जनकपुरधाममा स्वतन्त्र उम्मेदवार साह १४ सय मतले अगाडि, गठबन्धन पाँचौ स्थानमा – Nepal Press

जनकपुरधाममा स्वतन्त्र उम्मेदवार साह १४ सय मतले अगाडि, गठबन्धन पाँचौ स्थानमा

जनकपुरधाम । मधेस प्रदेशका राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र मेयर उम्मेदवार मनोज साह अग्रता बढाउदै गएका छन् ।

२५ वडा रहेको जनकपुरधाममा अहिलेसम्म १, २, ३, ४, ५, ६, २४ र २५ वडाको मतगणना सम्पन्न भइसकेको छ । प्राप्त परिणाम अनुसार स्वतन्त्र उम्मेदवार साह निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शिवशंकर साह ‘हिरा’ भन्दा १४ सय मतले अगाडि छन् ।

स्वतन्त्र साह ४ हजार ४६६ मत ल्याउँदा एमालेका हिरा ३०२३ मत पाएका छन् । नेपाली कांग्रेसले टिकट नदिएपछि साह पार्टीको नगर सभापतिबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका थिए ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जसपाबीच गठबन्धन छ । गठबन्धनबाट जसपाका लालकिशोर साह मेयरका उम्मेदवार छन् । निवर्तमान मेयर समेत रहेका साह मात्र १ हजार २११ मत पाएर पांचौ स्थानमा छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार मनोज चौधरी १ हजार २९९ मत ल्याएर तेस्रो र स्वतन्त्र उम्मेदवार बलराम महतो १ हजार २२४ मत ल्याएर चौथो स्थानमा छन् ।

यस्तै नेपाली कांग्रेसबाट गठबन्धनका उपमेयर उम्मेदवार बनेका किशोरी साह ४ हजार ५९३ मतका साथ अग्रस्थानमा छन् । उनलाई नेकपा एमालेकी रुना झा पछ्याइरहेकी छन् । उनी अहिलेसम्म ३ हजार २७० मत ल्याएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर