कता अलप भइन् ‘तारे भिरमा प्रितिको फूल रोपेकी’ पवित्रा ?
त्यो क्रेज सम्झँदा सपनाजस्तो लाग्छ गायिका पवित्रा सुब्बालाई
‘तिमी तारे भीर म त लहरा
तिमी मैमा लहराउँछौं, म त सहरा’
पचासको दशकमा यो गीत नबजेको रेडियो कमै भेटिन्थे । यो गीत नसुन्ने स्रोता पनि कमै भेटिन्थे । यो गीतसँगको धूमिल सम्झनाहरुमा रुमल्लिएका मान्छे अझैं पनि प्रशस्तै भेटिन्छन् । गायिका पवित्रा सुब्बाको लागि त यो गीत सांगीतिक करियरकै थोरै उत्कृष्ट गीतमध्ये एक गीत बनिदियो ।
‘शैली’ एल्बममा समावेश यो गीतसँगै अर्को गीत पनि छ, ‘प्रितीको फूल’ । यी दुई गीतले पवित्रालाई सेलिब्रेटीको आसनमा पुर्यायो । यी दुई गीतले नै पवित्रालाई स्टेज चढायो । यी दुई गीतले नै पवित्रालाई हजारौं स्रोतामाझ पुर्यायो । अहिले पनि पवित्रा भन्छिन्, ‘मैले उतिधेरै गीत गाइनँ । जति गीत गाएँ, तीमध्ये यी दुई गीत मेरो सांगीतिक करियरकै विशेष गीत रह्यो ।’
२०४६–४७ तिर पवित्रा आफ्नो सोलो एल्बमको तयारीमा थिइन् । उनलाई राम्रो गीतहरु चाहिएको थियो । गीतकै खोजी गर्ने क्रममा फिल्म निर्देशक नवीन सुब्बाले सुझाए, ‘दुईजना युवा संगीतकार र गीतकार हुनुहुन्छ । उहाँहरुसँग एकपटक छलफल गर्नु ।’
गीतकार श्रवण मुकारुङ र संगीतकार शान्तिराम राई सहरमा संघर्षरत थिए । पवित्राले भने फाट्टफुट्ट गीतहरु गाइसकेकी थिइन् । नवीन सुब्बाको सुझाव अनुसार पवित्राले श्रवण र शान्तिरामसँग चिनापर्ची गरिन् । भेटकै क्रममा शान्तिरामले नयाँ गीत सुनाए, ‘तिमी तारे भिर’ । पवित्रा भन्छिन्, ‘मलाई त गीत सुन्नसाथ यति साह्रो मनपर्यो कि यो गीत चाहिँ म नै गाउँछु भनेर उहाँहरुलाई भनेँ । पछि गीत रेकर्ड हुँदा थाहा भयो, मन परेको गीत गाउन त एकदमै सजिलो हुनेरहेछ ।’
त्यसबेला कुपण्डोलमा साङ स्टुडियो थियो । त्यस समयकै राम्रो स्टुडियो । उनले त्यहीँ गीत रेकर्ड गराइन् । र गीतकार–संगीतकारलाई गीत सुन्न निम्ता दिइन् । दुवै आए, गीत सुने ।
झण्डै साढे तीन दशकको त्यो पल सम्झिन्छिन् पवित्रा, ‘उहाँहरु गीत सुनेपछि बोल्नै सक्नुभएन । तारिफ गर्न पनि सक्नुभएन । शान्तिराम जीले ‘एकदमै राम्रो छ’ भन्नुभयो । श्रवण जी त कम बोल्नुहुन्थ्यो, उहाँले टाउको मात्रै हल्लाउनुभयो ।’
पवित्राको अर्को गीत छ, ‘प्रितीको फूल’ । यो गीत गीतकार तथा संगीतकार सरोज कार्थकबाट लिएकी थिइन् । कार्थकबाट गीत सुन्नसाथ पवित्रालाई एकदमै मन परेपछि सुनेकै ठाउँमा पक्का गरेकी थिइन् ।
पवित्रा सुनाउँछिन्, ‘अरुको अनुरोधमा गाउँदा कहिले राम्रा गीत पर्थे, कहिले नराम्रा पर्थे । तर, आफैंले एल्बम ल्याउने भएपछि मन परेको गीत मात्रै ल्याउने सोच आयो । त्यही मेसोमा यी दुई गीत भेटिएका थिए ।’
०००
अहिले त पवित्रा उमेरले म्युच्युर्ड भइसकिन् । लामो समय विदेश बसिन् । आजभन्दा १८ वर्षअघि विवाह गरेपछि यस क्षेत्रमै सुनसान बनिन् । क्लोज सर्कलका साथीभाइको सम्पर्कबाट टाढा भइन् । खासमा सांगितिक दुनियाँबाटै अलप भइन् ।
पवित्रा अलप भए पनि उनको गीतहरु स्रोताले खोजिरहेकै थिए, सुनिरहेकै थिए । बीचमा आफू अचानक अलप हुनुको पीडाले थिच्थ्यो उनलाई । तर, पारिवारिक र नीजि जीवनको वासलात मिलाउँदा मिलाउँदै समय यस्सै बितेर गयो ।
अहिले एक नयाँ गीतको तयारी गरिरहेकी पवित्रा सांगीतिक दुनियाँमा भने उस्तो सक्रिय छैनन् । आफ्नै पुराना गीतहरु खोजेर आफ्नै युट्युब च्यानलमा अपलोड गरिरहेकी छन् । पुराना गीतसँगै पुराना दिनहरुमा पुग्छिन् । ती स्वर्णिम दिनहरुमा पवित्राको जिन्दगी पनि कति स्वर्णिम थियो भने स्रोताहरुको अथाह माया पाएकी थिइन् ।
२०५० सालमा पवित्रा आफ्नो सोलो एल्बमको तयारीमा थिइन् । उनलाई राम्रो गीतहरु चाहिएको थियो । गीतकै खोजी गर्ने क्रममा फिल्म निर्देशक नवीन सुब्बाले सुझाए, ‘दुईजना युवा संगीतकार र गीतकार हुनुहुन्छ । उहाँहरुसँग एकपटक छलफल गर्नु ।’
गीतहरु रेकर्ड गर्नलाई भ्याइनभ्याइ थियो । पवित्रा सुनाउँछिन्, ‘विवाह गरेपछि गाउने काम चटक्कै छाडेँे । घर व्यवहारमा बिजी भइयो । तर, जति अलप भए पनि संगीतप्रतिको जुनुन र मोह जाँदैन रहेछ, अहिले पनि उस्तै जोश छ ।’
अहिले पनि वेलावेला पुराना फ्यानहरुले म्यासेजहरु गर्छन् उनलाई सामाजिक संजालमा । उनीहरुले गर्ने म्यासेजले पनि पवित्रालाई झस्काइदिन्छ । पुराना साथीभाइहरुसँग बेलाबेला गफ गर्छिन् । ती गफहरुले पनि पवित्रालाई झस्काइदिन्छ । र पुग्छिन्, पचासको दशकका ती दिनहरुमा ।
‘अहिले हुने हरेक घटनाले फ्लासब्याकमा लगिदिन्छ । त्यो बेला यस्तो थियो, उस्तो थियो लाग्छ । आफूले गरेका दुःख, कष्टहरुको याद आउँछ । करियर पिकमा थियो । अहिले सम्झँदा त सपनाजस्तो लाग्छ,’ पवित्रा भन्छिन्, ‘विवाह अचानक भयो । विवाहपछि विदेशमा बस्नुपर्यो । त्यसबेला यो क्षेत्र छाड्नुमा खासै दुःख लागेको थिएन । स्रोतालाई चाहिँ ढाँटे कि जस्तो लाग्छ । तर पनि अब चाहिँ ब्रेक लिन्छु भन्ने पनि लागेको थियो । मेरो स्वभाव पनि होहल्लाभन्दा अलि परै बस्ने खालको छ ।’
०००
त्यसबेला पवित्रा पद्मकन्या क्याम्पस पढ्थिन् । मैतीदेवीमा डेरा लिएर बस्थिन् । र बाँकी समय धून र सूर खोज्नमा लगाउँथिन् । पैदल हिँडेरै कलेज–कोठा गर्थिन् । पैदल हिँडेरै कोठा–स्टुडियो गर्थिन् । रेडियो नेपालसम्म हिँडेरै पुग्थिन् घट्टेकुलोको बाटो हुँदै ।
धरानबाट गायिका हुन आएकी पवित्राले २०४६ सालमा पहिलो गीत दिनेश सुब्बाकाे ‘थाहा नपाइ मेराे माया’ र शक्ति बल्लभकाे ‘चन्द्रमा र चखेवाको मिलन’ रेकर्ड गराइन् । उनी कलेज पढ्दै संगीत सिकिरहेकी थिइन् । त्यसैबेला धर्मेन्द्र सुब्बाले गीत गाउन अफर गरे । धर्मेन्द्रले नयाँ एल्बम ल्याउन लागेका थिए ।
पवित्रा सुनाउँछिन्, ‘काठमाडौं भर्खरै आएकी थिएँ । म डिल्ली बजार बस्थेँ । चारपाँचजना मिलेर रुम सेयर गरेर बसेका थियौं । धर्मेन्द्र सुब्बासँग साइनो पनि लाग्ने भएकाले उहाँले संगीतप्रतिको मेरो चासो देखेर अफर गर्नुभएको थियो ।’
म्युजिक नेपालमार्फत् आएको गीतलाई स्रोताहरुले रुचाइदिए । साथै यसको भिडियो पनि बनाउनका लागि नेपाल टेलिभिजनले अफर गर्यो । भिडियो निर्माण पनि भयो । २०४६ सालमा रेकर्ड भएको यस गीतको पारिश्रमिक स्वरुप दुई सय पचास रुपैयाँ पनि पाएकी थिइन् ।
यसपछि पवित्राको सांगितिक करियरले उडान लिन सुरु गर्यो । ‘शैली’ एल्बम ल्याएपछि पवित्रा सांगितिक क्षेत्रमा झनै फैलिई । सुकमित गुरुङ, कुन्ति मोक्तान, सुनिता सुब्बा, मिरा राणासँग स्टेज सेयर गर्न थालिन् ।
धरानबाट गायिका हुन आएकी पवित्राले पहिलो गीत रेकर्ड गराइन्, ‘चन्द्रमा र चखेवाको मिलन कहिले हुने’ । उनी कलेज पढ्दै संगीत सिकिरहेकी थिइन् । त्यसैबेला धर्मेन्द्र सुब्बाले गीत गाउन अफर गरे । धर्मेन्द्रले नयाँ एल्बम ल्याउन लागेका थिए ।
धरानमै हुँदा सुकमितको गीतहरु स्कुलदेखि गाउँतिर हुने कार्यक्रममा गाएकी पवित्रा काठमाडौं आएपछि सँगसँगै कार्यक्रममा भेट हुन थालिन् । भन्छिन्, ‘उहाँहरुसँग छोटो समयमै संगत गर्न पाएँ । तारा थापा, सुकमित दिदीहरुसँग सँगै गाउन पाउँदा खुसी भएकी थिएँ । साथसाथै नर्भस पनि भएकी थिएँ ।’
अहिले पनि बेलाबेला संजालमा सुकमित, तारा, विमला राईहरुसँग पवित्राको कुराकानी हुन्छ । पवित्रा सुनाउँछिन्, ‘उहाँहरुसँग कुरा गर्दा जमाना बदलिएजस्तो लाग्छ । पुरानो चिनेको मान्छे भेट्दा अर्कै खालको अनुभूति हुन्छ ।’
सन् २०१५ मा पवित्रा नेपाल फिरिन् । अब नेपाल नै बस्ने योजनामा छिन् । तर, यसबीचमा सांगितिक क्षेत्रबाट गुमनाम नै बनिन् । उनकै समकालीन साथीहरुले सांगितिक यात्रालाई निरन्तरता पनि दिए । पवित्राले भने क्षेत्र नै चटक्कै छाडिन् । पवित्रा सुनाउँछिन्, ‘विवाहित र एक्लो जीवन फरक भइहाल्छ । विवाहित जीवनमा त्यति फुर्सद हुँदैन । त्यसैले म ब्याक भएँ । फेरि संघर्ष गर्न पनि चाहिनँ । जति गरेँ, आफ्नो समयमा गरेँ ।’