आईजीपी नियुक्तिमा वरीयता मिच्न खोजेको भन्दै गठबन्धनमै खटपट, क्याबिनेट बस्न विलम्ब – Nepal Press

आईजीपी नियुक्तिमा वरीयता मिच्न खोजेको भन्दै गठबन्धनमै खटपट, क्याबिनेट बस्न विलम्ब

काठमाडौं । नेपाल प्रहरीमा जुनियरलाई महानिरीक्षक (आईजीपी) बनाउन खोजिएपछि उत्पन्न विवादका कारण मन्त्रिपरिषद्को बैठक बस्न सकेको छैन । बिहान ११ बजेका लागि तय भएको बैठक बस्न ढिला भएको छ ।

आजको मन्त्रिपरिषद् बैठकको मुख्य एजेण्डा सशस्त्र र नेपाल प्रहरीमा एआईजी नियुक्ति मुख्य एजेण्डा थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा १६ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजीपी बनाउने तयारीमा लागेपछि गठबन्धनकै अन्य दलहरूले विरोध जनाएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार स्थानीय चुनावको मुखमा जुनियरलाई आईजीपी बनाउँदा त्यसले चुनावी सुरक्षा प्रणालीमै प्रभाव पार्न सक्ने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायतले वरीयता र ज्येष्ठता नमिच्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवा अहिले परामर्शमा छन् । गृहमन्त्री बालकृष्ण खाण पनि ज्येष्ठता र वरिष्ठता मिच्न नहुने पक्षमा छन् ।

नेपाल प्रहरीका बहालवाला आईजीपी शैलेश थापाले ३० वर्षे सेवा अवधिका कारण आइतबार राति १२ बजेदेखि अवकाश पाउँदैछन् । त्यसपछि उक्त पद रिक्त रहने भएकाले सरकारले आज विश्वराज पोखरेल, धिरजप्रताप सिंह, सहकुल थापा र रविन्द्रबहादुर धानुकमध्ये एकजनलाई आईजीपीमा बढुवा गर्दैछ ।

पोखरेल २०७७ मंसिर र थापा २०७८ असारमा एआईजीमा बढुवा भएका हुन् भने धानुक र सिंह गत महिना मात्र एआईजी भएका थिए । सरकारले तीनवटा एआईजी दरबन्दी थप्दै त्यसमा धानुक र सिंहलाई बढुवा गरेको थियो ।

प्रहरी नियमावलीको दफा ४१ मा ‘प्रहरी महानिरीक्षकमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरिक्षकमध्येबाट र प्रहरी अतिरिक्त महानिरिक्षकहरू नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षकहरुमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्नेछ ।’ भन्ने उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर