भक्तपुर अपडेटः नेमकिपा र कांग्रेसले ३–३ वडा जिते, एउटामा एमाले – Nepal Press

भक्तपुर अपडेटः नेमकिपा र कांग्रेसले ३–३ वडा जिते, एउटामा एमाले

भक्तपुर । भक्तपुरमा चार नगरपालिकामा मतगणना जारी रहँदा नेपाल मजदुर किसान पार्टी र नेपाली कांग्रेसले समान ३ वडामा अध्यक्ष जितेका छन् । नेकपा एमालले भने एउटा वडा जितेको छ ।

नेमकिपाले भक्तपुर नगरपालिकाको वडा नं १, २ र ३ मा अध्यक्षसहित क्लिन स्वीप गरेको हो । नेमकिपाबाट १ वडामा श्यामकृष्ण खत्री, २ वडामा हरिप्रसाद बासुकला र ३ वडामा राजकृष्ण गोरा नेतृत्वको प्यानलै विजयी भएको हो ।

यी तीनैजना वडा अध्यक्ष २०७४ सालको निर्वाचनबाट पनि वडा अध्यक्षमा जितेका थिए । भक्तपुर नपाको वडा नं. १ मा एमालेका रमेश न्याइच्याई दोस्रो स्थानमा रहँदा २ वडामा स्वतन्त्र उम्मेदवार सञ्चज्ञान याकामी उपविजेता रहे । ३ नम्बर वडामा नेपाली कांग्रेसका शिवप्रसाद अवाल दोस्रो स्थानमा रहेका छन् ।

यहाँको मेयर र उपमेयरका नेमकिपाकै सुनिल प्रजापति र रजनी जोशी प्रतिस्पर्धीहरुलाई धेरै पछाडि छोडेर अघि बढेका छन् । यहाँ मेयरमा कांग्रेसका रामप्रसाद कासुला दोस्रो र एमालेका रवीन्द्र लाछिमस्यु तेस्रो स्थानमा छन् । उपमयेरमा नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्य दोस्रो र एमालेकी रञ्जना चापागाईं खर्बुजा तेस्राे स्थानमा छिन् ।

नेपाली कांग्रेसले मध्यपुर थिमि नपा १ र २ वडा तथा चाँगुनारायण नपा १ वडामा अध्यक्ष जितेको छ । १ वडामा कांग्रेसका बाबुकाजी वडा अध्यक्ष निर्वाचित भएका थिए । यहाँ एमालेबाट एकजना वडा सदस्यबाहेक सबै कांग्रेसले जितेको हो । एमालेका श्यामकृष्ण प्रजापति वडा सदस्यमा विजयी भए ।

२ वडामा भने कांग्रेसले वडा अध्यक्ष र एक वडा सदस्यमात्रै जितेको हो । कांग्रेसका श्रीकृष्ण श्रेष्ठ वडा अध्यक्षमा विजयी भएका छन् । अघिल्लो निर्वाचनमा समेत कांग्रेसले जितेका यी वडामा एमाले निकटतम प्रतिद्वन्द्वी रहेको छ ।

यहाँ अहिले ३ नम्बर वडाको मत गणना भइरहेको छ । अहिलेसम्म कांग्रेसका सुरेन्द्र श्रेष्ठले आफ्नो अग्रता कायमै राखेका छन् । उनलाई एमालेका मदनसुन्दर श्रेष्ठले पछ्याइरहेका छन् । सुरेन्द्र र मदनसुन्दर जेठान–ज्वाइँ हुन् । उपमेयरमा एमालेकी उत्तरा नेपालले कांग्रेस र माओवादी गठबन्धनका विजय श्रेष्ठलाई उछिनेकी छिन् ।

त्यस्तै चाँगुनारायण नपा १ वडामा कांग्रेसका सिजन कार्की प्यानलै जितेको छ । अघिल्लो चुनावमा पनि कांग्रेसले वडामा पूरै सेट जितेको थियो । अहिले २ नम्बर वडाको मतगणना भइरहँदा चाँगुनारायण नपाको मेयरमा कांग्रेसका जीवन खत्रीले अग्रतालाई बचाइराखेका छन् । उनलाई एमालेकी वीणा बास्तोलाले पछ्यारहेकी छिन् । यहाँ पनि उपमेयरमा एमालेका रमेश बुढाथोकीले कांग्रेसकी शुभद्रा काफ्लेलाई पछाडि पारेका छन् ।

एमालेले सूर्यविनायक नपा १ मा वडा अध्यक्षसहित ३ वडा सदस्य जितेको हो । एमालेबाट सानुकाजी कायस्थ वडा अध्यक्षमा दोस्रोपटक निर्वाचित भएका हुन् । यहाँ कांग्रेसले एउटा वडा सदस्य जितेको छ ।

सूर्यविनायक नपाको मेयरमा भने कांग्रेसका निशान ढुंगेलले आफ्नो अग्रतालाई जोगाउँदै अघि बढेका छन् । उनलाई एमालेका वासुदेव थापाले पछ्याइरहेका छन् । उपमेयरमा भने एमालेकी सरिता भट्टराईले नेकपा एकीकृत समाजवादीका श्याम बस्नेतलाई पछि पारेकी छिन् । यहाँ कांग्रेस र नेकपा एसले चुनावी तालमेल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर