भोजपुर एमालेले भन्यो- चुनावी लहड मात्र होइन, विकास र समृद्धिको स्पष्ट खाका ल्याएका छौं – Nepal Press

भोजपुर एमालेले भन्यो- चुनावी लहड मात्र होइन, विकास र समृद्धिको स्पष्ट खाका ल्याएका छौं

भोजपुर । नेकपा एमाले भोजपुरले जिल्लाको विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्न सक्ने भन्दै त्यसका अभियन्ता आफ्ना स्थानीय तहका जनप्रतिनिधि हुने प्रतिबद्धता जनाएको छ ।

जिल्ला अध्यक्ष शरणकुमार राईले एक अपिल जारी गर्दै एमाले ‘समृद्ध भोजपुर : सुखी भोजपुरे’ को संकल्पसहित स्थानीय चुनावको अभियानमा होमिएको उल्लेख गरेका छन् ।

‘भोजपुर र भोजपुरेहरूको गौरवमय इतिहासको विरासतमा उभिएर हाम्रो सुदूर भविष्यलाई सुन्दर बनाउने अभिभारा हाम्रै काँधमा छ । राजनीतिक परिवर्तन अर्थात् व्यवस्था बदल्नका निम्ति नेकपा (एमाले) भोजपुरका नेताहरूले निर्वाह गरेको भूमिका असाध्यै गौरवमय छ’, अपिलमा राईले भनेका छन्, ‘हाम्रासामु प्रश्न छ, ‘परिर्वतनको नेतृत्व गर्ने नेकपा (एमाले) भोजपुरले विकास र समृद्धिको नेतृत्व गर्न सक्छ त ?’ हाम्रो सहज उत्तर छ, ‘अब भोजपुरको विकास र समृद्धिको नेतृत्व पनि नेकपा (एमाले) ले नै गर्नेछ ।’ हामीले यो चुनावी नारा वा लहडको भरमा भनिरहेका छैनौं । यसका निम्ति हामीसँग स्पष्ट योजना र मार्गचित्र छ ।’

एमालेले अपिलमा सबै पालिका र जिल्लास्तरका गौरवका योजना बनाएर आफ्ना उम्मेदवारलाई अघि सारिएकाले जनाएको छ ।

अपिलमा भनिएको छ, ‘भोजपुरमा गरिबी, अभाव, पछौटेपन, भेदभाव र असमानता समाप्त गर्दै सामाजिक न्याय र समानतामा आधारित सुसंस्कृत, समतामूलक र समृद्ध भोजपुर निर्माण गर्न चाहन्छौं ।’

एमाले र गठबन्धनबीचको यो चुनाव नियमित निर्वाचन मात्रै नभएर ‘मुलुकलाई समाजवादी बाटोमा लैजाने कि नवउदारवादी बाटोमा लैजाने ? दक्षिणपन्थी अवसरवादीले जित्ने कि देशभक्त क्रान्तिकारीहरूले जित्ने ? त्यसका निम्ति जनमतसंग्रह’ पनि भएको एमालेले उल्लेख गरेको छ ।

अपिलको पूर्णपाठ

आदरणीय भोजपुरवासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू ।
अभिवादन !
स्थानीय तह निर्वाचन २०७९ को पूर्वसन्ध्यामा नेकपा (एमाले) भोजपुर हार्दिक अभिवादन व्यक्त गर्दछ । यो ऐतिहासिक क्षणमा राष्ट्रिय स्वतन्त्रता, सामाजिक न्याय, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना एवं समाजवादी ध्येयका आन्दोलन र क्रान्तिमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने आदरणीय अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, महान् सहिदहरू, आन्दोलनका अग्रजहरू, आन्दोलन र संघर्षका योद्धाहरू एवं आमजनसमुदायको सपना, अपेक्षा र आकांक्षा पूरा गर्ने दृढसंकल्प नेकपा (एमाले) भोजपुरको तर्फबाट गर्दछु ।
नेपालको राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, राष्ट्रिय स्वाभिमान र नेपाली हित रक्षाको नेतृत्व जनताको प्रिय पार्टी नेकपा (एमाले) ले गर्दै आएको छ । जनअधिकार र देशभक्तिको पर्याय बनेको नेकपा (एमाले) ले देशभक्तिपूर्ण आन्दोलनसँगै सामाजिक–आर्थिक रूपान्तरणको नेतृत्व गर्दै आएको छ । यहाँहरूलाई थाहा छ, ‘राजनीतिक क्रान्ति र आर्थिक क्रान्तिको नेतृत्वकर्ता हाम्रो पार्टीविरुद्ध परिर्वतन विरोधी, समृद्धि विरोधी, दक्षिणपन्थी अवसरवादीहरूले चौतर्फी घेराबन्दीको असफल प्रयास गरेका छन् ।’ जनताको प्रिय पार्टी नेकपा (एमाले) लाई कमजोर बनाएर ‘समृद्ध नेपाल : सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा हुन नदिने षडयन्त्रमा सत्ता स्वार्थका निम्ति बनेको ५ दलीय गठबन्धन लागिपरेको छ । यही अवस्थामा आगामी ३० वैशाख २०७९ मा स्थानीय तहको निर्वाचन सम्पन्न हुन गइरहेको छ ।
यहाँहरूलाई थाहा छ, अधिकारसम्पन्न स्थानीय सरकार नेकपा (एमाले) को निरन्तरको संघर्ष र अडानको प्रतिफल हो । जनताको घर–आँगनमा पुग्न सके मात्रै लोकतन्त्रले सार्थकता पाउने हाम्रो पार्टीको दृढ मान्यता रहिआएको छ । स्थानीय स्वायत्त शासन ऐन, २०५४ हाम्रो पार्टीको अवधारणा हो । समावेशी प्रतिनिधित्व र विकास निर्माण एवं साधन–स्रोतमा जनताको स्वामित्वले मात्रै लोकतन्त्रलाई सुदृढ गर्न सक्ने विश्वासका साथ हाम्रो पार्टीले ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम अगाडि सारेको थियो । यसपालि ‘सुशासन, समृद्धि र समाजवादको आधार : पालिका–पालिकामा एमालेको सरकार’ लाई मूल नारा बनाएर हाम्रा उम्मेदवार तपाईंहरूका घरदैलोमा आइरहनुभएको छ । तपाईंहरूले मनले स्वागत गरिरहनु भएको छ ।
हामीलाई थाहा छ, नेकपा (एमाले) मात्रै होइन, तपार्इंहरूका घरआँगनमा अन्य विभिन्न राजनीतिक दलका उम्मेदवार पनि मत माग्न आइरहेका छन् । आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् । तर, यो निर्वाचन पूर्वसन्ध्यामा हामी बढो स्पष्ट हुनुपर्छ, अब हाम्रोसामु मात्रै दुइटा बाटा छन् । पहिलो, समाजवादी बाटो हो, जुन नेकपा (एमाले) ले हिँडेको बाटो हो । एमालेको बाटो हो । हाम्रो बाटो त्यो बाटो हो, ‘हामी पुँजीवादविरुद्ध लड्दै राष्ट्रिय पुँजीको विकास गरेर समाजवादको आधार निर्माण गर्न चाहन्छौं ।’ हाम्रो उज्यालो त्यो हो, ‘जहाँबाट हामी ‘समृद्ध नेपाल ः सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा गर्दै वर्तमान र भावी पुस्ताका लागि समृद्ध, सबल र विकसित भोजपुर एवं न्यायपूर्ण र समतामूलक समाज हस्तान्तरण गर्न चाहन्छौं ।’ हाम्रो बाटो त्यो हो, ‘त्यो बाटोबाट हामी भोजपुरमा गरिबी, अभाव, पछौटेपन, भेदभाव र असमानता समाप्त गर्दै सामाजिक न्याय र समानतामा आधारित सुसंस्कृत, समतामूलक र समृद्ध भोजपुर निर्माण गर्न चाहन्छौं ।’
दोस्रो, नवउदारवादी बाटो । जसको नेतृत्व नेपाली कांग्रेसले गर्छ । कांग्रेसको बाटो त्यो हो, जुन बाटोमार्फत कांग्रेस उसका सहयोगी गठबन्धन दलहरू उदारवादी अर्थव्यवस्थाबाट नेपाललाई साम्राज्यवादीको बजार बनाउँदै मुलुकलाई परनिर्भरतामा धकेल्न चाहन्छ । राज्य नागरिकका सबै प्रकारको उत्तरदायित्वबाट भागेर मुठ्ठीभरका दलाल पुँजीपतिहरूको सेवा गर्न चाहन्छ । आफ्नो स्वार्थका निम्ति राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय स्वाभिमान विदेशीको पाउमा बुझाउन चाहन्छ । सम्पूर्ण रूपले हामीलाई परनिर्भरतामा धकेलेर सुन्दर मुलुक नेपाललाई विदेशीको क्रिडास्थल बनाउन चाहन्छ ।
यो निर्वाचन केवल नियमित निर्वाचन मात्रै होइन । मुलुकलाई समाजवादी बाटोमा लैजाने कि नवउदारवादी बाटोमा लैजाने ? दक्षिणपन्थी अवसरवादीले जित्ने कि देशभक्त क्रान्तिकारीहरूले जित्ने ? त्यसका निम्ति जनमतसंग्रह पनि हो । हाम्रासामु प्रश्न छ, ‘स्वाधीनताले जित्ने कि पराधिनताले ? हामीलाई गहिरो विश्वास र भरोसा छ, ‘समृद्ध नेपाल : सुखी नेपाली’ को हाम्रो साझा सपना र संकल्पको पक्षमा नेपाली जनता उभिनेछन् । यो चुनाव विकास र समृद्धिले जित्नेछ । राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय स्वाभिमानले जित्नेछ । अर्थात्, नेकपा (एमाले) ले जित्नेछ ।
आदरणीय भोजपुरे दिदीबहिनी तथा दाजुभाइहरू !
हामीलाई थाहा छ, ‘भोजपुर र भोजपुरेहरूको इतिहास गौरवमय छ ।’ यो गौरवमय इतिहासको विरासतमा उभिएर हाम्रो सुदूर भविष्यलाई सुन्दर बनाउने अभिभारा हाम्रै काँधमा छ । राजनीतिक परिवर्तन अर्थात् व्यवस्था बदल्नका निम्ति नेकपा (एमाले) भोजपुरका नेताहरूले निर्वाह गरेको भूमिका असाध्यै गौरवमय छ । हाम्रासामु प्रश्न छ, ‘परिर्वतनको नेतृत्व गर्ने नेकपा (एमाले) भोजपुरले विकास र समृद्धिको नेतृत्व गर्न सक्छ त ?’ हाम्रो सहज उत्तर छ, ‘अब भोजपुरको विकास र समृद्धिको नेतृत्व पनि नेकपा (एमाले) ले नै गर्नेछ ।’ हामीले यो चुनावी नारा वा लहडको भरमा भनिरहेका छैनौं । यसका निम्ति हामीसँग स्पष्ट योजना र मार्गचित्र छ ।
यहाँहरूलाई थाहा छ, क्रान्तिको सन्दर्भमा पढिरहुँ लाग्ने इतिहास निर्माण गरेका भोजपुरेहरूलाई समृद्धिको सन्दर्भमा हेरिरहुँ लाग्ने बनाउनुपर्ने अभिभारा छ । यही युगीन अभिभारालाई केन्द्रमा राखेर नेकपा (एमाले) भोजपुरको प्रस्ताव, पहलकदमी र अगुवाइमा ‘भोजपुरको विकास र समृद्धिको रणनीति गुरुयोजना–२०७९’ निर्माण भएको छ । विकास र समृद्धिको हिसाबले भोजपुर कहाँ आइपुग्यो ? अबको समृद्धिको हाम्रो दिशा कस्तो हुनेछ ? तिनका चरणहरू के–के हुनेछन् ? कति समयमा कुन–कुन क्षेत्रको विकास हुनेछ ? समृद्धिको हाम्रो मानक के हो ? कस्ता हुनेछन् ? यी तमाम प्रश्नको एकमुष्ट उत्तरको रूपमा नेकपा (एमाले) भोजपुरले ‘भोजपुरको विकास र समृद्धिको रणनीति गुरुयोजना–२०७९’ तयार पारेको हो । तसर्थ, भोजपुरको विकास र समृद्धिको प्रश्नमा नेकपा (एमाले) अबको निर्विकल्प शक्ति र नेतृत्वकर्ता हो ।
माथि सिलिछो चुचुरोदेखि पर टेम्केसम्म, माथि इरखुवादेखि, पिखुवा र तल अरुणको गढतिरसम्मका जनतालाई कसरी सुखी र खुसी बनाउने ? नेकपा (एमाले) भोजपुरसँग स्पष्ट खाका र मार्गचित्र छ । हाम्रो भोजपुरको छाती भएर बगी जाने इरखुवा, पिखुवा, चिर्खुवा, ककुवा, छिन्तालु, अखुवा, वुवा, जुके, सिक्देल, कावा, नेवासुखे, सिसुवाहरूले भोजपुरे जनताको जीवनमा कसरी उज्यालो ल्याउन सक्छन् ? त्यो हामीलाई थाहा छ । भोजपुरलाई छोएर बग्ने अरुण र दूधकोसीलाई हाम्रो समृद्धिको आधार कसरी बनाउन सकिन्छ ? त्यसको पहदकदमी हामी लिन सक्छौं । साल्पा पोखरी, पाँचकन्या पोखरी, हाँस पोखरी, भविष्यवक्ता पोखरी र च्यांग्रे पोखरी, साउनेडाँडा पोखरीलाई कसरी जनताको समृद्धिसँग जोड्न सकिन्छ ? यसको योजना हामीसँग छ ।
भोजपुर बजार, दिङ्ला बजार, घोरेटार, दाँवा बजार, कुलुङ बजार, च्यांग्रे बजार, तिवारी भन्ज्याङ, चौकीडाँडा बजार, बालुवानी बेंसी, फेदी, मानेडाँडा, चम्पे बजार, पाल्पाले बजार, प्याउली बजार, चरम्बी बजार, वोया बिहीबारे बजार, झ्याउँपोखरी बजारलाई कस्तो सहर बनाउने ? कसको सहर बनाउने ? हामीसँग स्पष्ट मार्गचित्र छ । कस्तो सडक हुने ? शिक्षा, स्वास्थ्य, खानेपानीदेखि रोजगारीका अवसर कसरी सिर्जना गर्ने ? त्यो हामीसँग तथ्यपूर्ण योजना छ । माथि तेन्जिङ हिलारी पदमार्गदेखि मुन्धुम पदमार्गमा कसरी पर्यटक ल्याउने ? त्यो योजना हामीसँग छ । चिर्खुवा झरना, छरछरे झरना, याङ्वा झरना, महभीर झरना, सावा झरना, तमाखे झरनालाई पर्यटनसँग कसरी जोड्ने ? हामीलाई थाहा छ । नागझागा, गोल्माराजा–गोल्मारानी, धिन्ताङ, साम्खाचुलीहरूको महत्व हामीलाई थाहा छ ।
भोजपुरमा रहेका ऐतिहासिक गढी हतुवागढी (घोरोटार), चेवाङ गढी (याकु), याङपाङ गढी ( याङपाङ), देउराली गढी (देउराली), दिङ्ला गढी (दिङ्ला), कुलुङ गढी (कुलुङ), पौवा गढी (तिवारी भन्ज्याङ), सिद्धि गढी (भोजपुर), खिखाम्छा गढी (टक्सार), सिक्देलद्धिपुर गढी (कोट), गढीटार गढी (अन्नपूर्ण), सम्सोहाङ गढी (तिम्मा), पाप्पामाखाम गढी (ओख्रे), आमचोक गढी (युँ), हिमाङ गढी (माने भन्ज्याङ), सानोदुम्मा गढी (सानोदुम्मा) रदीर्घे गढी (सानोदुम्मा) को महत्वबारेमा हामीलाई थाहा छ । यी ऐतिहासिक सम्पदा हाम्रा गौरव मात्रै होइनन्, समृद्धिका आधार पनि हुन्, हामीलाई थाहा छ ।
भोजपुरको शिरमा रहेको सिद्धकाली, सन्तानेश्वर महादेवस्थान (सानोदुम्मा), कालिकादेवी, टक्सार गणेशस्थान, षडेश्वर शिवालय (दिङ्ला), योगमाया शक्तिपीठ (मझुवाबेंसी, नेपालेडाँडा), पखुवा (बोया भीरथाप्ला), गोरुकाटे डाँडा (कुलुङ), डेलीढुंगा (ताल, चौकीडाँडा), डेलीखर्क गुम्बा (खाटाम्मा), टाँसी छोलिङ् गुम्बा (बोया पात्ताल), असंख्य साकेला थानहरूको महत्व र सम्भावनाबारे हामी जानकार छौं । भोजपुरे खुकुरीदेखि टक्सारको करुवाको गाथा र महिमा हामीलाई थाहा छ ।
पालिका स्तरका गौरव योजना, जिल्लास्तरीय गौरव आयोजना र भोजपुरलाई केन्द्र बनाएर बनाउने सकिने राष्ट्रिय गौरवका योजनाबारेमा हाम्रो प्रस्ट खाका छ । हामीले केवल सडक बनाउने योजना मात्रै बनाएका छैनौं । त्यो सडक बन्दै गर्दा त्यहाँ गुड्ने गाडीसँग स्थानीय जनताको समृद्धि कसरी जोडिनेछ ? त्यसको खाका पनि बनाएका छौं । हामीले प्रस्ट भन्छौं, ‘हाम्रा जनप्रतिनिधि शासक होइनन्, सेवक हुनेछन् । हाम्रा जनप्रतिनिधि सामाजिक जागरण र विकासका अभियन्ता हुनेछन् ।’ हाम्रा जनप्रतिनिधि जहाँ हुनेछन्, त्यहाँ सुशासनको ग्यारेन्टी हुनेछ । हाम्रा प्रतिनिधिहरूले भ्रष्टाचार गर्ने छैनन् । उनीहरूले सदाचारका दृष्टान्त स्थापित गर्नेछन् ।
तसर्थ, भोजपुरे जनतालाई हाम्रो अपिल छ, ‘सूर्य चिह्नमा मतदान गरेर नेकपा (एमाले) का उम्मेदवारहरूलाई विजयी गराउनुहोस् । हामी ‘समृद्ध भोजपुर : सुखी भोजपुरे’ को प्रतिबद्धता पूरा गर्नेछौं ।’ तपाईँहरुले आफ्नो अमूल्य मत सूर्य चिह्नमा दिएर नेकपा (एमाले) का सबै उम्मेदवारहरूलाई विजयी गराउनुहुनेछ, त्यो हाम्रो सिलिछो–टेम्केजस्तै अग्लो विश्वास हो, साल्पाजस्तै गहिरो भरोसा हो । हामी ‘समृद्ध भोजपुर : सुखी भोजपुरे’ बनाउनेछौं’ । यो हाम्रो प्रतिबद्धता, संकल्प र दृढता हो ।
हार्दिक अभिवादनसहित !
…………………….
क. शरणकुमार राई
अध्यक्ष

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर