यो सरकार जति टिक्यो उति समयको बर्बादीमात्रै: भट्टराई – Nepal Press

यो सरकार जति टिक्यो उति समयको बर्बादीमात्रै: भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले वर्तमान सरकार जति समय रह्यो त्यति नै समयको बर्बादी हुने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा भाग लिँदै भट्टराईले सरकारसँग क्षमता र इच्छाशक्ति दुवै नभएको आरोप लगाए । ‘यो सरकारको क्षमता छैन, यो सरकारको इच्छाशक्ति छैन । यो सरकारलाई राज्य संयन्त्रले पत्याएको छैन । त्यसैले यो सरकार जति समय बस्छ, त्यति नै समयको बर्बादीबाहेक केही पनि हुनेछैन’, उनले भने ।

भट्टराईले संविधानले समाजवादउन्मुख अर्थतन्त्रको कुरा गरे पनि सरकारको प्राथमिकता समाजवाद केन्द्रित नदेखिएको बताए । अर्थमन्त्रीले सिद्धान्तहीन बजेटको तयारी गरेको भन्दै भट्टराईले सार्वजनिक शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन माग गरे । ‘अघिल्लो सरकारले ३९६ वटा आधारभूत अस्पताल निर्माणका लागि बजेट छुट्यायो तर हाम्रो अर्थमन्त्रीले त्यसबारे केही बोल्नुभएन । सार्वजनिक शिक्षा र स्वास्थ्यबारे अर्थमन्त्री केही पनि बोल्नुहुन्न । अनि समाजवादको गफ दिनुहुन्छ, यो एकातिर हेर्ने अर्कोतिर हिँड्नेजस्तो भयो’, भट्टराईले भने ।

अघिल्लो सरकारले ल्याएका राष्ट्रिय गौरवका आयोजना, ठूला पूर्वाधार निर्माण र रोजगारी सिर्जना गर्ने कार्यक्रमहरुलाई सरकारले नजरअन्दाज गरेको भट्टराईले आरोप लगाए । कोभिडका कारण धराशायी बनेको पर्यटन क्षेत्रलाई नयाँ शिराबाट सुधार गरेर विदेशी मुद्राको सञ्चिति बढाउन सकिने भट्टराईको भनाइ छ ।

गठबन्धन सरकारले एमसीसी र बीआरआई जस्ता परियोजनालाई गिजोल्ने काम गर्ने अन्तर्राष्ट्रिय विश्वास घटाएको भट्टराईको आरोप छ । युवालाई रोजगारीको अवसर दिनेभन्दा ‘मलेसिया पठाइदिने’ नीति सरकारले लिएको भन्दै उनले अर्थतन्त्र सुधार्न सरकारले कुनै उपाय दिन नसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर