डोटीको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि कांग्रेस विजयी – Nepal Press

डोटीको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि कांग्रेस विजयी

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार भएका बाजीसिँह खड्का (विजय) र उपमेयरका उम्मेदवार रहेकी कलावती महर (साउँद) निर्वाचित भएका छन् ।

मेयरमा खड्का निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मणबहादुर मलासीलाई १ हजार ६२३ को मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । उनले कुल ५ हजार १३८ मत प्राप्त गर्दा एमालेका मलासीले ३ हजार ५१५ मत प्राप्त गरे ।

मेयरमै नेकपा एकीकृत समाजवादीसँगको गठबन्धनमा लडेका नेकपा माओवादी केन्द्रका खगेन्द्रबहादुर साउँद ९केबी०ले १ हजार ९८३ मत मात्रै प्राप्त गरे ।

मेयरकै उम्मेदवारहरू राप्रपाका रोशन भण्डारीले ५६, जसपाकी कलादेवी श्रेष्ठले १४, राष्ट्रिय जनमोर्चाका नरेश आलेले ५ र स्वतन्त्र उम्मेदवार अशोक विकले ४ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरका कांग्रेसकी महरले ४ हजार ७६८ मत प्राप्त गर्दै जित हात पारिन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी रूपा कठायतले ४ हजार १२९ मत प्राप्त गर्दा माओवादी केन्द्रसँगको गठबन्धनमा लडेकी नेकपा एसकी ऐश्वर्या भण्डारी (विष्ट)ले ५७८ मत मात्रै प्राप्त गरिन् ।
९ वटा वडा रहेको नगरपालिकाका वडाध्यक्षहरूमा ५ मा कांग्रेस, २ मा एमाले, एकमा माओवादी केन्द्र र एकमा स्वतन्त्र९कांग्रेसका बागी० उम्मेदवार जितेका छन् ।

कांग्रेसबाट वडा नम्बर १ मा कृष्णबहादुर साउँद, वडा नम्बर ३ मा नरायण साउँद, वडा नम्बर ५ मा गणेशबहादुर भण्डारी, वडा नम्बर ८ मा दशरथ बलायर र वडा नम्बर ९ मा हर्कबहादुर साउँद निर्वाचित भएका छन् ।

यस्तै एमालेबाट वडा नम्बर ६ मा नरेश मलासी र वडा नम्बर ७ मा कर्णबहादुर विष्ट निर्वाचित भएका छन् भने माओवादी केन्द्रबाट वडा नम्बर ४ मा अशोक कुमार सोप निर्वाचित भएका छन् ।

वडा नम्बर २ मा कांग्रेसका बागी उम्मेदवार राजेन्द्रबहादुर खड्का निर्वाचित भएका छन् । उनी अघिल्लो पटक पनि वडाध्यक्ष निर्वाचित भएका थिए । पार्टीले फेरी टिकट नदिएपछि उनी बागी उठेका थिए ।

दिपायल सिलगढी नगरपालिकामा २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा कांग्रेसका घनश्याम पाठक मेयरमा निर्वाचित भएका थिए । त्यसपछि २०५४ मा भएको निर्वाचनमा एमालेले कब्जा जमायो । जसमा एमालेका पूर्णराज जोशी जितेका थिए ।

२०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमालेकी उम्मेदवार मञ्जु मलासी विजयी भएकी थिइन् । जसमा कांग्रेसबाट अहिले निर्वाचित मेयर खड्का नै उनीसँग पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर