किन नेकपा एसका अध्यक्ष उम्मेदवारलाई कान समातेर उठबस गराए स्थानीयले ? (भिडिओसहित) – Nepal Press

किन नेकपा एसका अध्यक्ष उम्मेदवारलाई कान समातेर उठबस गराए स्थानीयले ? (भिडिओसहित)

सुर्खेत । कालिकोटको नरहरीनाथ गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष उम्मेदवार धिरबहादुर विष्टलाई स्थानीय युवाले कान समातेर उठबस गराएका छन् । विष्टले सरकारी गाडी दुरुपयोग गरेको र सार्वजनिक स्थलमा मदिरापान गरेको भन्दै स्थानीय युवाले माफी मगाउँदै उठबस गर्न लगाएका हुन् ।

विष्टसँगै मदिरा सेवनमा सहभागी नरहरीनाथ– ७ का वडाअध्यक्ष दलबहादुर विश्वकर्मालाई पनि स्थानीयले उठबस गराएका छन् । उनीहरुले उठबस गराएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

भिडिओमा देखिन्छ– सुर्खेतको एक होटलमा सरकारी गाडीसहित उनीहरु मदिरा सेवन गरिरहेको अवस्थामा केही युवा फेला पार्छन् । विष्टले माफी माग्छन् । र पनि उठबस गराएरै छाड्छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित विष्टले केही दिनअघि अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

अध्यक्ष विष्टले आफूमाथि सुनियोजित रुपमा प्रहार गर्न थालिएको बताए । ‘भिडियो कहाँ खिचेका हुन् थाहा भएन, को–को हुन् भन्ने पनि म चिन्दिनँ’, उनले नेपालप्रेससँग भने, ‘अहिले मेरो पक्षमा माहोल बन्दै गएको छ । त्यसैले सुनियोजित प्रहार भयो ।’

उनले आफूसँग पैसा मागेको र नदिएपछि भिडिओ सार्वजनिक गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर