कांग्रेसले थप दुई बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन गर्‍यो – Nepal Press

कांग्रेसले थप दुई बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन गर्‍यो

खोटाङ । नेपाली कांग्रेस खोटाङले आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थप दुई उम्मेदवारलाई पार्टीबाट निष्कासन गरेको छ ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा कांग्रेसकातर्फबाट उठाइएका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका क्षेत्रीय प्रतिनिधि राजेन्द्र राई र खोटेहाङ गाउँपालिका–८ सिमपानीको वडाध्यक्षको पदमा आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका क्षेत्रीय प्रतिनिधि चन्द्रबहादुर थापालाई कारबाही गरेको हो ।

दुवै स्वतन्त्र उम्मेदवारलाई कांग्रेसको विधान २०१७ (संशोधन सहित) को दफा ३४ को उपदफा ४ ९क० बमोजिम ५ वर्षका लागि पार्टीको साधारण सदस्यता नरहने गरी निष्कासन गरिएको नेपाली कांग्रेस खोटाङका अनुशासन समितिका संयोजक एवं जिल्ला सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिएका छन् ।

कांग्रेसले स्वतन्त्र उम्मेदवार राई र थापाका प्रस्तावक र समर्थकलाई सोही बराबरको कारबाही गरेको छ । कारबाहीमा परेका राई पूर्वगाबिस अध्यक्ष र थापा निवर्तमान वडाध्यक्ष हुन् ।

यसअघि १७ वैशाखमा कांग्रेसले ऐसेलुखर्क गाउँपालिका अध्यक्षको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सन्तवीर तामाङलाई पनि कारबाही गरेको थियो । पाँच वर्षका लागि पार्टीबाट निष्कासनमा परेका तामाङ कांग्रेसका पालिका सभापति हुन् ।

ऐसेलु खर्कमा कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका श्रीबहादुर राई उठेका छन् । कांग्रेसबाट उपाध्यक्षमा राजेश राज भण्डारी उम्मेदवार छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ऐसेलुखर्क गाउँपालिकामा कांग्रेसका विश्वनाथ निरौला विजयी भएका थिए ।

यसअघि जितेका दललाई सम्बन्धित पालिकाको प्रमुख दिने केन्द्रीय सहमति विपरीत जिल्लामा अन्य दललाई गाउँपालिकाको नेतृत्व दिने निर्णय गरेको विरोधमा तामाङले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर