लुम्बिनीका २ तहमा माओवादी र एमालेबीच चुनावी तालमेल, गुल्मीकाे धुर्काेटमा माओवादीले धाेखा दिएकाे कांग्रेसकाे आराेप – Nepal Press

लुम्बिनीका २ तहमा माओवादी र एमालेबीच चुनावी तालमेल, गुल्मीकाे धुर्काेटमा माओवादीले धाेखा दिएकाे कांग्रेसकाे आराेप

रुपन्देही । सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्देशनविपरीत लुम्बिनी प्रदेशका दुई स्थानीय तहमा नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग गठबन्धन गरेको छ ।

केन्द्र तथा प्रदेश तहका नेताहरुले पाँच दलबाहेकसँग गठबन्धन गर्न नपाइने कडा निर्देशन पटक–पटक जारी गरे पनि गुल्मीको धुर्कोट र प्यूठानको झिमरुक गाउँपालिकामा माओवादीले एमालेसँग गठबन्धन गरेको हो ।

गुल्मीको धुर्कोटको अध्यक्षमा माओवादीका भुपाल पोख्रेल र उपाध्यक्षमा एमालेकी सीता गिरीले उम्मेदवारी दिएका छन् । धुर्कोटमा कांग्रेस र एकीकृत समाजवादीले पनि तालमेल गरेका छन् । सो गाउँपालिकाको अध्यक्षमा कांग्रेसका महेन्द्र भण्डारी र उपाध्यक्षमा एकीकृत समाजवादीकी कमला सुनारले उम्मेदवारी दिएका छन् ।

प्यूठानको झिमरुक गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पीतबहादुर महतरा र उपाध्यक्षमा एमालेकी विष्णु जीएमले उम्मेदवारी दिएका छन् । यहाँ माओवादीले तीनवटा र एमालेले पाँचवटा वडा भागबन्डा लगाएका छन् ।

यी दुवै पालिकाको विवाद मिलाउन प्रदेश तथा केन्द्रका शीर्ष नेताहरुले पहल गरे पनि सफलता हात लागेन । गुल्मीको धुर्कोटमा यसअघि माओवादी र कांग्रेसको गठबन्धनबाट माओवादीका भुपाल पोखरेलले अध्यक्ष जितेका थिए । त्यो गठबन्धनको समयमा माओवादीले अर्कोपटक कांग्रेसलाई अध्यक्षमा सहयोग गर्ने सहमति गरे पनि अहिले पालना नगरेर घात गरेको कांग्रेस नेता महेन्द्र भण्डारीले आराेप लगाएका छन् ।

प्यूठानको झिमरुकमा जनमोर्चाको बलियो संगठन रहेकाले उसले नेतृत्व नछाडेपछि माओवादी एमालेसँग मिलेको हो । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले प्रदेशका केही पालिकामा सत्ता गठबन्धनका दलसँग सहकार्य भएको बताएका छन् ।

रुकुमपूर्व र रोल्पाका केही स्थानमा नेपाली कांग्रेस तथा तराईका केही पालिकामा अन्य दलसँग सहकार्य गरेको उनले बताए ।

लुम्बिनीमा १०९ स्थानीय तह रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर