मातातीर्थमा देखिएको आमाको श्रद्धा र भक्ति (तस्बिर/भिडिओ) – Nepal Press

मातातीर्थमा देखिएको आमाको श्रद्धा र भक्ति (तस्बिर/भिडिओ)

काठमाडौं। वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।

आजको दिन काठमाडौंको मातातीर्थमा विहानैदेखि दर्शन गर्नेको भीड लागेको छ ।आजको दिन दिवंगत आमाको सम्झनामा राजधानीको थानकोट मातातीर्थमा पुगेका छन् ।

आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्दछन् । आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एकपटक मातातीर्थमा श्राद्ध गर्नु पर्ने मान्यता समेत छ । सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ ।

यस वर्षको आमाको मुख हेर्ने औँसी शनिबार परेको छ ।

शास्त्रमा उपाध्याय , आचार्य र पिता भन्दा पनि ठूली मानिएकी आमा प्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात मातृऔँसीका रुपमा समेत मनाउँछन् ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड सहित श्राद्ध तथा पुरोहितलाई सिदा दान सहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *