चलचित्र क्षेत्रमा श्रम शोषणः पीडामा कलाकारदेखि प्राविधिकसम्म
आज मे १ । विश्वभरका मजदुरहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) मनाइरहेका छन् । आफ्नो हक स्थापित भएको गौरवमय दिनका रुपमा मजदुरहरुले मे दिवस मनाउने गर्छन् ।
अमेरिकाको सिकागो सहरका मजदुरहरुले १ मे, १८८६ मा काम गर्ने न्यूनतम समयको माग राख्दै आन्दोलन चर्काएका थिए । जसको नतिजास्वरुप आन्दोलनको ४ वर्षपछि अमेरिकी सरकार माग पूरा गर्न बाध्य भएको थियो । यसपछि १ मेलाई विश्वभर मजदुरहरुले हक–अधिकार सुनिश्चित भएको ऐतिहासिक दिनको रुपमा मनाउन सुरु गरेका थिए ।
संसारभर १३३ औं मजदुर दिवस मनाइरहँदा श्रमिकहरुको हक–अधिकारलाई झनै कुल्चँदै आएको छ, मजदुरहरुलाई झनै अन्यायमा पारिएको छ । उनीहरुको श्रम र पसिनामा लुट मच्चाइएको छ । यो श्रृंखला ठूल्ठूला उद्योगदेखि सडकका स–साना होटलसम्म, ठूल्ठूला कर्पोरेट हाउसदेखि ग्ल्यामर क्षेत्रसम्म फैलिएको छ ।
बाहिरबाट हेर्दा भव्य र चमकदमकपूर्ण देखिने ग्ल्यामर क्षेत्रको अवस्था पनि फरक छैन । यहाँभित्रको अँध्यारो पाटो छिटफुट बाहिरिने गर्छ । जसरी ती बाहिरिन्छन्, त्यसरी नै त्यसलाई दबाइन्छ । उनीहरुको भविष्यमाथि संशय पैदा गरेर नबोल्न म्यानुपुलेट गरिन्छ । भोलि करियर नै सकिने हो कि, काम नै नपाइने हो कि भन्ने भयले उनीहरु बोल्न हिच्किचाउँछन् । त्यहाँभित्रको सिन्डिकेटले उनीहरुको आवाजलाई झनै निम्छरो बनाइदिन्छ ।
ग्ल्यामर क्षेत्रमा अभिनयमार्फत् आफ्नो करियर बनाउन खोजिरहेकाहरुको आवाजलाई जसरी दबाइएको छ, उनीहरुभन्दा क्रूर तरिकाले दैनिक श्रम गर्ने प्राविधिकहरुलाई दबाइएको छ । लाइटम्यान, स्पटब्वाइ, मेकअप आर्टिस्टलगायतलाई न दर्शकले चिन्छन् न त उनीहरुले भनेजस्तो पारिश्रमिक नै पाउँछन् । दैनिक ज्यालादारीमा काम गर्ने उनीहरुले काम नपाउँदाको अवस्था जति दयनीय छ, गरिसकेको कामको पारिश्रमिक नपाउँदाको अवस्था उति नै पीडादायी छ ।
भर्खरैमात्र एउटा फिल्म मजदुरहरुलाई पाँच लाख पारिश्रमिक नदिइकनै प्रदर्शन गर्न खोजिएपछि मजदुरहरुले आन्दोलनको तयारी गरेका थिए । उनीहरुले चलचित्र प्राविधिक संघमा उजुरी हाले । उजुरीपछि संघले सहजीकरण गर्यो र श्रमिकहरुले बाँकी पारिश्रमिक पाए । यस्ता उदाहरण बग्रेल्ती रहेको प्राविधिक संघका अध्यक्ष पुष्कर लामा बताउँछन् ।
उनी भन्छन्, ‘थुप्रै प्राविधिकहरु पारिश्रमिक पाउनबाट बञ्चित छन् । सरकारले निर्धारण गरेको पारिश्रमिक पनि पाउन सकेका छैनन् । अस्तिमात्रै रिलिज हुन लागेको फिल्मलाई पारिश्रमिक नदिएकै कारण रोकिदिएको छ ।’
पुष्करले फिल्मको नाम भने खुलाउन चाहेनन् । यस्ता उदाहरण प्रशस्त रहेको र प्राविधिकहरु आन्दोलनमा जाने अवस्थामा पुगेको उनको भनाइ छ ।
एकातिर फिल्म नै कममात्र बनिरहेका छन् । अर्कातिर ३५ सयको हाराहारीमा रहेका दक्ष प्राविधिकहरु पलायन हुने अवस्थामा छन् । सयौं प्राविधिक यस क्षेत्रबाट पलायन भइसकेका पनि छन् । ‘यस क्षेत्रमा बीसौं वर्ष रगत र पसिना बगाएका श्रमिकहरु अर्को क्षेत्रमा गएर कसरी स्थापित हुने हुन् ?’, पुष्कर भन्छन्, ‘सम्झँदामात्रै पनि डर लाग्छ ।’
अर्जुन तिमिल्सिना २०४४ सालदेखि फिल्म क्षेत्रमा काम गरेका लाइटम्यान हुन् । ६० वर्षका अर्जुन अहिले पनि कामकै खोजीमा भौतारिन्छन् । उनले राजेश हमालदेखि विराज भट्टसम्म, आर्यन सिग्देलदेखि अनमोल केसीको पुस्तासम्म लाइटम्यानको काम गरे । उनले काम गरेका फिल्मबाट कति कलाकार सेलिब्रेटी बने, कति कलाकार ग्रीनकार्ड लिएर विदेश पलायन भए, लेखाजोखा छैन । तर, अर्जुनको हालत भने २०४४ सालमा जस्तो थियो, अहिले पनि उस्तै छ ।
अर्जुन भन्छन्, ‘मैले गलत क्षेत्रमा हात हालेछु । यो क्षेत्रमा त पाखुरामा तागत भइञ्जेलसम्म मात्रै रहेछ ।’
न्युरोडको साँघुरो कोठामा बस्ने अर्जुनसँग लकडाउनयता न काम छ न त बैंक ब्यालेन्स नै । साथीभाइसँग सरसापट गरेर जीवन चलाइरहेका छन् ।
अध्यक्ष पुष्कर भन्छन्, ‘अर्जुनजस्ता सयौं छन्, जसको श्रमले यो क्षेत्रमा धेरै कलाकार चम्किए । तर, अर्जुनहरुको हालत जहिल्यै अँध्यारो छ ।’
चलचित्र प्राविधिकहरुको मात्रै होइन, यस क्षेत्रमा अभिनयको माध्यमबाट नाम र दाम कमाउने सपनासहित आइपुगेका धेरै कलाकारको पनि उस्तै छ हालत । उनीहरुले पनि कामअनुसारको पारिश्रमिक पाएका छैनन् । कतिपय कलाकार त सित्तैमा काम गर्न बाध्य छन् । पाए पनि एकदमै न्यून पारिश्रमिकमा चित्त बुझाउनुपर्छ ।
पारिश्रमिकमा भएको विभेदबारे बोलौं, भोलि फेरि काम नपाइने डर । नबोलौं, जहिल्यै पारिश्रमिकमा शोषण । हल्का रमाइलो सिरियलबाट ‘नेप्टी’ नामले चिनिएकी अभिनेत्री ईस्टु कार्की भन्छिन्, ‘बाहिरबाट मान्छेले हेर्दा हाम्रो क्षेत्रमा धेरै नै कमाइ हुन्छ भनेर सोच्छन् । तर, यथार्थमा त्यस्तो हुँदैन ।’
कलाकारहरु पारिश्रमिकको मामलामा प्रायः शोषणमै पर्ने गरेको ईस्टुको अनुभव छ । उनका अनुसार भनेजस्तो पारिश्रमिक नपाउनु यस क्षेत्रमा नौलो विषय होइन । कतिपय अवस्थामा त सित्तैमा काम गरेर हिँडेको तीतो अनुभव पनि ईस्टुसँग छ ।
करिब एक दशकदेखि कलाकारितामा सक्रिय ईस्टु भन्छिन्, ‘सुरुसुरुमा रहरले आएको हुन्छ । प्यासनले गर्दा सित्तैमा पनि काम गरियो । पछिपछि विस्तारै बुझ्दै जाँदा पो थाहा हुने रहेछ, आफू शोषणमा परेको । तर, शोषणमा परेको थाहा पाएर पनि भोलि काम नपाइएला कि भनेर नबोल्ने सिनियर कलाकारहरु नै टन्नै हुनुहुन्छ ।’
ईस्टुका अनुसार गर्न सक्ने जति काम नपाउनु पनि शोषण हो । जसको एउटा कारण सम्बन्ध, पीआर कम हुनु पनि हो ।
‘घामड शेरे’ फिल्ममा काम गरिसकेकी अभिनेत्री सुष्मा निरौलालाई पनि जहिल्यै खट्किने कुरा श्रमअनुसारको पारिश्रमिक नै हो ।
उनी भन्छिन्, ‘यहाँ काम गरेरै काठमाडौंमा हामीले टिक्नुपर्छ । सिनियरहरुसँग भेट हुँदा हामीसँग बजेट छैन, सहयोग गर्नुपर्छ भनेजस्तो कुरा पनि आउँछ । उहाँहरुले हाम्रो पीडालाई नबुझेको जस्तो लाग्छ ।’
सुष्मा आफू सहरमा अरुजस्तै सपना बोकेरै आएको बताउँछिन् । यसका साथसाथै बाँच्नुपर्ने बाध्यता पनि एकातिर हुन्छ, अर्कातिर सपनाप्रतिको भोक हुन्छ । कामकै सिलसिलामा मान्छेहरुले तीनचार महिना यतिकै अल्झाइदिने, म्यानुपुलेसन गरिदिने गरेको अनुभव सुष्मासँग छ । भन्छिन्, ‘फलानो कलाकारले हामीसँग यति पैसामा काम गरिरहेको छ । हामीसँग काम गरिरहेको मान्छे हो, क्षेत्र कति नै ठूलो छ र, फेरि भेट भइहाल्छ भनेर म्यानिपुलेसन पनि गर्दा रहेछन् ।’
‘मास्टरनी’ पात्रले परिचित अनिता बस्नेतलाई भने पहिलाभन्दा अहिले धेरै सुधार भएको लाग्छ । उनी भन्छिन्, ‘अहिलेको अवस्थामा रेट तोकेर काम गर्न पाइन्छ । तर समस्या नै नभएको चाहिँ होइन । सेटमा पुगेपछि कहिलेकाहीँ यतिमात्रै लिँदै गर्नु भनेर पनि भनिदिन्छन् । कार्यक्रममा जाँदा पेमेन्ट हाल्दिन्छु भनेर महिनौं हालिदिँदैनन् । यस्ता घटनाहरुले दुःखी बनाउँछ ।’
पारिश्रमिकको सवालमा अन्यायमा परेका कलाकारहरुको सूची लामो रहेको चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काको भनाइ छ । उनका अनसार वर्षौंदेखि काम गरेका कलाकारहरु ‘पारिश्रमिक पाइनँ, सहयोग गरिदिनुस्’ भन्नेहरु थुपै्र छन् । तर, रवीन्द्रकै तीतो अनुभव छ, ‘मलाई पनि कतिले सित्तैमा खेलिदिनुस् भन्छन् । राष्ट्रका नाममा बनाएका गीत, भिडियोमा त पैसाको कुरै गर्दिनँ । तर, व्यापारिक हिसाबले बनाउँछन् भने पारिश्रमिक दिनुपर्छ ।’
कलाकार संघमा पनि पारिश्रमिक पाइएन भनेर उजुरीहरु थुप्रो पर्छन् । रवीन्द्रहरुले संघको तर्फबाट सहजीकरण गरिदिन्छन् । निर्माता, निर्देशक र कलाकारबीचमा अन्डरस्टान्डिङको वातावरण बनाइदिन्छन् । भन्छन्, ‘तर, अन्यायमा कोही पनि पारिनु हुँदैन । कसैलाई पारिश्रमिकमा मार्ने काम गर्नु हुँदैन ।’