एमाले भोजपुरको ‘समृद्धि गुरुयोजना’- कृषि, पूर्वाधार, उत्पादन र रोजगारमा जोड – Nepal Press
स्थानीय निर्वाचन

एमाले भोजपुरको ‘समृद्धि गुरुयोजना’- कृषि, पूर्वाधार, उत्पादन र रोजगारमा जोड

तीनवटै चुनावका लागि ९ वटै पालिका र जिल्लाको गौरवका योजनाका एजेण्डा तयार

भोजपुर । नेकपा एमाले भोजपुरले जिल्ला समृद्धिको रणनीतिक गुरुयोजना तयार पारेको छ ।

पूर्वाधार, विद्युत, कृषि तथा पशुपालन, पर्यटन, रोजगार, सामाजिक क्षेत्रको योजनाबद्ध विकास गर्ने लक्ष्यका साथ एमालेले गुरुयोजना ल्याएको हो । एक कार्यक्रमका बीच एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले उक्त रणनीतिक गुरुयोजना सार्वजनिक गरेका छन् ।

‘समृद्ध भोजपुर, सम्मानित भोजपुरे’ दीर्घकालीन सोचका साथ तयार पारिएको गुरुयोजनालाई ‘समृद्ध भोजपुर र सम्मानित भोजपुरेको आधार कृषि, पूर्वाधार, उत्पादन र रोजगार’ मूल नारा दिइएको छ ।

विकासको वर्तमान अवस्थालाई टेकेर दूरदृष्टि राख्दै ९ वटै पालिका र जिल्लाको गौरवका योजना अघि सारिएको एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले बताए । यस रणनीतिक योजनालाई स्थानीय, प्रदेश र संघको निर्वाचनका चुनावी एजेण्डा बनाउने साथै त्यसैलाई कार्यान्वयन गराउनतर्फ लाग्ने उनको भनाइ छ ।

यो एमालेको मात्र नभइ जिल्लाको विकास र समृद्धिसँग गाँसिएको योजना भएकाले अन्य पार्टीलाई रोडम्याप बन्ने राई बताउँछन् ।

‘हामीले टोल तहदेखि विभिन्न क्षेत्रका विज्ञहरूसँगको छलफल र सुझावका आधारमा गुरुयोजना तयार पारेका छौं । यो त हाम्रा लागि गतिलो दस्तावेज हो । भोजपुरकै विकासका लागि भएकाले अन्य राजनीतिक दललाई पनि यो गतिलो मार्गचित्र बन्नेछ’, उनले भने ।

एमालेले पालिकास्तरमा ५ र १० वर्षभित्रमा गर्न सकिने काम पनि अघि सारेको छ ।

हरेक वडासम्म पक्की सडक, सुन्दर एकीकृत बस्तीको विकास, सबैको घरमा खानेपानी, ५ वर्षभित्र सबै घरधुरीमा बिजुली, खेतीयोग्य जमिनमा सिँचाइ, कृषि र पशुपालनमा सहकारीसँगको सम्बन्ध विस्तार, हरेक घरमा उद्यमी, प्राविधिक तथा गुणस्तरीय शिक्षालगायतका विषय गुरुयोजनामा समेटिएका छन् ।

एमाले भोजपुरले विज्ञहरू प्रकाश राई, बालकृष्ण दाहाल, राजेश राईको सहयोगमा गुरुयोजना तयार पारेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर