कावासोती नगरपालिकामा गठबन्धन हराउँदै एमाले विजयी, ‘पानी बा’ बने नगर पिता – Nepal Press

कावासोती नगरपालिकामा गठबन्धन हराउँदै एमाले विजयी, ‘पानी बा’ बने नगर पिता

खानेपानीको अध्यक्षमा जोसँग हारे मेयरमा पनि उसैसँग पराजित भए कांग्रेसका पोखरेल

नवलपुर । कावासोती नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका विष्णु भुसाल नगर प्रमुखमा विजयी भएका छन् । नेपाली कांगेसका महेन्द्र पोखरेललाई ३०४ मतान्तरले हराउँदै भुसाल विजयी भएका हुन् । भुसालले १८ हजार ६०८ मत र पोखरेलले १८ हजार ३०४ मत पाएका छन् ।

२०७४ सालमा पनि एमालेबाट चन्द्रकुमारी पुनसँग पोखरेल पराजित भएका थिए । १७ वडा रहेको कावासोतीमा ८ वटा वडा जितेको थियो । यस पटक एमालेले १२ वटा वडासहित मेयर र उपमेयर जितेको छ । चन्द्रकुमारी पुनले थालेको विकास अभियानले एमालेलाई अहिले जित निकाल्न सहज भएको हो ।

उपमेयरमा एमालेकै फूलकुमारी थनेतले माओवादीका पतिराम थारुलाई ५ हजार ४६३ मतान्तरले पराजित गरेकी छन् । थनेतले १९ हजार २४ मत ल्याएका छन् ।

नगर चक्रपथ, फोहरमैलाको व्यवस्थापन, प्रशासनिक भवन निर्माण, वडा कार्यालयहरुको निर्माण, आमा स्वास्थ्य कार्यक्रम, विपन्न आवास कार्यक्रम, बोटे, माझी, मुसहरको घर निर्माण, सामुदायिक विद्यालयको शिक्षामा उल्लेखनीय सुधार, मानव र वन्यजन्तुको द्वन्द्व व्यवस्थापन, खानेपानी, केरुङ्गेखोला व्यवस्थापनको योजना निर्माण जस्ता कामले मतदाताले एमाले राजेको विश्लेषण भइरहेको छ ।

२०५७ सालअघि काकाकुल रहेको कावासोतीमा खानेपानीको व्यवस्थापन गरेका भुसाल दुई वर्ष अगाडिसम्म कावासोतीको खानेपानीको नेतृत्व गरिरहेका थिए । कावासोतीमा पानी खुवाएकाले सबैले उनलाई ‘पानी बा’ भनेर सम्बोधन गर्ने गरेका छन् । खानेपानी अध्यक्षमा पनि भुसाल र पोखरेलको प्रतिस्पर्धा  हुँदा भुसाल नै विजयी भएका थिए ।

अहिले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको गठबन्धनलाई हराउँदै एमालेले मेयर, उपमेयरसहित वडा नं १, ३, ४, ५, ६, ७, ८, १०, १२, १३, १४ र १७ जितेको छ । कांग्रेसले गत निर्वाचनमा ८ वटा वडा जितेकोमा यसपटक आधा घटेको छ । जसमा २, ९, ११ र १५ मा जितेको छ भने १६ मा माओवादीले जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर