिलेकै स्वरुपमा पहिलेकै सामग्रीले बनाउनुपर्छ भनेर रोकेँ । बौद्धमा पुरातत्वसँग नसोधिकन किला ठोकेर झिलिमिली राख्न लगाए । बौद्ध आफैमा शान्त ठाउँमा किला ठोक्नु हुँदैन भनेर त्यहाँ पनि रोक्न लगाएँ । सबै किला मैले नै निकालेँ । झिलिमिली पनि हटाउन लगाएँ । यस्ता धेरै सम्पदा जोगाउन सफल भएको छु ।

– धेरै ठाउँमा महिलाहरुलाई उपमेयरमा खुम्च्याइयो भनेर गुनासो आएको थियो । तपाईंको अनुभवमा एउटा उपमेयरले काम गर्ने दायरा कतिको फराकिलो हुँदो रहेछ ?

दायराको हिसाबले उपमेयरलाई त सास फेर्न पनि फुर्सद हुँदैन । भूमिका निभाउने ठाउँ प्रशस्त छन् । तर टिमले उपमेयरलाई साथ दिनुपर्‍यो । उपमेयरको नेतृत्वमा रहने अनुगमन समितिमा धेरैवटा समितिहरु छन् । तर, के भइदियो भने प्रमुखलाई उपप्रमुखले यत्रो अधिकार उपभोग गरेपछि म त ओझेलमा पर्दोरहेछु भन्ने पर्दोरहेछ । उहाँहरुलाई दिएको अधिकारले हाई हाई नै हुने भयो भन्ने सोच हुँदोरहेछ । त्यसले मलाई धेरै गाह्रो भयो ।

मैले निर्धक्क काम गर्न पाइनँ । प्रमुख भनेको प्रमुख हुन्छ । सबै कर्मचारी उहाँहरुकै वरिपरि हुन्छन् । प्रमुखले नगर भन्नेबित्तिकै काम रोकिन्छ । त्यो भएपछि कहाँबाट उपमेयरले काम गर्न सक्ने ? अहिलेको चुनावमा धेरैभन्दा धेरै महिला प्रमुखमा निर्वाचित हुनुपर्छ ।

– भनेपछि तपाईंलाई मेयर विद्यासुन्दर शाक्यबाट काममा असहयोग भयो ?

हो । मैले उहाँलाई पूर्ण सहयोग गरेको छु । तर, उहाँबाट सहयोग र समन्वय भएन । उपप्रमुखको अधिकार उपभोग गर्न पनि हम्मे–हम्मे भयो मलाई ।

मैले न्यायिक समितिमा निर्वाचनमा नजाउँ भनेको थिएँ । घरघरमा सिंहदरबार आयो भनेपछि त्यही हिसाबमा जनतालाई सहयोग गर्नुपरो नि त ! नभए मेरै स्वेच्छाले सदस्यहरु दिनुहोला भनेको थिएँ । तर, उहाँले नमानिकन चुनावमै जानुभयो । म पनि प्रजातान्त्रिक विचारधाराबाट आएकाले चुनावै गराएँ । हाम्रो हार भयो । यसले काम गर्ने वातावरण हुँदैन ।

उपप्रमुखसँग अधिकार त थुप्रै छन् । तर, टिमवर्क चाहिँ हुनुपर्छ । साँच्चिकै नगर बनाउने हो भने आपसी समझदारी हुनैपर्छ । नत्र न मेयर सफल हुन्छ न त उपमेयर । महानगरपालिकामा मसँग बहुमत पनि थिएन । उहाँले मलाई काम गर्ने वातावरण पनि दिनुभएन ।

– मेयरको कार्यशैली चाहिँ कस्तो थियो त ?

उहाँको अरुलाई सूचना नदिने र अरुसँग सरसल्लाह नगरी आफूखुसी निर्णय गर्ने स्वभाव छ । अनि, मुखले एकथोक भन्ने र काम अर्को थोक गर्ने ।

एउटा उदाहरण दिन चाहन्छु, न्यूरोडमा महानगरको डेढ रोपनी जग्गा छ । मैले त्यहाँ पार्किङ बनाउँ भनेँ । सुरुमा उहाँले त्यसमा समर्थन जनाउनुभयो । मैले पनि त्यही सोचिरहेको छु भन्नुभयो । तर, पछि एक्कासी सांस्कृतिक भवन बनाउने प्रस्ताव ल्याउनुभयो र मलाई नक्सा देखाउनुभयो । त्यहाँ के आवश्यकता छ सांस्कृतिक भवनको ? के तालको मान्छे हो मैले कुरै बुझ्न सकिनँ ।

साढे दुई सय जति गाडीहरु अट्ने गरी माथि तला पनि उठाएर पार्किङ बनाउनका लागि प्रोजेक्ट पनि आएको थियो । तर, मेयरले एकैचोटि सांस्कृतिक भवनको नक्सापास गरेर देखाउनुभयो । मैले त हेर्दा पनि हेरिनँ । कंक्रिटैकंक्रिटका भवन भएको ठाउँमा टंग्रङ्ग सांस्कृतिक भवन बनाएर के हुन्छ ? बरु बसन्तपुरको भित्र नवआदर्श स्कुल छ, त्यसलाई मर्ज गरौं र सांस्कृतिक भवन बनाउँ भनेर सुझाव दिएँ । उहाँले मेरो कुरै सुन्नुभएन । यदि मेरो कुरा सुनेर काम गरेको भए उहाँ ‘फेलर’ हुनुपर्ने थिएन ।

– भनेपछि मेयर आफ्नो ५ वर्षे कार्यकालमा ‘फेलर’ नै हुनुभएको हो ?

पार्टीले टिकट नदिएपछि के भन्ने त अनि ? साँच्चिकै राम्रो काम गरेको भए त फेरि टिकट पाउनुहुन्थ्यो होला ।

– उहाँले त आफू सफल भएको बताइरहनुभएको छ नि !

मलाई त त्यस्तो लाग्दैन । भित्र–भित्रको काम गर्ने त वडाका जनप्रतिनिधि छँदैछन् नि ! उहाँ आफ्नो जिम्मेवारीमा खरो उत्रिन सक्नुभएन । मेरो कुरा सुनेर अगाडि बढेको भए उहाँ सक्सेसफुल मेयर बन्नुहुन्थ्यो । उहाँले अवसर खेर फाल्नुभयो ।

– टिकट त तपाईंले पनि पाउनुभएन । तपाईं पनि असफल हो त्यसो भए ?

बिलकुल होइन । म आफूलाई एकदमै सफल मेयर मान्छु । मैले निभाएको भूमिकामा आत्मग्लानी गर्नुपर्ने केही पनि आवश्यक छैन । जनताले पनि मलाई त्यही नजरले हेरेका छन् ।

– त्यसोभए तपाईंले लविङ गर्दागर्दै पनि किन टिकट पाउनुभएन त ?

यस्तो छ । मैले खोजेको चाहिँ महिला नै आउनुपर्छ भन्ने थियो । उपप्रमुख भएर काम गर्दा धेरै असजिलो भयो । मेयर भएको भए ड्याङ कि ड्याङ ठोकेर काम गर्न सक्थेँ होला । मेयर वा प्रमुखमा महिला आउँदा महानगरलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउन सकिन्छ ।
प्रमुखसँग केही स्वार्थ भएन भने कर्मचारी पनि त्यही तरिकाले हाँक्न सकिन्छ । महिलासँग त्यस्तो गलत खालको विचार कहिले पनि दिमागमा आउँदैन । मैले इच्छा त जाहेर गरेकै हो । प्रमुख चलाउन सक्छु भन्ने थियो । बोलेको पनि थिएँ । महिला पनि हो । त्यसैले अगाडि बढ्न सक्छु भनेँ । तर, ठूलो पार्टी छ । मभन्दा क्षमतावान र मभन्दा राम्रा महिलाहरु पनि हुनुहुन्छ ।

– टिकट नपाएकोमा गुनासो छैन त्यसो भए ?

हो, मलाई गुनासो छैन । यदि कुनै पुरुषलाई दिन खोजेको भए चाहिँ छोड्दिन थिएँ । महिलाले नै पाउँदा खुसी छु ।

पाँचै वर्षमा कायापलट त गर्नै सकिन्न । एउटा उपमेयरले आफ्नो अधिकार क्षेत्रभित्र रहेर काम गर्ने हो । कहिलेकाहीँ जनतालाई पनि कडिकडाउ गर्नुपर्ने हुन्छ । प्रमुखबाट धेरै आशा गरेकी थिएँ । जहाँ पनि पदेन सदस्य प्रमुख नै हुन्छ । त्यो कुराले पनि मलाई आफ्नो इच्छा पूरा गर्न कठिनाइ भयो । भावी नेतृत्वले हामीसँग पनि सरसल्लाह पक्कै लिनुहुन्छ होला । हामी सल्लाह दिन तयार छौं ।

– तर, राजनीतिक योगदानभन्दा पनि पहुँच र लेनदेनको आधारमा नेतापत्नीलाई टिकट दिइयो भनेर आलोचना पनि भइरहेको छ नि ?

सिर्जना सिंह प्रकाशमान सिंहको श्रीमती र गणेशमानको बुहारीमात्र नभएर उहाँको आफ्नै पृष्ठभूमि छ । उहाँ विवाह अगाडि नै स्कुल पढ्दादेखि बहुदल चाहिन्छ भनेर हिँड्नुभएको हो । शंकरदेव क्याम्पसमा कोषाध्यक्ष जित्नुभएको थियो । संयोगले उहाँको विवाह त्यही परिवारमा भयो । परिवारमा सासू, ससुरा, श्रीमान सबै राजनीति गर्ने भएपछि उहाँले घर–व्यवहार सम्हाल्नुपर्ने र सन्तान हुर्काउनुपर्ने भयो । त्यसैले राजनीतिमा सक्रिय हुन सक्नुभएन । आफ्नो इच्छा दबाएर परिवारमा अरुलाई सहयोग गर्नुभयो । अहिले पारिवारिक दायित्व कम भएपछि फेरि राजनीतिमा अगाडि बढ्न खोज्नुभएको छ । उहाँजस्तो महिला अगाडि बढ्नु राम्रो हो । पुरुषलाई दिएको भए त कुनै हालतमा छाड्ने थिइनँ ।

– तर, उहाँको काठमाडौंको मेयरकै टिकट पाउने योग्यता चाहिँ के थियो ?

उहाँ कार्यकर्तामाझमा त परिचित नै हुनुहुन्छ । सेवा गर्ने भावनाको हो उहाँ । हामी राजनीति गर्नेहरूलाई घरमा दुःखसुखको कुरा सुनिदिने मान्छे पनि चाहिन्छ । उहाँ हरेक कार्यकर्ताको कुरा सुनिदिनुहुन्थ्यो र नेतासम्म पुर्याइदिनुहुन्थ्यो । हिम्मत दिनुहुन्थ्यो । त्यो पनि राजनीतिकै एउटा अंग हो । नेताको श्रीमती भएरमात्रै टिकट पाउनुभएको होइन ।

– तपाईंको उहाँसँग व्यक्तिगत सम्बन्ध कस्तो छ ?

राम्रो छ एकदमै । मलाई उपमेयरमा अगाडि बढाउन पनि उहाँको ठूलो हात छ । तिमी अगाडि बढ्नुपर्छ भन्नुहुन्थ्यो ।

– तपाईं लामो समयदेखि राजनीतिमा हुनुहुन्छ । एउटा महिलालाई पारिवारिक जिम्मेवारी सम्हाल्दै राजनीतिमा अगाडि बढ्न कतिको चुनौतीपूर्ण हुन्छ ?

एकदमै चुनौतीपूर्ण हुन्छ । मैले आजबाट होइन, ४० सालदेखि राजनीति गर्न थालेको हो । घर सम्हाल्दै, छोराछोरी हुर्काउँदै म यहाँसम्म आएँ । आज छोराछोरीहरु आ–आफ्नो बाटोमा छन् । उनीहरुलाई पहिल्यैदेखि भनेको थिएँ, अरु कुरा पुर्‍याउन नसके पनि शिक्षामा कुनै कमी हुन दिन्न । त्यही नै गरेँ ।

अहिले छोरा इञ्जिनियर छन् । छोरी अमेरिकामा नर्स छिन् । घरमा काम गर्ने सहयोगी छन् । त्यसैले उपमेयर हुँदा मैले पूर्ण रुपमा आफ्नो जिम्मेवारीमा केन्द्रित हुन पाएँ । महानगरमा पनि सेक्रेटरीहरु राखेको छु । २४-२५ लाख जनताको काम एक्लैले सबै गर्न त सकिँदैन नि । सबैको सहयोगमा काम गर्ने हो ।

छोराछोरी नहुर्किंदासम्म त एकदमै गाह्रो थियो । अहिले छोराछोरीहरुलाई ममाथि गर्व छ । मेरो श्रीमान प्रोफेसर हुनुहुन्छ । उहाँले पनि मलाई एकदमै सहयोग गर्नुभएको छ ।

– तपाईंले टिकट नपाउँदा मतदाताहरुले के–के भनेका छन् ?

उहाँहरु दुःखी हुनुहुन्छ । मैले नै मेयरको टिकट पाउँछु होला भन्ने धेरैले आशा गर्नुभएको थियो । आज पनि एकजनाले फोन गर्नुभयो । दिदी तपाईंलाई घात भयो भनेर दुःखमनाउ गर्नुभयो । मैले सम्झाएँ । होइन, यो ठाउँ नभए अर्को ठाउँ छ, म कतै न कतै भइहाल्छु नि भनेँ ।
नगरवासीहरुलाई मलाई फोन गरिराख्नुहुन्छ । म सबैको फोन उठाइदिन्छु । दिदी यस्तो भयो, उस्तो भयो भन्छन् । स–सानो काम हुन्छ । म न्यायिक समितिको संयोजक भएको नाताले मसित होप गरेका हुन्छन् । नगरवासीलाई सेवा गर्ने काम म जारी नै राख्छु । उहाँहरू हतास हुनुपर्ने आवश्यक छैन ।

– उपमेयरको कार्यकाल सकिएपछि अबको राजनीतिक यात्रालाई कसरी अगाडि बढाउनुहुन्छ ?

म अगाडि बढिरहने छु । नेताहरूलाई भनेको छु, मेरो क्षमतालाई तपाईंहरूले चिन्नुपर्छ । म नेपाली कांग्रेसभित्र बसेर ०४६ सालको आन्दोलनमा पनि होमिएको हो । ६२/६३ को आन्दोलनमा चार वर्ष अनवरत सडकमा थिएँ । मेरो मूल्यांकन हुनुपर्छ भनेर नेताहरुलाई कुरा राखेको छु । उहाँहरु सकारात्मक हुनुहुन्छ । तिमीले भनिराख्नु पर्दैन, हामीलाई तिमीजत्तिको नेता पाउन पनि गाह्रो हुन्छ भन्नुभएको छ । तिम्रो लागि ठाउँ सुनिश्चित गरिसकेका छौं भन्नुभएको छ ।

– भनेपछि अब प्रदेश वा संघीय चुनावमा भाग लिने योजना हो तपाईंको ?

प्रदेशभन्दा पनि म संघतिरै जान्छु होला । प्रदेशमा त जान्न । मलाई पार्टीले जे जिम्मेवारी दिन्छ, त्यसमा काम गरेर अगाडि बढ्छु ।

– काठमाडौंबाटै संघको चुनाव लड्ने ?

हो । मैले त्यसमै जोड दिएको छु । स्थानीय चुनाव सकिएपछि म आफ्नो तयारी सुरु गर्छु ।

– पार्टी नेतृत्वबाट काठमाडौंबाटै संसदको टिकट मिल्ने आश्वासन पाउनुभएको हो ?

अहिले यो क्षेत्र, त्यो क्षेत्र भनेको छैन । संसदको टिकट पाउनेमा चाहिँ ढुक्क छु ।

– आफ्नो कार्यकालमा यो काम गर्न सकिएन भनेर खिन्नता केही छ ?

मैले के सोचेको थिएँ भने प्रमुखज्यूले सबै कुरा समन्वय गर्नुहुन्छ होला । तीन वर्षसम्म उहाँको पार्टी सरकारमा थियो । प्रधानमन्त्रीसँग बसेर क्यानिबेटबाट पास गराएर हुन्छ कि कसरी हुन्छ लाग्नुहुन्छ होला भन्ने सोचेकी थिएँ । तर, त्यस्तो भएन ।

पाँचै वर्षमा कायापलट त गर्नै सकिन्न । एउटा उपमेयरले आफ्नो अधिकार क्षेत्रभित्र रहेर काम गर्ने हो । कहिलेकाहीँ जनतालाई पनि कडिकडाउ गर्नुपर्ने हुन्छ । प्रमुखबाट धेरै आशा गरेकी थिएँ । जहाँ पनि पदेन सदस्य प्रमुख नै हुन्छ । त्यो कुराले पनि मलाई आफ्नो इच्छा पूरा गर्न कठिनाइ भयो । भावी नेतृत्वले हामीसँग पनि सरसल्लाह पक्कै लिनुहुन्छ होला । हामी सल्लाह दिन तयार छौं ।

– अब हुने चुनावमा काठमाडौंबाट कांग्रेसले मेयर जित्ने सम्भावना कति देख्नुभएको छ ?

सम्भावना छ । पहिलो कुरा त महिला उम्मेदवार हुनु नै प्लस प्वाइन्ट हो । काठमाडौंमा महिलाको जनसंख्या धेरै छ । महिला प्रमुख पदमा पुगेपछि कायापलट हुन्छ । त्यसैले कांग्रेस उम्मेदवार विजयी हुने पूर्ण आशामा छु ।

– प्रचारप्रसारमा हिँड्नुभएको छ कि छैन ?

अहिले त महानगरमै व्यस्तता छ । तैपनि अलिअलि टाइम दिइरहेको छु । मेयर साबले राजीनामा दिनुभयो कि भएन थाहा छैन । दिनुभयो भने केही समय कार्यबाहक म नै हुन्छु । त्यसपछि आउने नेतृत्वलाई हस्तान्तरण गर्छु ।

अन्त्यमा, आफूलाई जिताएका मतदातालाई के भन्न चाहनुहुन्छ ?

एकदमै धन्यवाद दिन चाहन्छु । पाँच वर्षको कार्यकाल उहाँहरुले नियालेर बस्नुभएको छ । म राजनीति गर्ने मान्छे फेरि उहाँहरुको बीचमा जानुपर्छ । मेरो कामको मूल्यांकन गर्नुहुन्छ भन्ने लाग्छ ।

अहिले कांग्रेसले महिलालाई अगाडि बढाएको छ । पहिलो प्राथमिकता महिलालाई दिउँ, उहाँलाई जिताउँ भन्न चाहन्छु ।


प्रतिक्रिया

2 thoughts on “उपमेयर खड्गीको आत्मसमीक्षाः मेयरबाट असहयोग भयो, तर पनि सफल भएँ

  1. महिलाकाे अग्रज सधैं अगाडि नै बढिरहुन। शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर