विमानको शौचालयमा २ केजीभन्दा बढी सुन, सफाइ कर्मचारीसहित ५ पक्राउ – Nepal Press

विमानको शौचालयमा २ केजीभन्दा बढी सुन, सफाइ कर्मचारीसहित ५ पक्राउ

काठमाडौं । विमानको शौचालयभित्र राखिएको डस्टबिनमा सुन लुकाएर तस्करी भएको प्रहरीले भेटेको छ ।

बिहीबार दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमानको शौचालयमा रहेको डस्टबिनमा २ केजी २ सय ३२ ग्राम सुन लुकाएर ल्याएको पाइएको हो ।

प्रहरीले विमानमा कार्यरत सरसफाइ कर्मचारीसहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथरको याङवरक-५ का २८ वर्षीय भीमकुमार माबो, नुवाकोटको तादी-५ का २७ वर्षीय सुमन तामाङ, उदयपुरको लिम्चुङबुङका -२ का २८ वर्षीय राजेश राई, दोलखाको गौरिशंकर-२ का ४१ वर्षिय हेमबहादुर थापा र सप्तरीको सुरुङ्गा-४ का ३६ वर्षीय ताराकान्त चौधरी छन् ।

चौधरी हिमालय एयरलाइन्सको विमानमा सफाइ कर्मचारी उपलब्ध गराउने कम्पनी सुनगाभा सप्लायर्स एन्ड सरसफाइका सुपरभाइजर हुन्  भने माबो र तामाङ सरसफाइ कामदार हुन् ।

माबोले विमानको शौचालयभित्र रहेको डस्टबिनमा राखिएको सुन लिएर बाहिर आएको र फोहोर जम्मा गर्ने ठाउँमा सुमनसँग बाँडेर बाहिर पास गर्न खोजेको विमानस्थल प्रहरीको दाबी छ।

थापा ट्याक्सी चालक हुन् । थापा र राई सुन लिन बाहिर कुरिरहेको अवस्थामा पक्राउ परेको विमानस्थल प्रहरी प्रमुख भीमप्रसाद ढकालले नेपाल प्रेसलाई बताए । ‘उतैबाट सुन शौचालयमा राखेर पठाएजस्तो देखिन्छ’, एसएसपी ढकालले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर