कुकुरले टोकेर पार्टी फेरेको होइन, श्रीमतीलाई भोट माग्दिन: पुण्य गौतम – Nepal Press

कुकुरले टोकेर पार्टी फेरेको होइन, श्रीमतीलाई भोट माग्दिन: पुण्य गौतम

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीबाट टिका लगाउँदै पुण्य गौतम एमालेमा प्रवेश गरे । तर, उनकी पत्नी अपेक्षा अधिकारी भने एकीकृत समाजवादीमै छिन् । यति मात्र होइन, उनी सो पार्टीबाट स्थानीय चुनाव समेत लड्दैछिन् ।

गोकणेश्वर नगरपालिका–८ मा नेकपा एसले अपेक्षालाई महिला वडा सदस्यको उम्मेदवार बनाएको हो । श्रीमती र श्रीमती तिक्त सम्बन्ध भएका दुइ पार्टीमा बाँडीएपछि  घरमा भाँडभैलो नहोला ? पुण्य गौतमलाई नै यो प्रश्न सोधियो ।

सामाजिक सञ्जालमा उटपटाङ छवि बनाएका गौतमले गम्भीर जवाफ दिँदै भने, ‘यसलाई त्यसरी लिनु हुँदैन । लोकतन्त्रमा पार्टी रोज्ने व्यक्तिगत स्वतन्त्रताको कुरा हो । हामी एक–अर्काको विचार–सिद्धान्तमा हस्तक्षेप गर्दैनौं ।’

उनले उदाहरणसमेत दिए, ‘हाम्रो मात्रै यस्तो भएको होइन । जस्तो कि बसन्त मानन्धरजी समाजवादीको मन्त्री हुनुहुन्छ, उहाँको धर्मपत्नी एमालेमा हुनुहुन्छ । यस्ता अपवादहरु धेरै हुन्छन् । सहजरुपमा लिनुपर्छ ।’

त्यसो त श्रीमती अपेक्षापछि रुपान्तरण भएर एमालेमै आउने गौतमको अपेक्षा छ ।

‘उनी पनि पोलिटिकल साइन्सको एम ए हो । अहिले नबुझे पनि पछि कुरा बुझ्नेछिन्,’ उनले भने ।

पुण्यले श्रीमतीलाई पनि एमालेमा लैजान नखोजेका होइनन् । तर अपेक्षा सहमत भइनन् ।

‘म अहिले यतै रहन्छु भनिन्, मैले पनि धेरै जोड गरिनँ । पछि रुपान्तरण भएर आउने कुरा छँदैछ,’ गौतमले भने ।

पुण्यले अब श्रीमतीका लागि भोट माग्छन् कि माग्दैनन् ? आफैंले श्रीमतीलाई भोट हाल्छन् कि एमाले उम्मेदवारलाई ? पेचिलो प्रश्न खडा भएको छ ।

पुण्यले भने सहज जवाफ दिए । आफू श्रीमतीका लागि भोट माग्दै नहिँडेको र नहिँड्ने बताए । यति मात्र होइन, आफू स्वयम्ले श्रीमतीलाई भोट नहाल्ने समेत संकेत गरे ।

‘म राजनीतिक मान्छे हो । अर्को पार्टीको उम्मेदवारलाई भोट माग्ने कुरै आउँदैन,’ उनले स्पष्ट शब्दमा भने, ‘मेरो राजनीतमा नातावाद हुँदैन ।’

‘व्यक्तिको मुख हेर्दिनँ ।  मैले आफ्ना सबै साथीहरुलाई पनि भनेको छु,’ गौतमले दावी गरे । 

पुण्यकी पत्नी अपेक्षाले पनि श्रीमान एमाले प्रवेश गरेकोबारे सामाजिक सञ्जालमा प्रष्टीकरण दिएकी छन् । याे व्यक्तिगत स्वतन्त्रताकाे कुरा भएकाे उनकाे भनाइ छ ।

‘कुकुरले टोकेर एमालेमा आएको होइन’

केही दिन अगाडि मात्रै पुण्य गौतमलाई चाक्सीवारीस्थित प्रकाशमानसिंह र सिर्जना सिंहको निवासभित्र कुकुरले टोकेको थियो । अजंगको कुकुरले टोकेर घाइते बनाउँदो पनि सिंह दम्पत्तिले ‘सरी’ सम्म नभनेको भन्दै रुष्ट बनेका थिए पुण्य ।

कांग्रेस र नेकपा एस सत्तारुढ गठवन्धनमा छन् र तालमेल गरेर चुनाव लडिरहेका छन् । सिर्जना काठमाडौं महानगरको मेयरमा गठबन्धनकी साझा उम्मेदवार हुन् ।

अहिले अचानक एमाले प्रवेश गरेपछि कतिपयले त्यही कुकुरको टोकाइकै कारण उत्तेजनामा आएर पार्टी छोडेका त होइनन् भनेर समेत टिप्पणी गरे । गौतमले भने यसलाई नकारेका छन् ।

‘मानवीय संवेदना शून्य भएका, कुनै बौद्धिक चेतना नभएका नत्थु गैरेहरुले यस्तो टिप्पणी गरेका हुन् । कुकुरले टोक्यो भनेर कसैले पार्टी फेर्छ ?’ उनले भने ।

एमाले प्रवेश गर्दा गरेको भाषणमा पुण्यले आफूलाई सिर्जना सिंहको कुकुरले टोकेको गुनासो गर्दै भनेका थिए, ‘यस्ता मान्छेहरु मेयर भए भने के गर्छन् ?’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर