देउवा-मोदी भेटवार्ता लुम्बिनीमै, यस्तो छ भ्रमणको तयारी – Nepal Press

देउवा-मोदी भेटवार्ता लुम्बिनीमै, यस्तो छ भ्रमणको तयारी

हेलिकोप्टरबाट सिधै लुम्बिनीमा अवतरण गर्दै मोदी, चार हेलिप्याड बन्दै

रुपन्देही । २५६३ औं बुद्ध जयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउँदैछन् । उनको स्वागतका लागि विशेष तयारी भइरहँदा बुधबार भारतीय वायुसेनाको एउटा विमान लुम्बिनी अवतरण भयो ।

मोदीको भ्रमण सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेशल प्रोटेक्सन गार्ड) वायुसेनाको विमानबाट बुधबार लुम्बिनी ओर्लेका हुन् । सो टोलीले मोदी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने गाडी पनि ल्याएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार कूटनीतिक उडान गर्दै आएको भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ ले सुरक्षाकर्मी र गाडी लिएर आएको हो ।

दिल्लीबाट आएको उक्त विमान बुधबार बिहान सवा १० बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । भ्रमणपूर्व सुरक्षा व्यवस्था मिलाउन भन्दै भारतीय सुरक्षाकर्मी आएका छन् । वायुसेनाको विमानले सुरक्षाकर्मी र गाडी छाडेर आजै दिल्ली फिर्ता जानेछ । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपल्ट विदेशी विमान अवतरण भएको हो ।

लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार भारतीय एयरफोर्सको आईएल ७६ इलुसिन विमानमार्फत् ३० जनाको भारतीय सैनिक टोली लुम्बिनी आइपुगेको छ । मोदीसहित अतिविशिष्ट पाहुनाहरूले प्रयोग गर्ने सवारीसाधन र बन्दोबस्तीका सामग्री लिएर चार दिन पहिले नै सैनिक अधिकारीहरूको टोली लुम्बिनी आइपुगेको उनले जानकारी दिए । यो टोली अब जेठ २ गतेसम्म लुम्बिनीमै रहने छ ।

मोदीको स्वागतका लागि लुम्बिनीमा तयारी तीव्र पारिएको छ । गौतमबुद्ध विमानस्थल पनि त्यही दिन जेठ २ गते नै उद्घाटन हुँदैछ । उद्घाटन कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री पनि सहभागी हुने सम्भावना रहेकाले मोदीसँग उच्चस्तरीय भेटघाट लुम्बिनीमै हुन सक्छ । तर, अहिलेसम्म भ्रमणको कार्यतालिका सार्वजनिक गरिएको छैन ।

मोदी लुम्बिनी आएपछि भारतले निर्माण गर्ने विहारसम्म पुग्ने कार्यक्रम छ । त्यसका लागि बिहारसम्म पुग्ने बाटो निर्माणलाई विकास कोषले तीव्रता दिएको छ । भारत सरकारले अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फरेडेसन (आईबीसी)मार्फत जर्मन स्तूपा उत्तर विहार बनाउन लागेको हो । उक्त संस्था अहिले भारतीय संस्कृति तथा पर्यटन मन्त्रालय मातहत छ । उक्त विहार प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीले संयुक्त शिलान्यास गर्दैछन् ।

मोदी आउने जानकारीपछि स्वागतका लागि लुम्बिनी विकास कोषले आन्तरिक तयारी तीव्र पारेको छ । भ्रमणको तयारीका लागि लुम्बिनीमा आएका भारतका उच्च सुरक्षा अधिकारीहरुले विकास कोषसँग पटक–पटक छलफल गरिसकेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतले लुम्बिनी क्षेत्रको निगरानी बढाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी लुम्बिनी आउन लागेका हुन् । मोदी हेलिकोप्टरबाट लुम्बिनीमा आउने कार्यक्रम छ । मोदी र प्रधानमन्त्री देउवाबीच सोही दिन द्विपक्षीय औपचारिक वार्ता पनि हुनेछ । वार्ताका क्रममा केही सम्झौता हुनसक्ने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । विकास कोषका अनुसार मोदी सोही दिन भारत फर्कने कार्यक्रम छ ।

४ वटा हेलिप्याड तयार

भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि लुम्बिनीमा ४ वटा हेलिप्याड निर्माण भइरहेको छ । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र एवं सभाहल नजिकै हेलिप्याड निर्माण भइरहेको छ ।

हेलिप्याडसम्म आउजाउका लागि चार मिटर चौडा बाटोमा ढुंगा छपाइ भइरहेको छ । दुई नम्बर गेटको दक्षिणमा आरसीसी ढलान गरेर ३० मिटर गोलाइको ४ वटा हेलिप्याड निर्माण भइरहेकाे हो । हेलिप्याड पुग्ने ४ मिटर चौडा बाटो पनि बन्दैछ ।

दुई नेपाली हेलिकप्टरका लागि बिजुली बस चार्जिङ स्टेसनअघि अस्थायी र होक्के होटेलस्थित हेलिप्याड बनाउने बताइएको छ । जर्मन स्तूपाको उत्तर निर्माण हुने विहारसम्म पुग्ने बाटो पनि बनाइँदै छ । ९ नम्बर गेट हुँदै विहारसम्म जाने करिब ७ सय मिटर बाटो पनि पक्की बनाइएको छ । बैशाख मसान्तभित्र यी सबै काम सक्ने गरी काम भएको बुझिएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *