कैलालीमा गठबन्धन : कसलाई कति नाफा ? एक्लै भएपनि सबैलाई चुनौती दिँदै रेशम चौधरीको पार्टी – Nepal Press

कैलालीमा गठबन्धन : कसलाई कति नाफा ? एक्लै भएपनि सबैलाई चुनौती दिँदै रेशम चौधरीको पार्टी

कैलाली । स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । १३ स्थानीय तह रहेको कैलालीमा चुरे, मोहन्याल, गोदावरी, बर्दगोरीको अन्तिम मत परिणाम आइरहेको छ । चार पालिका मध्ये बर्दगोरीया र चुरेको प्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मोहन्यालको प्रमुखमा माओवादी र गोदावरीको प्रमुखमा नेपाली कांग्रेस विजयी भएका छन् ।

अहिले यी चार पालिका बाहेक ९ स्थानीय तहमा मतगणना जारी छ । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार अगाडि छन् । टीकापुर, जोशीपुर जानकी र भजनी नगरपालिकामा रेसम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले अग्रता कायम गरिरहेको छ ।

गौरीगङ्गामा माओवादी केन्द्रले अग्रता बनाइरहेको छ भने कैलारीमा कांग्रेसले अग्रता बनाइरहेको छ । घोडाघोडीमा एकीकृत समाजवादी र लम्की चुहामा नेकपा एमाले अगाडी छ ।

तालमेल कसलाई फाप्यो ?

कैलालीका १३ पालिकामध्ये अघिल्लो स्थानीय तहको निर्वाचनमा कैलालीका ७ पालिका प्रमुखमा एमाले विजयी भएको थियो । ४ पालिका प्रमुखमा नेपाली कांग्रेस विजयी हुँदा माओवादीले दुई पालिका जितेको थियो ।

अहिले कैलालीमा पालिका प्रमुखमा तीन दलीय गठबन्धन भए पनि यहाँका अधिकांश वडाहरूमा मित्रवत् प्रतिस्पर्धा भइरहेको छ । अहिले गठबन्धनको मार सबै भन्दा धेरै मारमा एमाले परेको छ ।

एमाले विरुद्धको गठबन्धनका कारण एमाले सात पालिका प्रमुखबाट अहिले सम्म दुई पालिका प्रमुखमा झरेको छ । अन्यमा नतिजा आउन वाकी छ ।

गठबन्धन गर्दा उत्साहित देखिएको कांग्रेस अहिले सम्म वडामा सबै भन्दा धेरै उम्मेदवारलाई जिताउन सफल भए पनि पालिकामा उत्साहजनक नतिजा ल्याउन सकेको छैन ।

तीन दलीय गठबन्धन गरे पनि यस अघि प्रमुख उपप्रमुख दुवै जितेको सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिकामा अझै कांग्रेस पछाडि छ । यहाँ स्वतन्त्र उम्मेदवार गोपाल हमालले अझै सम्म अग्रता बनाइरहेका छन् ।

यसअघि कांग्रेसले जितेको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा पनि अहिले एमाले उम्मेदवार विजयी भइसकेका छन् ।

अघिल्लो पटक कांग्रेसले जितेको जानकी र जोशीपुरमा अहिले सम्म रेसम चौधरीको पार्टी अगाडी छ ।

अघिल्लो पटक एमालेले जितेको गोदावरीमा यस पटक कांग्रेसले जितेको छ भने अघिल्लो पटक माओवादीले जितेको कैलारी गाउँपालिका अहिले कांग्रेस अगाडि छ ।

अघिल्लो स्थानीय तहमा कैलारी गाउँपालिका र भजनी नगरपालिका जितेको माओवादी अहिले दुवै पालिकामा पछाडि छ । तर, माओवादी अघिल्लो पटक एमालेले जितेको मोहन्यालमा विजयी भइसकेको छ भने एमालेले नै जितेको गौरिगंगा नगरपालिकामा अग्रता बनाएको छ ।

तीन दलीय गठबन्धन हुँदा पनि कैलालीमा तीन दल मध्ये कुनै पनि दलले एकल रूपमा जिल्ला समन्वय समिति हाँक्ने गरी नतिजा ल्याउन भने सकस हुने देखिएको छ ।

गठबन्धनमा नरहेर पनि पुराना पार्टीलाई अहिले कैलालीमा रेशम चौधरीको पार्टीले चुनौती दिइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर