एमाले उपाध्यक्ष ज्ञवालीले मागे प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा – Nepal Press

एमाले उपाध्यक्ष ज्ञवालीले मागे प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा

दाङ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका छन् । एमाले उपाध्यक्ष ज्ञवालीले गृह जिल्ला दाङ पुगेर प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका हुन् ।

प्रेस चौतारी दाङले साेमबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उनले सरकारको गलत नीतिका कारण अर्थतन्त्र टाट पल्टिएको बताए । सरकारले आफ्नो गलत कामको ढाकछोप गर्न गभर्नरलाई बर्खास्त गरेको भन्दै उनले सर्वोच्च अदालतले गभर्नरलाई पुनर्बहाली गरेपछि सरकारको गलत नियत छताछुल्ल भएको टिप्पणी गरे ।

अदालतले गभर्नर बर्खास्त गर्ने सरकारको निर्णय खारेज गरेकाले प्रधानमन्त्री र अर्थमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने उपाध्यक्ष ज्ञवालीको भनाइ छ । ज्ञवालीले गठबन्धन सरकारले देशको अर्थतन्त्र तहसनहस पारेको आराेपसमेत लगाए ।

उपाध्यक्ष ज्ञवालीले स्थानीय तहकाे निर्वाचन पुँजीवाद र समाजवादको लडाइँ भएकोसमेत बताए । ‘स्थानीय तहको निर्वाचन पुँजीवाद र समाजवादको लडाइँ हो’, ज्ञवालीले भने, ‘पुँजीवादको नेतृत्व कांग्रेसले गरेको छ भने समाजवादी शासनको नेतृत्व एमालेले गरेको छ ।’

कांग्रेसलाई जिताए प्रतिगमनको पुनरागमन हुने भन्दै उनले जनताको शासन चाहनेले एमालेका पक्षमा मतदान गर्नुपर्ने बताए । कांग्रेसको शासनकालमा भ्रष्टाचारमात्रै बढेको र जनताको जीवनस्तरमा कुनै परिवर्तन नभएको उनको भनाइ छ । ६० प्रतिशत नयाँ मतदाता एमालेको पक्षमा भएको उनले दावी गरे ।

उपाध्यक्ष ज्ञवालीले तेस्रो वरियताको व्यक्तिलाई आईजीपी नियुक्त गरेर विधिको शासनको खिल्ली उडाएकोसमेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर