वैशाख ३० गते मतदानको दिन आन्तरिक यातायातका साधन बन्द हुने – Nepal Press

वैशाख ३० गते मतदानको दिन आन्तरिक यातायातका साधन बन्द हुने

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते निर्वाचनका दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने निर्णय गरेको छ । निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन वैशाख ३० गते मतदानको दिन यातायात बन्द गर्ने निर्णय भएको आयोगले जनाएको हो ।

तर, अत्यावश्यक सेवाका र कुटनीतिक नियोगका सवारी साधान भने सञ्चालन भइरहने र त्यसका लागि कुनै अनुमति नलिनुपर्ने आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले जानकारी दिए । उनका अनुसार निर्वाचन सम्बन्धी कुनै कार्यमा प्रयोग नहुने गरी एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दुध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्कर्मीको आवागमनका लागि प्रयोग हुने साधन सञ्चालनका लागि कुनै पनि अनुमति चाहिने छैन ।

यस्तै अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगका सवारी साधनको हकमा पनि सवारी अनुमतिपत्र लिनुपर्ने छैन ।

साथै स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मको लागि तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य पुर्ण रुपमा निषेध गर्ने निर्णय पनि आयोगले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *