प्रदेश १- निर्वाचनकाे सम्पूर्ण तयारी पूरा – Nepal Press

प्रदेश १- निर्वाचनकाे सम्पूर्ण तयारी पूरा

विराटनगर । प्रदेश १ मा आसन्न स्थानीय तहको चुनावका लागि आवश्यक तयारी पूरा भएको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक ‘मतपत्र, स्वस्तिक छापलगायत सबै सामाग्री जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

कार्यालयका शाखा अधिकृत महेशकुमार ठाकुरका अनुसार हिमाली र पहाडी जिल्लामा हिजो र तराईका जिल्लामा आज गरी निर्वाचनका लागि आवश्यक ‘मतपत्र, स्वस्तिक छापलगायत सबै सामाग्री जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार कुल १३७ वटै पालिका रहेको प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८७७ मतदान स्थल रहेका छन् ।

प्रदेशमा वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि १९ हजार कर्मचारी मतदान स्थलमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश १ मा १ लाख १२ हजार नयाँ मतदाता थपिएर कुल ३३ लाख ४७ हजार ३८४ जना मतदाता रहेका छन् ।

एक महानगर २ उपमहानगर ४५ नगरपालिका र ८९ गाउँपालिका रहेको प्रदेश १ मा कुल १ हजार ५७ वडा रहेका छन् भने प्रदेशमा आसन्न स्थानीय तहको निर्वाचनको माध्यमबाट कुल ७ हजार ८५९ जना जनप्रतिनिधि निर्वाचित हुँदै छन् ।

सुरक्षाका लागि १० हजार बढी प्रहरी मैदानमा

प्रदेश १ मा निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, म्यादी प्रहरीलगायत परिचालन भएका छन् । आवश्यक सूचना सङ्कलनको लागि राष्ट्रिय अनुसन्धानको टोली पनि परिचालन भएको छ ।

निर्वाचनको पहिलो घेरामा रहने नेपाली प्रहरीको संख्या भने १० हजार ५ सय ५१ जना प्रहरी मैदानमा खटिएका छन् ।

नेपाल प्रहरी बाहेक निर्वाचनका लागि थप १७ हजार ३८२ म्यादी प्रहरी पनि परिचालन गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

नेपाल प्रहरी र म्यादी प्रहरीको टोली सबै मतदान केन्द्र र मतदान स्थलमा परिचालित भइरहेको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एव प्रहरी उपरीक्षक नविनराज राईले बताए ।

राईका अनुसार प्रदेश १ मा ३२१ मतदान स्थल ‘अति संवेदनशील’ रहेको सुरक्षा विश्लेषण गरिएको छ ।

जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदान स्थललाई ३ तहमा वर्गीकरण गरेको छ । सो वर्गीकरणको आधारमा अनुसार प्रदेश भरी रहेका कुल ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८७७ मतदान स्थल मध्ये ३२१ मतदान केन्द्र अति संवेदनशील वर्गीकरण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रहरी प्रवक्ता राईले जानकारी दिए ।

उनका अनुसार प्रदेशमा ८४९ वटा संवेदनशील र ७०७ वटा सामान्य रहेको बताए ।संवेदनशील रहेको मतदान स्थलमा सुरक्षाकर्मी बढी रहन्छ ।

स्थानीय तह निर्वाचनमा अति संवेदनशील मतदान स्थलमा ३ जना प्रहरी र ८ जना म्यादी प्रहरी परिचालन गरिने छ । ३ प्रहरी ८ म्यादी मतदान स्थल भित्र रहन्छ । बाहिर घेरामा ४५ जना सुरक्षा कर्मचारी परिचालन हुनेछन् ।

प्रहरीसँग बाहिरी घेरामा नेपाली सेना र सशस्त्र प्रहरी पनि रहनेछन्। हरेक मतदान स्थलमा १५ देखि २० मिनेटमा पुग्ने गरी सुरक्षाकर्मी पनि रहने प्रवक्ता राईले बताए ।

मतदान केन्द्र (मतपेटिका) थप भएमा प्रति मतदान केन्द्र थप १ प्रहरी र २ जना म्यादी परिचालन गर्ने निर्णय गरिएको प्रदेश प्रहरीका प्रवक्ता एसपी राईले जानकारी दिए ।

सामान्य मतदान स्थलमा ३ प्रहरी र ५ म्यादी परिचालन गर्ने निर्णय गरिएको छ । यसबाहेक मोबाइल, प्रोटेल, रिजव टिम, क्यूआरटी टिम पनि प्रहरीले परिचालन गर्नेछन् ।

निर्वाचनमा प्रहरीले ड्रोनको प्रयोग गरेर खबर सङ्कलन तथा निगरानी गर्नेछ । मतगणना स्थल सुरक्षा र इजाजत पत्र प्राप्त निजी हतियार निर्वाचन अवधिभर नजिकको प्रहरी कार्यालयमा सुरक्षित राख्ने जिम्मा प्रहरीलाई दिइएको छ । कतिपय अवस्थामा हेलिकप्टरबाट गस्ती गर्ने तयारी पनि नेपाली सेनाले गरेको छ ।

सीमा क्षेत्र सिल

प्रदेश १ का ४ वटा जिल्लाको सीमा नाका स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गएरातिदेखि बन्द गरिएको छ ।

इलामको पशुपति नगर, झापाको काकरभित्ता, भद्रपुर मोरङको जोगमनि, सुनसरीको भन्टावारि भारतसँग जोडिएका मुख्य नाका हुन् ।

यस्तै सङ्खुवासभाको किमाथाङ्का नाका पनि बन्द रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *