सप्तरीमा सिके राउतको पार्टीले जित्यो ४ वडाध्यक्ष, नगरपालिकाको मेयरमा अग्रता – Nepal Press

सप्तरीमा सिके राउतको पार्टीले जित्यो ४ वडाध्यक्ष, नगरपालिकाको मेयरमा अग्रता

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा हालसम्म मतगणना सम्पन्न भएका वडामध्ये चारवटामा वडाध्यक्ष जितेको छ।
महादेव गाउँपालिका-२ मा जनमतका जागेश्वरप्रसाद इसरले ९ सय ६६ मतसहित वडाध्यक्ष जितेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टीका अमरलाल मन्डलले ६ सय ९ मत प्राप्त गरे। वलान-विहुल गाउँपालिका-१ मा जनमतका रामकुमार यादब ३ सय ९५ मतसहित वडाध्यक्ष निर्वाचित भएका छन्।

उनको निकटतम प्रतिद्धन्द्धी रहेका स्वतन्त्र उम्मेदवार प्रमोदकुमार यादबले ३ सय २६ मत ल्याए। हनुमाननगर कङ्कालिनी नगरपालिका-१ र ४ नम्बर वडामा पनि जनमतले वडाध्यक्ष जितेको छ।

वडा-१ मा सुरेन्द्र मन्डल एक हजार ६ सय ७० मतसहित वडाध्यक्ष निर्वाचित भए। निकटतम प्रतिद्धन्द्धी जसपाका गजेन्द्रप्रसाद माझीले ४ सय ८४ मत मात्र ल्याए।

वडा नम्बर ४ मा जनमतका मौलिकुमार मन्डल ७ सय ५७ मतसहित अध्यक्ष निर्वाचित भए। जसपाका योगेन्द्रप्रसाद शाहले ६ सय ५० ल्याएका छन्। १४ वटा वडा रहेको उक्त नगरपालिकामा चार वटा वडाको मतगणना सम्पन्न हुन बाँकी छ।

उक्त नगरपालिकाको मेयरमा पनि जनमतकै विरेन्द्र माझी अगाडि छन्। उनले ५ हजार ५ सय ८२ मत ल्याएका छन्। जसपाका शैलेशकुमार शाहले ४ हजार ८ सय ८२ मत प्राप्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर