उम्मेदवारीमा मनपरी गरेको भन्दै नेपाल तरुण दलका पूर्वअध्यक्ष कायस्थलगायतद्वारा कांग्रेस त्याग्ने चेतावनी – Nepal Press

उम्मेदवारीमा मनपरी गरेको भन्दै नेपाल तरुण दलका पूर्वअध्यक्ष कायस्थलगायतद्वारा कांग्रेस त्याग्ने चेतावनी

भक्तपुर । नेपाली कांग्रेस जिल्ला नेतृत्वले स्थानीय तह निर्वाचनमा एकलौटी र मनपरी टिकट बाँडेपछि असन्तुष्ट नेताहरु पार्टी त्याग्ने तयारीमा लागेका छन् ।

उनीहरुले पार्टी जिल्ला नेतृत्वलाई बिहीबारसम्मको अल्टिमेटमसमेत दिएका छन् । पटकपटकको छलफल र संवादमा समेत कांग्रेस जिल्ला नेतृत्वले टिकट दिँदाको गल्ती कमजोरी सच्याउने छनक नदिएपछि उनीहरु वर्षौं दुःख गरेको पार्टी त्याग्ने तहसम्म पुगेका हुन् ।

पार्टीले जित्ने सम्भावना भएको भक्तपुर नगरपालिका वडा नं ३ मा समेत दुई व्यक्तिलाई वडा अध्यक्षको टिकट दिएपछि उनीहरु झन् आक्रोशित छन् । यस वडामा तल्लो तहदेखि प्रदेश सभापति शिवप्रसाद अवाललाई वडा अध्यक्षको उम्मेदवार बनाउने सिफारिस गरेको थियो । सोहीअनुसार नगर र क्षेत्रले समेत उनै अवाललाई वडा अध्यक्षको टिकट दिन सिफारिस गरेको थियो ।

तर, उम्मेदवारी दर्ता गर्ने बेला अवालसँगै दोबरलाल शिलाकारलाई वडा अध्यक्षको टिकट दिइएको असन्तुष्ट कांग्रेस नेताहरुको गुनासो छ । पार्टीका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको हस्ताक्षरमा पाएको टिकट अवालसँगै शिलाकारले निर्वाचन अधिृकतको कार्यालयमा पेश गरी उम्मेदवारी दर्ता गरे । उम्मेदवारी दर्तापछि निर्वाचन अधिकृतको कार्यालयले कांग्रेसको आधिकारिक वडा अध्यक्षको उम्मेदवार भनेर दोबरलाल शिलाकारको नाम सार्वजनिक गर्‍यो भने अवाललाई स्वतन्त्र उम्मेदवारको सूचीमा प्रकाशित गर्‍यो ।

यसपछि असन्तुष्ट कांग्रेसी नेताहरु झन् आक्रोशित भएका हुन् । यसरी आक्रोश पोख्नेमा कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोदप्रकाश कायस्थ, नेपाल कानुन आयोगका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता बाबुराजा जोशीलगायत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दिएका स्थानीय नेता तथा कार्यकर्ताहरुसमेत रहेका छन् ।

असन्तुष्ट एक नेताले बिहीबारसम्म जिल्ला नेतृत्वले पार्टीको विधानअनुसार उम्मेदवारी नमिलाए शुक्रबार आफूहरुले सामूहिक राजीनामा दिने बताए । शुक्रबार उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो । पार्टीको आधिकारिक नेताहरुको उम्मेदवारी कायम गर्ने र अनधिकृत व्यक्तिहरुको उम्मेदवारी फिर्ता लिने निर्णय बिहीबार नै हुनुपर्ने उनको भनाइ छ ।

यसपटक सत्ता गठबन्धनबीच चुनावी तालमेलले गर्दा पार्टीले भक्तपुरमा राम्रो चुनावी परिणाम ल्याउने अवस्था हुँदा पनि जिल्ला नेतृत्वको एकलौटी निर्णयले अवस्था उल्टिने खतरा बढेको असन्तुष्ट नेताहरुको भनाइ छ । उम्मेदवारी दिँदा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षीय जिल्ला सभापति दुर्लभ थापाले एकलौटी टिकट बाँडेको आरोप लगाइएको छ । जसअनुसार मेयर र उपमेयरमा मात्रै होइन वडा अध्यक्ष र सदस्यमै असन्तुष्ट कांग्रेस नेताहरुले वागी उम्मेदवारी दिएका छन् ।

टिकट दिएकोमा असन्तुष्टि जनाउँदै भक्तपुर क्षेत्र नं २ का पूर्वक्षेत्रीय सभापति नारायणभक्त खायमलीले उम्मेदवारी मनोनयनकै दिन कांग्रेस परित्याग गरेको सार्वजनिक घोषणा गरेका थिए ।

त्यस्तै तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष कायस्थले सामाजिक सञ्जाल फेसबुकमा अब राजनीतिबाट विश्राम लिनुपर्ने सोच विकास भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘किशोरावस्थादेखि नेपाली कांग्रेस पार्टी र प्रजातन्त्रका लागि आफ्नो घरपरिवार सबै कुरालाई तिलाञ्जली दिएर लागियो । स्थानीय निर्वाचनमा टिकट बाँडफाँडको स्थिति हेर्दा अब राजनीतिबाट विश्राम लिनुपर्ला जस्तो सोच विकास हुँदैछ । नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयश्री प्राप्तिका लागि शुभकामना !! निर्वाचनपछि राजनीतिमा सक्रिय भइरहने या नरहने निर्णय लिनेछु । जयनेपाल !!’

नेता कायस्थले आफू कांग्रेस त्याग्ने अन्तिम अवस्थामा पुगेकाे तर पार्टीका केन्द्रीय नेताहरुले पर्खन आग्रह गरेकाले चुनावसम्म प्रतीक्षा गर्ने प्रतिक्रिया दिएका छन् ।

नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला अध्यक्ष जगतकृष्ण प्रजापतिले समेत कांग्रेस भक्तपुरले टिकट बाँडफाँटमा मनपरी तथा भेदभाव गरेको र कार्यकर्ताहरुको भावनाको सम्बोधन नगरेका भन्दै मध्यपुर थिमि नपा १ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यता नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुलर्भ थापाले पार्टीको क्षेत्रीय समितिको निर्णयानुसार भक्तपुर नपा ३ वडामा शिवप्रसाद अवाललाई पार्टीको आधिकारिक उम्मेदवार बनाउन निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेखेका छन् । क्षेत्रीय सभापति एवं चाँगुनारायण नपाका मेयर उम्मेदवार जीवन खत्रीले पनि शिवप्रसाद अवाल नै पार्टीको आधिकारिक उम्मेदवार भएको पत्राचार गरेका छन् ।

तर, टिकट बाँड्ने मोहनबहादुर बस्नेतको चिट्ठी नआएसम्म अवालको उम्मेदवारी स्वतन्त्र नै हुने कांग्रेस भक्तपुर नगर सभापति राजेन्द्र तमखूले जानकारी दिए । उनले असन्तुष्ट नेताहरुसँग चरणबद्ध संवाद भए पनि अहिलेसम्म कुनै निष्कर्ष नआएको बताए ।

उम्मेदवारलाई टिकट दिने र उम्मेदवारी दर्ता गर्दा पार्टीका तर्फबाट भएका कमिकमजोरी तथा त्रुटि शुक्रबारसम्म सच्याइने नगर सभापति तमखूले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर